Logo

चुरोट तथा सुर्तीजन्य पदार्थका प्याकेटको सबै भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने

काठमाडौं,सरकारले नेपाली बजारमा बिक्री–वितरण हुने चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा र्‍यापर्सको शतप्रतिशत भागमा चेतावनीमूलक चित्र र सन्देश अनिवार्य छाप्नुपर्ने ‘प्लेन प्याकेजिङ’ नियम ल्याउने भएको छ।

  राजधानीमा सोमबारदेखिसुरु भएको सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि दक्षिण एसियाली नेतृत्व तालिम कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले उक्त व्यवस्था गर्न लागिएको जानकारी दिए।

मन्त्री थापाका अनुसार सन् २०१८ भित्रमा नेपालले उक्त नियम कार्यान्वयनमा ल्याइसक्नेछ। ‘धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम भनेको चित्रात्मक सन्देश नै हो,’ मन्त्री थापाले भने, ‘अब चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टाहरुको सबै भागमा डरलाग्दा चित्र र सन्देश छापिनुपर्छ।’

                     उनले चेतानवनी मूलक सन्देश छाप्ने नियममा नेपालले विश्वमा अग्रणी भूमिका खेलेको जानकारी दिए। ‘हामी अहिले ९० प्रतिशत चित्रात्मक सन्देश छाप्नुपर्ने नियममा छौं,’ उनले भने, ‘अब यसलाई बढाएर शतप्रशितमा पुर्‍याउने बेला आइसकेको छ।’ मन्त्री थापाले नसर्ने रोगको प्रमुख कारक धूमपान तथा सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि आफू सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे।

  नियम अनुसार हाल नेपाली बजारमा बिक्री–वितरण हुने चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा र्‍यापर्समा ९० प्रतिशत भागमा चित्रात्मक सन्देश छाप्नुपर्ने हुन्छ। उक्त नियम अनुसार विदेशी तथा केही स्वदेशी कम्पनीहरुले चित्रात्मक सन्देश छाप्न सुरु गरिसकेका छन्। तर, अझै पनि केही स्वदेशी उत्पादकले नियम उल्लंघन गर्दै ७५ प्रतिशत भागमा मात्र चित्रात्मक सन्देश छाप्दै आइरहेका छन्।

              स्वास्थ्य मन्त्री थापाले हालको नियम अनुसार ९० प्रतिशत भागमा नै चित्रात्मक सन्देश छाप्ने व्यवस्था कार्यान्वयनका लागि राजस्व कार्यालयमा पत्र पठाइसकेको जानकारी दिए। राजश्व कार्यालयले ९० प्रतिशत भागमा चित्रात्मक सन्देश नछापिएका उत्पादनमा समेत राजस्वको स्टिकर टाँस्दै आएको छ। मन्त्रालयले राजस्वलाई पठाएको पत्रमा ९० प्रतिशत भागमा चित्रात्मक सन्देश नछापेका उत्पादनमा रोक लगाउन भनिएको छ।

             सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन ऐन, २०६८ अनुसार नै प्याकेटमा चित्रअंकित स्वास्थ्य सन्देश आउनुपर्ने नियम बनाइएको थियो। ऐनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयनमा गराउन सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१’ ल्याएको छ। निर्देशिकामा सुरुमा ७५ प्रतिशत भागमा मात्र चित्रात्मक सन्देश छाप्नुपर्ने व्यवस्था थियो। तर, मन्त्रालयले निर्देशिकालाई संशोधन गर्दै ७५ प्रतिशतलाई बढाएर ९० प्रतिशतमा पुर्याएको हो। उक्त नियम ल्याएलगत्तै नेपालले दुई वर्षअघि एक करोड रुपैयाँ बराबरको ‘व्लुम्बर्ग ग्लोवल टोवाको कन्ट्रोल अवार्ड’ पाएको थियो।

                सुर्तीजन्य पदार्थको नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था द युनियनको एसिया प्यासिफिकका डेपुटी डाइरेक्टर तारासिंह बमले सुर्तीजन्य पदार्थको सेवन दरमा कमी ल्याउन र नयाँ पुस्तालाई कुलतबाट जोगाउन सुर्ती नियन्त्रण कानुनलाई शत प्रतिशत कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

           ‘एक वर्षभित्रमा सुर्तीजन्य पदार्थको बट्टालाई प्लेन प्याकेजिङमा लैजाने सरकारको निर्णय निकै स्वागतयोग्य छ,’ उनले भने, ‘सरकारले उक्त निर्णय कार्यान्वयनमा आउने समयसम्म हाल भएको ९० प्रतिशतको नियमलाई पनि पूर्ण रुपमा कार्यन्वयनमा ल्याउन आवश्यक छ।’

               एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले नेपालले सुर्तीजन्य पदार्थको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेकाले दक्षिण एसियाली राष्ट्रलाई लक्षित तालिम नेपालमा आयोजना गरिएको जानकारी दिए। उनका अनुसार यो तालिमले सहभागीलाई सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आवाज उठाउन सक्ने र आवश्यक कार्यहरु अगाडि बढाउनलाई मार्गनिर्देश गर्न सघाउनेछ।

             स्वास्थ्य मन्त्रालय, जोन्स हप्किन्स ब्लुम्वर्ग स्कुल अफ पब्लिक हेल्थ, द युनियन र एक्सन नेपालको आयोजनामा काठमाडौँमा सात दिने तालिम सुरु भएको हो। तालिममा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्सका सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार, सुूर्तीजन्य पदार्थ नियन्त्रणका क्षेत्रमा कार्यरत सरोकारवाला गरी ७२ जनाको सहभागिता रहेको आयोजक संस्था एक्सन नेपालले जनाएको छ।

          प्रवीण ढकाल,स्वास्थ्य खवर

प्रतिक्रिया दिनुहोस्