Logo

काठमाडौं बाहिर तीन ठाउँबाट श्रम स्वीकृति दिने तयारी

 

काठमाडौं २२ बैशाख । सरकारले काठमाडौं उपत्यका बाहिरबाट तीन ठाउँमा वैदेशिक रोजगार विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको छ । यो प्रावधान लागु भएपछि विदेश जाने कामदारले त्यहीँबाट सेवा लिन सक्ने वैदेशिक रोजगार विभागले जनाएको  छ ।अहिले काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले नयाँ र पुनः श्रमस्वीकृति दिइरहेको छ । धनुषा जिल्लाको ढल्केबर वा आसपासको स्थान, कास्कीको पोखरा वा रुपन्देही जिल्लाको बुटवलमध्ये एक स्थान र बाँकेको नेपालगञ्जमा विभागले सेवा केन्द्र खोल्ने तयारी गरेको हो ।

                       नयाँ आर्थिक वर्ष  देखि सेवा सञ्चालन हुने गरी सेवा केन्द्र स्थापना गर्ने तयारी भइरहेको विभागका महानिर्देशक विश्वराज पाण्डेले जानकारी दिए । “वैदेशिक रोजगारीमा जानेको बढ्दो संख्या र सुविधालाई मध्यनजर गर्दै पायक पर्ने स्थानमा विभागको सेवा केन्द्र खोल्ने तयारी गरिएको छ,” महानिर्देशक पाण्डेले भने । त्यस्तै विदेशमा कार्यरत नेपाली कामदारले आउँदो साउन महिना  देखि दूतावासबाटै पुनः श्रमस्वीकृति पाउने भएका छन् । विदेशस्थित नेपाली नियोगहरूले पुनः श्रमस्वीकृति दिन सक्ने प्रावधान सरकारले ल्याउन लागेको हो । यो प्रावधान लागु भएपछि बिदामा नेपाल आउने कामदारले काठमाडौंमा पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यता हुने छैन ।कामदारले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्नेछन् । महानिर्देशक पाण्डेका अनुसार दूतावासकै सुझावका आधारमा नयाँ आर्थिक वर्षदेखि पुनः श्रम स्वीकृति दिने तयारी गरिएको हो । 

 

प्रतिक्रिया दिनुहोस्