Logo

ट्रक त्रिशूलीमा खस्यो, दुईको उद्धार

वैशाख २७, २०७४, काठमाडौ‌बाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक बुधबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । उद्धार गरिएकामा हेटौंडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज मगर र सोही स्थान बस्ने अन्दाजी २१ वर्षीय सोनाम लामा रहेको थापाले बताए । 

ट्रक खसेपछि एकजना भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै थापाले ती व्यक्ति चालक भएको आशंका गरिएको बता । ट्रकको माथिल्लो भाग मात्र देखिएकाले नम्बर खुल्न सकेको छैन । ट्रकमा अन्य पनि हुनसक्ने भन्दै नेपाल प्रहरी र विपत् व्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

           रासस 

प्रतिक्रिया दिनुहोस्