जो हिउँ र नुन खाएर ७ हप्ता बाँचे
![](https://karobaraja.com/wp-content/uploads/2017/04/pansang-beptta-27042017073404-1000x0.jpg)
वैशाख १४, २०७४,धादिङको उत्तरी क्षेत्रस्थित रुवीभ्याली घुम्नेक्रममा ७ साताअघि हराएको ताइवानी जोडीको बुधबार बल्ल पत्ता लाग्यो । फागुन २६ देखि बेपत्तामध्ये युवक गम्भीर घाइते अवस्थामा भेटिए । उनकी साथीको भने शव मात्रै फेला परेको छ । उनीहरू भीरबाट चिप्लिएर हिउँ नै हिउँ भएको खाडलमा फसेका थिए ।
धादिङ सदरमुकाम हुँदै उत्तरी क्षेत्रतर्फ गएका ताइवानी युवती लिउ चेन चुन र युवक लियाङ सेङ यु तीन दिनसम्म तिप्लिङको लवदुंगमा होमस्टेमा बसेका थिए । फागुन २५ गते उक्त होमस्टेबाट हिँडेको भोलिपल्ट रसुवा आउने पदमार्ग पाङसाङबाट यो जोडी बेपत्ता भएको थियो । उनीहरूले रुवीभ्याली हुँदै लाङटाङ जाने चलनचल्तीकै पदमार्ग प्रयोग गरेका थिए ।
२२ सय मिटर उचाइसम्मका तिप्लिङ लगायतका उत्तरी बस्तीमा फागुन २६ देखि लगातार भारी हिमपात भएको थियो । पाङसाङ पासबाट नारचेत खर्क हुँदै करिब १२ किमि पर होटलहरू भएको सानो सोमदाङ बस्ती झर्न खोज्दा उनीहरू हिउँमै त्यांग्रोभीरबाट चिप्लेर खाल्टोमा फसेका रहेछन् । हिउँमा चिप्लेर करिब २ सय मिटर तलको पहरा छाँगामा उनीहरू अलपत्र परेका थिए । उनीहरूले प्रयोग गरेको पदमार्ग उत्तरी धादिङका बासिन्दाले भीरको बाटो छिचोल्दै सोमदाङ, पार्वतीकुण्ड हुँदै रसुवा जाने मार्ग हो ।
उक्त मार्ग मनास्लु र लामटाङको बीचमा पर्ने भएकाले पर्यटक पनि आवतजावत गर्छन् । स्याफ्रुबेंसीदेखि सोमदाङसम्मको सडक २०४२ सालमा नेपाली सेनाले निर्माण गरेको हो । हाल सोमदाङदेखि तिप्लिङसम्मको २८ किमि दूरीको उक्त सडक ४ हजार मिटर उचाइ छिचोल्दै निर्माणाधीन छ ।
बेपत्ता जोडीलाई खोज्न ताइवानबाट युवतीकी आमा र युवकका बावु नेपाल आएका थिए । युवकका बावुले हेलिकप्टर चार्टर गरेर दिनभर खोजी पनि गरे । युवतीकी आमा छोरीको ‘सास वा लास’ नभेटी नफर्कने भन्दै अझै काठमाडौंमै छिन् । उद्धारका लागि हेलिकप्टरले ट्रेकिङ एजेन्सीका ४ जना दक्ष गाइडलाई चैत १३ गते हेलिकप्टरबाट पाङसाङमा झारेको थियो । सम्भावित स्थलमार्गमा खोज्न खटिएका उनीहरू कष्टसाथ १० दिन खोज्दा पनि केही पत्ता नलागेपछि २३ गते लखतरान भई सबैभन्दा नजिकैको बस्ती सोमदाङ झरेका थिए ।
‘पाङसाङ नजिकैको मेरगाङमा टेन्ट हालेर बसेको देखियो,’ सोमदाङ झरेका खोजकर्तामध्येका शुक्रबहादुर आलेले सुनाए, ‘टेन्ट नजिकै सुकेको रूखमा आगो लगाएका रहेछन् । टुप्पोसम्म आगो सल्केर रूख ढल्ने अवस्थामा पुगेपछि टेन्ट अन्तै सारेजस्तो पनि छ ।’ तर त्यसपछि कता गए भन्नेमा आफूहरू अन्योलमा परेपछि स्थानीयवासीले सधैंजसो गाईबस्तु र चौंरी लड्ने भीरको फेदी खोल्सामा खोज्न आग्रह गरेको उनले बताए । ‘दुर्घटना हुनेजस्तो स्थल पनि देखिएन । सिंगलापास, नारचेत जताजतै खोज्दा पनि फेला परेन । दर्जनौं चौंरी गोठहरूमा पनि पुग्यौं, तर फेला पार्न सकेनौं,’ उनले भने ।
‘कपडा भएको झोला हेलिकप्टरमै छुटेर लखतरान परेका गाइडहरू हिउँ पग्लिएपछि फेरि आउने भन्दै पन्छिएको’ रेडपान्डालगायत लोपोन्मुख वन्यजन्तुको अध्ययनमा गएका युवा प्रजोल तामाङले बताए ।
पछि फेरि गाइडहरूले सोमदाङका स्थानीयवासी एवं नेपाली कांग्रेस तिप्लिङका सभापति दावा थापालाई प्रयोग गरी बेपत्ता जोडीलाई फेला पारेको हो । जोडी चिप्लेको स्थान निकै भिरालो छ । स्थानीयवासीले आफ्ना गाईबस्तु र चौंरी हराएपछि सोही भीरको फेदीमा गएर फेला पार्थे । प्रजोलका अनुसार बुधबार पत्ता लगाउने दावा थापालाई नै लिएर चैत २४ गते भीरको फेदीमा खोज्न पुगेको भए युवती पनि जीवितै फेला पर्ने थिइन् ।
दावा उक्त भेकका भीरपाखा, जंगल, हिमालका ज्ञाता मानिन्छन् । उद्धारपछि काठमाडौंको ग्रान्डी हस्पिटलको सघन कक्षमा उपचार गराइरहेका युवकका अनुसार उनकी केटी साथी ३ दिनअघिसम्म जीवितै थिइन् । बुधबार दिउँसो पौने बाह्र बजेतिर उद्घार गरिएका लियाङ सेङ युलाई हेलिकप्टरबाट अपराहन साढे चार बजे काठमाडांैको ग्रान्डी अस्पताल पुर्याइएको थियो ।
युवकले गर्ल फ्रेन्ड लिउ चेन चुनको तीन दिनअघि मृत्यु भएको बताएको अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताए । लियाङलाई सघन उपचारमा राखिएको छ । ‘युवकको खुट्टा, औंलाको कापहरूमा किरा परेको छ, कपालमा जुम्रैजुम्रा थियो,’ उनले भने, ‘त्यसैले हामीले उसको कपाल खौरिदिएका छौं ।’
यति धेरै दिनसम्म नुन मिसाउँदै हिउँ खाएर जीवित रहन सकेको पनि लियाङ सेङ युले बताएका छन् । ‘युवकले बताएअनुसार सुरुका केही दिनलाई पुग्ने खानेकुरा उनीहरूका साथमा रहेछ, जसलाई अलिअलि गरेर फारो गर्दै केही दिन गुजारेछन्,’ डा. पाण्डेले भने, ‘तर साथमा नुन भने टन्नै रहेछ । वरिपरिको हिउँ बटुल्दै नुन मिसाएर खाँदै बाँचेका रहेछन् ।’ ट्रेकिङका लागि साथमा रातो रङको एउटा टेन्ट पनि बोकेकाले त्यसभित्रै बसेर हिउँबाट शरीर जोगाउन सकिएको युवकले बताएको डा. पाण्डेले सुनाए ।
ग्रान्डीको हाई केयर युनिटको बेड नं. ७ मा राखिएका उनको विभिन्न परीक्षण गरिएको छ । उनलाई केही दिन सघन उपचारमै राखिने उनले जनाएका छन् ।