Logo

ओम अस्पतालमा सन्ध्याकालिन ओपीडी सेवा सुरु हुँदै

काठमाडौ, चैत ३० – सेवाग्राहीहरुलाई सरल तथा सहज ढंगले गुणस्तरीय सेवादिने क्रममा नयाँ वर्षको सुरुवातसँगै ओम अस्पतालमा सन्ध्याकालिन ओपीडी सेवा संचालन हुने भएको छ । ओम अस्पतालले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी सन्ध्याकलिन ओपीडी सेवा सुरु गर्ने जानकारी दिएको हो ।

ओपीडी सेवा अन्र्तगत जनरल मेडिसिन, अर्थोपेडिक (हाडजोर्नी), कार्डियोलिोजी (मुटु रोग), गाइनोकोलोजी (स्त्री रोग), बाल रोग लगायतका सेवा उपलब्ध गराइने छ । सन्ध्याकालिन ओपीडी सेवाको दस्तुर पनि अन्य समयमा संचालन गरिने ओपीडी सेवा सरहको नै हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सन्ध्याकालिन ओपीडी सेवा लिन चाहने सेवाग्राहीले अनिवार्य रुपमा अग्रिम बुकिङ गर्नुपर्ने अस्पतालले जनाएको छ । सेवाग्राहीको मागअनुसार सन्ध्याकालिन ओपीडी सेवामा क्रमशःअन्य सेवाहरु पनि विस्तार गरिँदै लैजाने अस्पतालका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए ।

विहानदेखि बेलुकी सम्म विभिन्न पेशा व्यवसायमा आबद्ध कामकाजी व्यक्तिहरुलाई अस्पतालहरुको ओपीडी सेवा लिन व्यवहारिक कठिनाई परिरहेको अवस्थामा त्यस्ता व्यक्तिहरुलाई लक्षित गर्दै यो सेवा शुरु गर्न लागिएको अध्यक्ष पौडेलले बताए ।

अस्पतालले मृगौला रोग पीडितहरुलाई लक्षित गर्दै निशुल्क डायलसिसका लागि आवश्यक प्रक्रिया समेत सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यस्तै अस्पतालमा डाइजेस्टिभ डिजिज सेन्टर, डिजीटल मेमोग्रयाफी, स्लिप ल्याब जस्ता अत्याधुनिक सेवाहरु पनि संचालनमा रहेको अस्पतालले जनाएको छ । श्रमजीवी पत्रकारहरुका लागि समेत अस्पतालले रोगको प्रकृति हेरी केही छुटका व्यवस्था गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्