Logo

जो हराएको ४७ दिनपछि जिउँदै भेटिए

ताइवानका एक २१ वर्षीय पदयात्रीलाई हराएको ४७ दिनपछि उच्च हिमाली भेगबाट जिउँदै उद्धार गरिएको छ।उच्च भेगमा खोज तथा उद्धार गर्ने टोलीले लियाँग शेंग युएहलाई समुद्र सतहबाट २६ सय मिटर उचाइमा रहेको धादिङ्गको टिप्लींग गाउँस्थित पहाडको एक खोचमा फेला पारेका थिए। उनकी महिला मित्र १९ वर्षीय लिउ चेन चुनको शव नजिकै रहेको थियो।लियाँगलाई राजधानी काठमाण्डूस्थित ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको बताइएको छ। लियाँगको उपचारमा संलग्न डक्टर सञ्जय कार्कीले बीबीसी नेपालीका सुरेन्द्र फुयालसँग कुरा गर्दै भने, “उनी विस्तारै बोल्न सक्छन्। उनको महिला मित्रको तीन दिन अगाडि ज्यान गएको उनले मलाई बताए। उनलाई बाहिरी चोटपटक खासै देखिदैंन तर किराले टोकेका घाउ भने उनको शरीरमा छन्।”

पानी र नुनको भर

ती पदयात्रीको तौल हप्तौं अगाडि बाटो बिराएयता करिब ३० किलोले घटेको छ। उनको कपालभरि जुम्रा थियो भने उनको एउटा खुट्टामा स्याउँस्याउँ किरा परेका थिए। चिकित्सकहरुका अनुसार उनी खासगरी पानी र नुनको भरमा बाँचेको देखिएको छ। बीबीसीलाई प्राप्त जानकारी अनुसार ती पदयात्रीलाई बुधबार स्थानीय समय बिहान ११ बजे स्थानीय बासिन्दाले पहिलोपटक देखेका थिए। तत्काल हेलिकप्टर पठाइ तिनको उद्धार गरियो। लियाँग र लिउ ताइवानको नेशनल दङ ह्वा विश्वविद्यालयका पहिलो वर्षका विद्यार्थी थिए।उनीहरु गत फेब्रुअरी महिनामा भारतबाट नेपाल आइपुगेका थिए।

      

प्रतिक्रिया दिनुहोस्