Logo

चितवन मेडिकल कलेजमा ६ रोगको उपचारमा एक लाखसम्मको छुट

रत्ननगर (चितवन), २४ वैशाख । चितवन मेडिकल कलेजले कडा खालको रोगमा विपन्न नागरिकका लागि रु एक लाखसम्मको छुट सुविधा दिन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी उक्त सेवा सुरु गरेको कलेजका सञ्चालक डा. दयाराम लम्सालले जानकारी दिए ।

                उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा विपन्न भएको प्रमाणित भएपछि मात्रै यो सुविधा प्राप्त गर्न सकिनेछ । मुख्यगरी मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी भएका बिरामीले एक लाखसम्मको छुट  पाउने छन् । यसका लागि अस्पतालको विपन्न नागरिक उपचार सम्पर्क केन्द्रमा पुगेर सेवा लिन सकिने कलेजले जनाएको छ ।

               स्वास्थ्य मन्त्रालयबाट घोषित कार्यक्रममा निःशुल्क आमा सुरक्षा कार्यक्रम, डाइलासिस सेवा, पाठेघरको शल्यक्रिया तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएकामा कलेजले यही महिनाबाट थप नयाँ सेवा थालेको हो । यही वैशाखबाट नयाँ कार्यक्रमका रुपमा विपन्न नागरिकको उपचार केन्द्र स्थापना गरी कडा रोगमा रु एक लाखसम्मको छुट सुविधासहितको सेवा सुरु गरेको डा. लम्सालले जानकारी दिए ।

                  वि.सं .२०६५ मा स्थापना भएको चितवन मेडिकल कलेजमा हाल ७५० शैय्या छ । अहिले विभिन्न जिल्लाको रिफर सेन्टरको रुपमा कलेजले सेवा दिँदै आएको छ । यसैबीच कलेजले महिलाको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन शनिबार गरिएको निःशुल्क पाठेघरको परीक्षणमा ३२५ जनाले सेवा लिएको कलेजले जनाएको छ । यहाँ झन्डै एक दर्जन विशेषज्ञ सेवारत छन् । चितवनमा दुई ठूला मेडिकल कलेज, सुविधायुक्त सरकारी अस्पताल र क्यान्सर अस्पताल छन् भने दुई दर्जन बढी अन्य निजी अस्पताल रहेकाले यो शहर मेडिकल सिटीका रुपमा विकास हुँदै गएको छ ।

    रासस  

प्रतिक्रिया दिनुहोस्