Logo

तीन करोडको जुत्ता संग्रह

वैशाख २३, २०७४, विश्वमा धनी र गरिब बीच ठूलो खाडल छ । धनाढ्यहरू झनै सम्पन्न भइरहेका छन् भने गरिबहरू दिनदिनै निर्धनताको रेखाभन्दा तल झर्दै गएका छन् । विश्वका करोडौं मानिसलाई दुई छाक टार्नै धौ–धौ परिरहेको छ ।

मुखमा माड जुटाउनकै लागि गरिबले अहोरात्र कडा संर्घष गर्छन् । धनाढ्यहरूले आफ्नो जीवनशैली अन्यन्तै तडक भडकका साथ बिताउने गरेको पनि भेटिन्छ । तीमध्येका केही अर्बपतिका सन्तानहरूको त कुरै बेग्लै । तिनीहरूको जन्म भड्किलो जीवनशैलीको प्रतीक बन्नकै लागि मात्रै भएको जस्तो भान हुन्छ । कुनै साधारण मानिसका लागि त्यस्तो जीवनशैली अपनाउनु भनेको एउटा सपनाजस्तै हो । 

                   दुबईका एक अर्बपतिका छोरा रासेद सइफ बेल्हासाको जीवनशैली अरूको भन्दा फरक छ । १५ वर्षीय यी किशोर जुत्ताको नयाँ संग्रह बजारमा ल्याएर रातारात चर्चित बनेका छन् । दुबईको ठूलो निर्माण व्यावसायी तथा उद्यमी सइफ अहमद बेल्हासाका छोरा हुन् उनी । बुबा अहमद सइफ इन्टरनेसनल (बेल्हासा ग्रुप/बेल्हासा होल्डिङ) कम्पनीका संस्थापक र अध्यक्ष हुन् । उनको कम्पनी निर्माण क्षेत्र, रियल इस्टेट, टेक्नोलजी, अटोमोटिभ, ट्राभल र टुरिजम, हस्पिटालिटी, सामान्य व्यापार, निर्माणसँग सम्बन्धित सामग्री उत्पादन र शैक्षिक व्यापारमा चर्चित छ । 

                  सन् १९८० को दशकमा यो कम्पनीको स्थापना युनियन ट्रेडिङका रूपमा पहिलोपटक गरिएको हो । सुरुमा अहमद सइफको कम्पनीले कार र ऊर्जा परियोजनाका लागि आवश्यक पार्टपुर्जा उत्पादनमा सक्रिय थियो । कम्पनीमा अहमद र उनका छोराको नाममा धेरै लगानी छ । अहमदको सोख फुटबलमा छ । त्यसैले आफ्नै अध्यक्षतामा उनी खेल क्लब ‘अलसाबाब’ स्थापना गर्न भ्याएका छन् । यो क्लब सोकर टिमका लागि लोकप्रिय छ । पछिल्लो समय अहमद समाज सेवामा पनि सक्रिय छन् । शैक्षिक र मानव सेवा क्षेत्रमा उनले आर्थिक सहयोग गरेका छन् । ‘वेल्थ–एक्स’ का अनुसार ‘सेल्फमेड’ अर्बपति अहमद सइफको कुल सम्पत्ति २ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । 

                   छोरा रासेदको रुचि बुबा अहमदसँग पटक्कै मेल खाँदैन । बुबाले भन्दा पृथक् काम गरेर उनी चर्चित बनेका हुन् । विगत केही समययता खर्चिलो जीवनशैलीकै कारण सामाजिक सञ्जालमा उनी छाएका छन् । यूएईमा धनाढ्य अरबी बालबालिकामध्ये उनी पाँचौं सर्वाधिक धनाढ्य हुन् । आफ्ना अर्बपति अभिभावकको पैसाबाटै धनाढ्यमा केही किशोरहरू दरिएका छन् । 

                        केहीले पैतृक सम्पत्तिको उपयोग गरी आफ्नै व्यापार सञ्जाल सञ्चालन गरिसकेका छन् या गर्दै छन् । कोही भने आफ्नो जीवनशैलीलाई पुर्खौली सम्पत्तिको आडमा भड्किलो बनाएका छन् । तीमध्येमा रासेद सइफ पनि पर्छन् । उनी लोकप्रिय फेसन लाइनका एकजना सह–मालिक पनि हुन् । 

                      रासेदले थोरै समयमा ३ लाख अमेरिकी डलर मूल्य (३ करोड ८ लाख ७४ हजार ७ सय ३१ रुपैयाँ) बराबरका महँगा स्पोर्ट जुत्ताको संग्रह गरेका छन् । जुत्ता र स्निकर्समा उनको रुचि जागेको धेरै पहिले भने होइन । सन् २०१५ मा लोकप्रिय सिंगर कानी वेस्टको डिजाइर सुज हेरेर त्यसको उनी सौखिन बनेका हुन् । त्यसपछि उनले सुज र स्निकर्सको एउटा ठूलो संग्रह सुरु गरेका थिए । रासेद विगत केही समययता सोसल मिडियामा तहल्का मच्चाएका छन् । उनको इन्स्टाग्राम र युट्युबमा हजारौं शुभचिन्तक भइसकेका छन् ।

                       हिन्दी चलचित्रका सुपर स्टारहरू शाहरुख खान, सलमान खानदेखि मेसी र रोनाल्डोजस्ता फुटबलका ठूला स्टारले समेत उनीसँग भेटिसकेका छन् । उनीसँग भेटेका अन्य सेलिब्रेटीहरूमा ज्याकी चान, निक्की मिनाज, खलोए करदासियन, विज खालिफा, पेरिस हिल्टन, इरिना सायाक लगायतका छन् । उनलाई भेट्न पहिले नै सेलिब्रेटीले समय लिनुपर्छ । उनले यसका लागि कर्मचारी नै नियुक्त गरेका छन् ।

                      रासेदले एक अन्तर्वार्तामा भनेका छन्, ‘मसँग भेट्ना आएका अधिकांश सेलिब्रेटीहरू परिवारले बनाएको फर्ममा समेत समय बिताउने गर्छन् । फर्ममा पालिएका जन्तुजनावर खासगरी चितुवासँग लुडीबुडी गर्न रुचाउँछन् ।’ उनी हिजोआज यति व्यस्त भएका छन् कि धेरैपटक आफ्नो सेड्युलका कारण कतिपय सेलिब्रेटीहरूसँग भेट्न समय पाउँदैनन् । तर, आफ्नो जीवनलाई सन्तुलन बनाउन भरमग्दुर प्रयास गरिरहेको उनी बताउँछन् । उनी थप्छन्, ‘धेरै सेलिब्रेटीहरू मसँग भेट्न दुबई आउने गर्छन् । म र मेरो फर्म तिनीहरूका लागि एकपटक पुग्नैपर्ने एउटा गन्तव्य जस्तै बनेको छ ।’

                      दुबई एउटा सपनाको भूमि पनि हो, जहाँ रासेद एउटा बोसको जस्तो जीवनयापन गर्छन् । ‘मनी किक्स’ का नामले समेत चर्चित उनी दुबईस्थित इन्टरनेसनल स्कुल अफ आर्टस एन्ड साइन्सका बिध्यार्थी हुन् । ‘क्याचन्युज’ का अनुसार उनी स्कुलबाट आएपछि एउटा फेसन लाइनका सह–मालिकको भूमिका निर्वाह गर्छन् । त्यसबाट फुर्सद भए आफ्नै घरमा स्थापना गरेको टाइगर क्लब र वयष्क जंगली बिराला र चिम्पान्जीसँग रमाउँछन् । 

                      रासेदले युट्यब र इन्टाग्राम दुवैमा महँगा जुत्ताको सोकेस राखेर चर्चित भएका हुन् । उनका आफ्नै ‘मनी किक च्यानेल’ मा सब्स्क्राइबरको संख्या साढे ५ लाख र इन्स्टाग्राममा फलोअर्स ४ लाख ७० हजारभन्दा बढी छन् । सन् २०१३ को मेमा पहिलो पटक केही तस्बिरहरू इन्स्टाग्राममा पोस्ट गरेका थिए । त्यसको एक महिनापछि उनले युट्युबमा अकाउन्ट खोले । युट्युबमा उनको ‘स्निकर टक’ को शृंखला सबैभन्दा चर्चित भिडियो हो । त्यसमा उनले बिज खालिफा, त्यगा, दि गम, साइलेन्टा र किड इन्क सम्बन्धी फिचर सार्वजनिक गरेका थिए ।

                एजेन्सी

प्रतिक्रिया दिनुहोस्