Logo

सशस्त्र प्रहरीहरुबाट भारतीय पदयात्रीको उद्धार

वैशाख २६, २०७४,अन्नपुर्ण पदमार्गमा दुर्घटनामा परेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले सोमबार उद्धार गरी जोमसोम ल्याएको छ । मनाङदेखि थोरांलापास हुँदै दामोदरकुण्ड जान लागेका कलकत्ता निवासी देवनारायण चक्रवर्ती ठाकुर भीरबाट चिप्लिएर लडेका थिए । उद्धारपछि उनलाई जोमसोम अस्पताल भर्ना गरिएको सशस्त्र प्रहरीका डिएसपी देवराज जोशीले जानकारी दिए । ६५ वर्षीय चक्रवर्तीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको ८ वटा दाँत भाँचिएको, नाक, कान र कन्चटमा चोट लागेको अस्पतालले जनाएको छ । उद्धारका लागि सशस्त्रका सइ विश्वराज कुँवर क्षत्रीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्रको १४ जनाको टोली थोरांलापास क्षेत्रमा आइतबार खटिएको थियो ।

               सशस्त्र प्रहरी जोमसोमका अनुसार, चक्रवर्तीको स्वास्थ्य गम्भीर भएकोले भारतीय राजदूतावासमा खबर गरेर हेलिकप्टर मगाइएको थियो । तर, खराब मौसमका कारण सोमबार साँझसम्म हेलिकप्टर आउन नसकेको डिएसपी जोशीले जानकारी दिए । मौसम अनुकूल हुने बित्तिकै दूतावासले मंगलबारसम्म हेलिकप्टर पठाउने जानकारी दिएको छ, उनले भने । सशस्त्र प्रहरीको टोलीले थोरांलापासको लेकबाट मुक्तिनाथ मन्दिर हुँदै पाँच घण्टा पैदलमार्गबाट चक्रवर्तीलाई जोमसोम ल्याएको थियो । उनी केही दिनअघि अन्नपुर्ण पदमार्ग घुम्न लमजुङ, मनाङदेखि मुस्ताङको भ्रमणमा निस्किएका थिए । उनीसँग पाँच जनाको टोली थियो । उनी लडेर घाइते भएपछि सबै साथीहरुले उनलाई छोडेर हिंडेका थिए ।

प्रतिक्रिया दिनुहोस्