Logo

सहयोगीका भरमा संस्कृत शिक्षा

वैशाख २३, २०७४,उदयपुर लालपत्ताका कालीदास पौडेलका बुबा गाउँका पुरोहित हुन् । कालीदासलाई पनि पुरोहित बनाउन बुबाले बिर्तामोड २ चारेपानेस्थित विवेकाश्रम तथा साङवेद संस्कृत मावि भर्ना गरिदिएका छन् । उनी अहिले कक्षा ८ मा पढदैछन् ।

               संस्कृत पढेर पुरोहित बन्ने मनसाय उदयपुरकै दिवस भट्टराईले सुनाए । उनी उक्त विद्यालयमा कक्षा ६ मा पढिरहेका छन् । उनीहरूसँगै उक्त विद्यालयमा यस वर्ष १ सय ५३ विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा ४ देखि १० सम्म पढाइ हुन्छ । ०७० को एसएलसी परीक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याएर बिध्यालय सम्मानित भएको थियो ।

               उक्त बिध्यालयमा अध्ययन गरेका विद्यार्थी अहिले मुलुकको उच्च ओहोदामा पुगेका छन् । अम्बिकाप्रसाद रेग्मी परीक्षा नियन्त्रक हुन् । काशीनाथ न्यौपाने संस्कृत विश्वबिध्यालयको बौद्ध दर्शन प्रमुखमा कार्यरत छन् । यहाँका ५ बिध्यार्थी काठमाडौंको वाल्मीकि विद्यापीठमा अध्यापन गरिरहेका छन् ।

                  बिध्यालयले संस्कृत पढाउन थालेको ४१ वर्ष भयो । जिल्लाभित्रकै केही संस्कृत बिध्यालय बिध्यार्थीबिना बन्द हुने अवस्थामा छन् । तर २०२८ सालमा गुरु विवेकानन्दले सञ्चालनमा ल्याएको आश्रममा बर्सेनि बिध्यार्थी थपिँदै गएका छन् । साङवेदले नि:शुल्क खाना र आवास सहितको शिक्षा प्रदान गरिरहेको छ । यहाँ अध्ययनरत बिध्यार्थीले कुनै शुल्क तिर्नु पर्दैन । ‘स्थानीय र दाताको सहयोगबाटै अहिलेसम्म चलिरहेको छ,’ प्रधानाध्यापक दामोदर न्यौपानेले भने, ‘सहयोगकै भरमा बिध्यालय चलाउन भने निकै कठिन हुँदोरहेछ ।’

                   बिध्यालयका ६२ जना आजीवन सदस्य छन् । उनीहरूसहित स्थानीय किसानले बिध्यालयलाई बर्सेनि धान सहयोग गर्छन् । यस वर्ष ४ सय ८० मन संकलन भएको छ । प्रधानाध्यपक न्यौपानेले भने, ‘धान राम्रै संकलन भयो ।

              यसले वर्षभरिलाई चामल पुग्छ । तर तेल, तरकारीका लागि सदस्यहरूबाट फेरि सहयोग माग्नुपर्छ ।’ सामुदायिक बिध्यालय भएकाले केही मात्रामा शिक्षा कार्यालयले पनि सहयोग गर्ने गरेको छ । बिध्यालयमा ११ जना शिक्षक कार्यरत छन् । बिध्यालयका कक्षा कोठादेखि अन्य सबै भौतिक संरचना विभिन्न दाताले निर्माण गरिदिएका हुन् । 

               यहाँ वेद, कर्मकाण्ड, संस्कृत साहित्य, ज्योतिष बिध्या, संस्कृत व्याकरणका साथै अंग्रेजी, गणित, नेपाली र सामाजिक विषय पढाइ हुन्छ । बिध्यालय परिसरभित्रै २ वटा मन्दिर र एउटा यज्ञशाला छ । बिध्यार्थी तिनै मन्दिरमा दैनिक बिहान ५ देखि ८:४५ सम्म र बेलुका ५:३० देखि ७ बजेसम्म गायत्री जप्ने, भावतीत ध्यान, रुद्राभिषेक, नृत्य हवन, सन्ध्याकालीन पाठ गर्छन् । बिध्यार्थी संख्या धेरै भएको तथा उनीहरू सबैलाई एकैपटक पाठ गराउन भने कठिनाइ भइरहेको आश्रमका अध्यक्ष धर्मगुरु व्यासाचार्य किशोर गौतमले भने । उनले अबको केही समयपछि भने त्यो कठिनाइ हटेर जाने बताए ।

            आश्रममा काठमाडौं कलंकीका समाजसेवी वासु केसीले पाञ्चायन मन्दिरसहितको सत्सङ भवन निर्माण गरिदिँदैछन् । आवास गृहसहितको सत्सङ भवन निर्माण पूरा गर्दा करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने केसीले बताए । उनले स्व. बुबा रुद्रबहादुर केसीको इच्छानुसार विवेकाश्रममा करोडभन्दा बढीको लागतमा मन्दिर र सत्सङ भवन बनाउन लागेको बताए । भवन निर्माण धमाधम भइरहेको छ । 

              समाजसेवी केसीले आर्थिक अभावमा आश्रम बन्द नहोस् भनेर १ करोड ५० लाख रुपैयाँ खर्चेर मन्दिरसहितको सत्सङ भवन बनाएका हुन् । ‘आश्रमलाई अझै व्यवस्थित गर्दै वैदिक संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले लगानी गरिरहेको छु,’ समाजसेवी केसीले भने, ‘सामाजिक सेवा गर्दागर्दै वैदिक संस्कार र संस्कृतिको पनि संरक्षणमा जुटेका छौं ।’ हाल डेढ करोड लगानी गर्ने उद्देश्यले भवन निर्माण हुँदैछ, यो बढदै जाने उनले बताए । 

            समाजसेवी केसीले उदयपुरको त्रियुगा नगरपालिकास्थित चुहाडेका ४ बौद्धिक अपांगता भएका युवालाई मासिक रूपमा आर्थिक सहयोग गरिरहेका छन् । ‘अब थप सहयोग गर्ने तयारी गरिरहेको छु,’ समाजसेवी केसीले भने, ‘ती युवकलाई व्यवस्थित रूपमा जीवनयापन गर्न सजिलो होस् भनेर घरको कम्पाउन्ड लागउन सहयोग गर्ने तयारी छ ।’ ती ४ युवकलाई मासिक रूपमा जीवनयापन गर्न सहयोग गरिएको र अरू पनि गरिने उनले बताए । 

       कान्तिपुर

प्रतिक्रिया दिनुहोस्