Logo

” नेपाली लोकगीत क्षेत्रकी एक उज्ज्वल नक्षत्र शान्तिश्री परियार”

  “हुने बिरुवाको चिल्लो पात भने झैं सानैदेखि लोकगीत गाउने शान्तिश्री, अलि ठूलो भएपछि  “राप्ती साँस्कृतिक समाजको सदस्यता लिईन् । र राप्ती अञ्चलभरिका दोहोरी प्रतियोगिताहरुमा गाउन जान्थिन् । भाग लिएका प्रतियोगितामा सायदै होला नजितेका पलहरु । कोकिलकण्ठी धनी शान्तीश्रीले बिभिन्न सडक नाटकहरुमा मुख्य स्वर दिएको बताउँछिन् । एकपटक सुलीचौरको सडक नाटकमा भाग लिन जाँदा, उनको कोमल र मधुर स्वर सुनेर प्रकाश जि.सी. ले ” काठमाडौं जाने भए, दोहोरी साँझमा काम लगाईदिन्छु” भनेपछि शान्तीको मनमा काठमाडौं जाने र दोहरी साँझमा गीत गाउने कुराले मनमा बेसरी डेरा जमाईदियो ।शुरुमा त घरबाट अनुमती नपाए पनि उनको जिद्दीपनको अगाडि घरपरिवारको केहि लागेन र अन्तत: काठमाडौं जाने पातलो अनुमति पाईन् । बि. सं २०६४ सालमा रोल्पाको शुलीचौरदेखि काठमाडौंको लागि पहिलो पाईला उचालिन् र अर्को दिन बिहान सात बजे पहिलोपटक काठमाडौं टेकिन् । प्रकाश जिसीलाई अर्को जुनीमा मिल्यो भने आफ्नै दाजुको रुपमा पाउँ भन्ने चाहेकी शान्तीले  प्रकाश जि सीलाई  भेट्नु नै उनको लोकदोहोरी जीवनको टर्निङ्ग पोईन्ट हो भन्छिन् । “
                                                                 -नवराज क्षितिज
नेपाली लोकगीत क्षेत्रमा सुनौलो अक्षरले लेखिने नाम हो शान्तिश्री परियार । रोल्पाको हावामा मा जन्मिएकी शान्तीश्री, सात बर्षको उमेरमा लिवाङ्ग आएर स्कुले जीवन प्रारम्भ गरेकी थिईन् । कक्षा दुईमा पढ्दा बालदिवसको दिनमा आफैले गीत बनाएर पहिको पटक गाएकी शान्तीले , पहिलोपटक नै प्रथम स्थान हासिल गरेकी थिईन् । सानै उमेरमा प्रथम हुँदा पुरस्कारमा कापी/ कलमहरु , सेतो जुत्ता , निको मोजा र साथमा २९८ रुपैयाँ थियो भनिरहंदा आफुलाई गर्वको महसुस हुने र हर्षले गह भरिने गरेको बताएकी थिईन् ।
                   हुने बिरुवाको चिल्लो पात भने झैं सानैदेखि लोकगीत गाउने शान्तिश्री, अलि ठूलो भएपछि  “राप्ती साँस्कृतिक समाजको सदस्यता लिईन् । र राप्ती अञ्चलभरिका दोहोरी प्रतियोगिताहरुमा गाउन जान्थिन् । भाग लिएका प्रतियोगितामा सायदै होला नजितेका पलहरु । कोकिलकण्ठी धनी शान्तीश्रीले बिभिन्न सडक नाटकहरुमा मुख्य स्वर दिएको बताउँछिन् । एकपटक सुलीचौरको सडक नाटकमा भाग लिन जाँदा, उनको कोमल र मधुर स्वर सुनेर प्रकाश जि.सी. ले ” काठमाडौं जाने भए, दोहोरी साँझमा काम लगाईदिन्छु” भनेपछि शान्तीको मनमा काठमाडौं जाने र दोहरी साँझमा गीत गाउने कुराले मनमा बेसरी डेरा जमाईदियो ।शुरुमा त घरबाट अनुमती नपाए पनि उनको जिद्दीपनको अगाडि घरपरिवारको केहि लागेन र अन्तत: काठमाडौं जाने पातलो अनुमति पाईन् । बि. सं २०६४ सालमा रोल्पाको शुलीचौरदेखि काठमाडौंको लागि पहिलो पाईला उचालिन् र अर्को दिन बिहान सात बजे पहिलोपटक काठमाडौं टेकिन् । प्रकाश जिसीलाई अर्को जुनीमा मिल्यो भने आफ्नै दाजुको रुपमा पाउँ भन्ने चाहेकी शान्तीले  प्रकाश जि सीलाई  भेट्नु नै उनको लोकदोहोरी जीवनको टर्निङ्ग पोईन्ट हो भन्छिन् । 
                 
काठमाडौं स्वार्थी छ, टाढा-टाढाबाट संघर्ष गर्न आएकाहरुलाई काठमाडौंले सहजै सफलता दिदैन । त्यही नियम काठमाडौंले शान्तिको जीवनमा पनि लागू गरिछाड्यो र उनको दिनहरूलाई संघर्षको स्कुलमा भर्ना गरिदियो । प्रकाश जि .सी.ले केही कलाकारहरुलाई चिनाईदिएर एउटा दोहोरी साँझमा काम लगाएर ठूलो गुन लगाए तर संघर्ष त्यतिमै सकिनेवाला थिएन । लोकगीत गाउनकै लागि काठमाडौं हान्निएकी शान्तिको संघर्षका स्कुल झन् लम्बियो । डेरामा जाने बाटो नचिनेर कहिले स्टुडियोमै सुत्ने र कहिलेकाही साथीहरूको कोठा बाहिरै बस्दा लाम्खुट्टेले पूरै जिउभरी टोकेको तीतो अनुभव उनको स्मृतिबाट पर गएकै छैन । 
            कहिले कोठा नपाउने त कहिले बल्ल बल्ल पाएको कोठामा पनि जाने बाटो नचिन्दा ट्याक्सी ड्राइभरले धेरैपटक काठमाडौं फनफनी घुमाएका पिडा मुटुभित्र खोपिएर रहिरहेको कुरा सुनाउछिन् उनी । उनले पाएको पीडा र उनले गरेका संघर्षहरु सुन्दा लाग्छ, मान्छे बिना संघर्ष लक्ष्यप्राप्त गर्नै सक्दैन । हुन पनि हो ।उनको संघर्षले अहिले उनलाई सफलताको सगरमाथामा टिकाइरहेको छ । झन्डै नौ बर्ष दोहोरी साँझमा गीत गाएकी शान्तीश्री, आफ्नो दुख कम गर्न आफू भन्दा दुखी मान्छेहरुको पीडा सुन्नुपर्छ भन्ने मान्यता राख्छिन् । उनले उनको संघर्षका दिनहरु पनि आफू भन्दा बेसरी संघर्ष गरिरहेकाहरुलाई हेरेर आफुलाई सहज बनाउने प्रयास गरिन् । दोहोरी साँझमा संघर्ष गर्दै गर्दा साथीहरुले छिट्टै पैसा कमाउने सजिलो माध्यम नसिकाएका होइनन् तर क्षणिक फाइदा हेरेर उनले आफ्नो बिबेकलाई कहिल्यै बन्धकमा राखिनन् । बरु संघर्ष नै गर्छु तर गलत काम गर्दिन भन्ने कुरामा ढृढ संकल्प गरिन् । अरुले मीठो खाएको र राम्रो लाएको देखे पनि , आफुले सकेजती मात्र खाईन र सकेजती मात्र लाईन् । अरु घोडा चड्यो भन्दैमा उनी कहिल्यै धुरी चढिनन् ।
            “उपहार तिमिलाई म तरवार दिन्छु सक्छौ भने काट,मर्न चहान्छु म तिम्रै हातबाट” बोलको गीतबाट पहिलोपटक पारिश्रमिक लिन शुरु गरेकी शान्तीश्रीलाई “एकतर्फी मायामा कति पीडा हुन्छ ” बोलको गीत दर्शक श्रोताहरुले अत्यन्तै रुचाएपछि शान्तीश्रीले गायिकाको सर्टिफिकेट पाएकी हुन् र बनिन् लोकगायिका शान्तीश्री परियार ।आफ्नै खर्चमा दिवान किनारको शब्द संगीत रहेको ” घर छ तीन तले , न निन्द्रा न भोक छ निरमाया तिम्रै चिन्ताले” बोलको लोकगीत उनको पहिलो सोलो एल्बम हो । आफ्नै ६ वटा सांगीतिक एल्बम बजारमा ल्याइसकेकी शान्तीले २०० भन्दा धेरै गीतहरुमा सुमधुर स्वार भरिसकेकी छिन् । 
               मिठो स्वरकी धनी शान्तीले पृथ्वी थकालीलाई कलियुगको भगवान सम्झिन्छिन र पृथ्वी थकालीको गुन सँधैं पोल्टामा बोकेकी हुन्छिन् । उनलाई दिवान किनार , शिव हमाल, कुलेन्द्र बिक , रमेशराज भट्टराई ,किरण बाबू पुन  पशुपति शर्मा, मिलन लामा लगायत धेरै लोकगीतलाई कर्मथलो बनाएका अग्रजहरुले यहासम्म आउन सहयोग गरेको बताउछिन् ।उनिहरुको गुन तिर्न नसकुँलाकी भन्ने पिरले उनलाई चिमोटिरहन्छ । गायक तथा शब्द संकलक मिलन लामासँगको सहकार्यमा बजारमा निकै मन पराइएको ” गाइलाई दाम्लो,  माछीलाई फुर्लुङ् माया जालमा परेंमा चुर्लुम्म ” बोलको गीतले सबभन्दा धेरै उचाई लिएपछि यहि गीतले सबै भन्दा पहिला बिदेशी भुमिमा गीत गाउन प्लेट्फर्म तयार गरिदियो र पहिलोपटक लोकगीत गाउनकै लागि शान्तीले ओमनको लागि उडान भरिन् ।
नेपाली लोकगायिकाहरु मध्ये सबै भन्दा ब्यस्त गायिका शान्तिश्री नै हुन् । विभिन्न स्टेज कार्यक्रमहरु र मेला महोत्सवहरुमा उनको नाम अग्रपंक्तिमा आउने गर्दछ ।
                   कयौं लोकगायक गायिकाहरु टेक अप नगर्दै क्र्यास भैरहेका उदाहरणहरु थुप्रै छन् तर उनको लोकसंगीतको उडान सकुशल उडिरहेको छ । जापान, कोरिया, अष्ट्रेलिया , मलेसिया , यु ए ई, ओमन लगायत धेरै देशहरुमा गैसकेकी छिन् । देश भित्रै होस् अथवा देश बाहिर जहाँ जाँदा पनि जाँदा जुन ईज्जतमा गैइन्छ, फर्कदा अझ धेरै इज्जतका साथ फर्कन चहाने उनी अनुशासनलाई निकै महत्व दिन्छिन् । पछिल्लो समयमा निकै चर्चित लोकगीतहरु गायकी शान्तीश्रीको सातो फुक झाँक्री बा, बुहारी सुत्केरी छे, मायामा राजनीति भो लगायत थुप्रै लोकगीतहरु चर्चाको शिखरमा रहिरहन सफल भए । जीवन रहेसम्म नेपाली लोकगीत संगीतमा लागिरहने ढृढ संकल्प गरेकी शान्तिश्रीको सुन्दर गला त छदै छ, उद्घोषण र अभिनय कलामा पनि पोख्त छिन् ।
                लेख/बेसी, भञ्ज्याङ चौतारी, बनपाखाहरुमा गाइने सभ्य गीतलाइ लोकगीत मान्ने उनी, लोक संस्कृति नेपालको पहिचान हो भन्न छुटाउदिनन् । नेपाली लोकगीतमा केहि हदसम्म बिकृती आएको र यस्लाई सुधार्न निश्चित मापदण्डको आवश्यक रहेको ठान्ने शान्तीश्री, आफ्नो छवि धमिलो नहोस् भनी निकै सजक छिन् । जिन्दगी चलाउन सैद्दान्तिक ज्ञानरुपी सर्टिफिकेटको जरुरत नचाहिने ज्वलन्त उदाहरण हुन् उनी । जिन्दगीका बाटाहरु हिड्दा हिड्दै धेरै ज्ञानका सर्टिफिकेटहरु जम्मा गरिसकेकी छिन् उनिले , जुन सैद्धान्तिक ज्ञानरुपि सर्टिफिकेट भन्दा कम छैनन् ।
              ” नुर गंगा लोक गायन राष्ट्रिय नव प्रतिभा पुरस्कार” लगायत थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेकी शान्तीश्री आफ्नो सफलतामा अलिकति पनि घमण्ड गर्दिनन् । जबसम्म मानिसमा अहंकार रहिरहन्छ, तबसम्म उनले पाएको सफलता टिकाउ हुदैन भन्ने कुराको राम्रो ज्ञान छ उनीसँग । धेरैले जिन्दगीको बाटो पत्ता लगाउन नसकेर हराईरहेका हुन्छन् , तर उनले बाटो पत्ता लगाएरै रोल्पा देखि काठमाडौंसम्मको गोरेटो पछ्याइन र अहिले जिन्दगीको फराकिलो राजमार्गमा आफ्नै खुसीले हिडिरहेकी छिन् । शुरुका दिनहरुमा उन्को जीवन संघर्षमै बित्यो । त्यसवेला उनको जिन्दगीमा उदाउने घामलाई बादलले छेकिरह्यो तर अहिले उन्को जिन्दगी झलमल्ल छ , उज्यालो छ । उनको हाँसोमा लालिगुराँस फुलिरहन्छ । शालिनता , कोमलता र मृदुभाषी उनको पहिचान हो भन्दा पंतिकार झुट बोलेको ठहरिने छैन । भविष्यमा ठूलो चाहना र योजना नभएको तर यहि गीत संगीत क्षेत्रमा रहिरहन पाउँ भन्ने शान्तीश्रीको सांगीतिक यात्रा अझ सहज र सफल रहोस् , यो पंक्तिकार शुभकामना ब्यक्त गर्दछ । 
प्रतिक्रिया दिनुहोस्