Logo

सरकारबाट निःशुल्क मिर्गौला प्रत्यारोपण : ३१ वर्षीया दिदीले दिइन् २७ वर्षीया बहिनीलाई मिर्गौला

     मिर्गौला प्रत्यारोपण गरिएकी रश्मिला श्रेष्ठ 

दस्तावेज संवाददाता,बैसाख २७,काठमाण्डौँ, सरकारको पूर्वघोषित निर्णय अनुसार वीर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। अस्पतालमा मंगलबार २७ वर्षीया युवतीको निःशुल्क प्रत्यारोपण गरिएको हो। निःशुल्क प्रत्यारोपण कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठलाई प्रत्यारोपण गरिएको  थियो । दुवै मिर्गौला फेल भएकी श्रेष्ठलाई उनकी ३१ वर्षीया दिदी लक्ष्मी श्रेष्ठले मिर्गौला दिएकी हुन् ।

अस्पतालका चिकित्सकहरु डा. अनिल श्रेष्ठ, डा. पारसमणि श्रेष्ठ, डा. शान्ता सापकोटा, डा. रविराम श्रेष्ठ, डा. विन्दु शाह लगायतको टोलीले प्रत्यारोपण गरेको हो। शल्यक्रियामा नर्सहरुको तर्फबाट नर्सिङ इन्चार्ज अञ्जना ज्ञवाली, मुना श्रेष्ठ र निभा देवकोटा पनि सहभागी थिए। ओखलढुंगा घर भएका रश्मिलाका श्रीमान् टोकबहादुर पौडेलले  श्रीमतीको उपचारकै क्रममा १४ लाखभन्दा बढी खर्च गरिसकेको बताए।सरकारबाट हालसालै उपलब्ध गराईएको सुविधा अनुसार  आफ्नो श्रीमतिलाई  निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन ।अस्पतालमा प्रत्यारोपण गर्दा चार लाखसम्म र औषधिका लागि डेढ लाख गरी साढे पाँच लाखसम्मको सहयोग सरकारले दिएको छ जसबाट उनिहरुलाई ठूलो राहत पुगेको छ।

अस्पतालले ‘मिर्गौला प्रत्यारोपण सम्बन्धी निर्देशिका, २०७४’ अनुसार नै निःशुल्क कार्यक्रम सुरु गरिसकेको छ । निर्देशिका अनुसार एउटा बिरामीको मिर्गौला प्रत्यारोपण गर्दा स्वास्थ्य मन्त्रालयले अस्पताललाई चार लाख रुपैयाँ र बिरामीलाई डेढ लाख रुपैयाँ दिनेछ। अस्पतालले पाउने चार लाख रुपैयाँमा ल्याब परीक्षण, शल्यक्रिया शुल्क, सर्जिकल उपकरण, उक्त समयमा प्रयोग हुने औषधि र प्रत्यारोपणपछि आइसियूमा राख्दा हुने खर्च समेटिएको छ। यसैगरी, शल्यक्रियाअघिको म्याचिङ शुल्क बापत बढीमा ५० हजार रुपैयाँ र प्रत्यारोपणपछिको एक वर्षसम्मको औषधिका लागि एक लाख रुपैयाँ रकम भने बिरामीले पाउनेछन्।

वीर अस्पतालमा  डा. बस्नेतको अध्यक्षतामा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा सञ्चाल र व्यवस्थापन समिति वैशाख २४ गते निःशुल्क प्रत्यारोपणका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा डा. राजेन्द्रकुमार अग्रवाल र टिका पनेरु सदस्य रहेका छन्। समितिकाका अनुसार अस्पतालमा हरेक मंगलबार मिर्गौला प्रत्यारोपण हुनेगर्छ। अर्को हप्ता निःशुल्क कार्यक्रम अन्तर्गत काभ्रेका बज्रध्वज लामाको मिर्गौला प्रत्यारोपण हुनेछ। त्यसपछि निःशुल्क कार्यक्रम अन्तर्गत झापाका कमल भारतीको प्रत्यारोपण गर्ने तयारी रहेको छ ।

वीर अस्पतालमा निःशुल्क प्रत्यारोपण सेवा सुरु हुनुअघि एक सय २० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको थियो। मानव अंग प्रत्यारोपण केन्द्रबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि केही समय वीर अस्पतालको प्रत्यारोपण सेवा रोकिएको थियो। तर, अहिले अस्पतालमा नियमित प्रत्यारोपण हुँदै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्