Logo

अमेरिकाद्वारा मिसाइल प्रतिरक्षा प्रणाली स्थापना

वैशाख १४, २०७४- उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रमका कारण जारी तनावबीच अमेरिकाले दक्षिण कोरियामा आधुनिक प्रविधियुक्त मिसाइल प्रतिरक्षा प्रणाली स्थापना गर्न सुरु गरेको छ । यसबाट उत्तर कोरियाले आक्रमण गरेमा त्यसको जवाफ दिन तयार रहेको सन्देश अमेरिकाले दिएको छ । विगतमा गल्फ कोर्सका रूपमा प्रयोग गरिएको सियोङजुमा यो प्रणाली स्थापना सुरु गरिएको हो । 

                 टर्मिनल हाई अल्टिच्युट एरिया डिफेन्स सिस्टम (थाड) भनिने मिसाइल प्रतिरक्षा प्रणाली स्थापनाको स्थानीय बासिन्दाले विरोध गरेका छन् । ८ हजार प्रहरीको कडा सुरक्षाबीच ती उपकरण लैजाने क्रममा स्थानीय बासिन्दासँग झडपसमेत भएको थियो । त्यस क्रममा १० जना घाइते भएको अधिकारवादीले जनाएका छन् । प्रदर्शनकारीले अमेरिकी सेनाका गाडीमा पानीका बोतल प्रहार गरेका थिए । गत वर्ष पनि चीनको आपत्तिका बाबजुद अमेरिकाले प्रतिरक्षा प्रणाली स्थापना गरेको थियो । 

                    उक्त प्रणाली सानो तथा मध्यम दूरीको ब्यालेस्टिक मिसाइललाई अन्तिम चरणको उडानका क्रममा रोक्न र ध्वस्त पार्न सक्षम भएको बताइएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयले पनि उत्तर कोरियाली आणविक र मिसाइल खतराको जवाफ दिन दुवै मुलुकले ‘थाड’ प्रणाली सञ्चालनको सुरुवाती चरणको काम गरिरहेको जनाएको छ । यस विषयमा अमेरिकी सेनाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

               यो प्रणाली स्थापना गर्न अमेरिका र दक्षिण कोरियाबीच गत वर्ष सहमति भएको थियो । तर चीनले मिसाइल प्रतिरक्षा प्रणाली स्थापनाले त्यस क्षेत्रमा सुरक्षा अस्थिरता उत्पन्न गर्ने प्रतिक्रिया दिएको छ । बुधबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले यो प्रणाली फिर्ता लिन दक्षिण कोरिया र अमेरिकालाई आग्रह गरे ।

                उत्तर कोरियासँग जारी तनावलाई दृष्टिगत गर्दै अमेरिकाले यसअघि नै कोरियाली प्रायद्वीपमा कार्ल भिन्सन नामको युद्धपोत पठाइसकेको छ । दक्षिण कोरियाको एयरबेसमा समेत अमेरिकाले ‘अटयाक एयरक्राफ्टस ए १०’ तैनाथ गरिसकेको छ । उत्तर कोरियाले पनि सैन्य दिवसका अवसरमा अहिलेसम्मकै ठूलो ड्रिल गरेको छ । 

                  नेता किम जोङ–उनको उपस्थितिमा भएको अभ्यासमा ३ सय तोपहरू पड्काइएको उत्तर कोरियाली अधिकारीले जनाएका छन् । समुद्र किनारामा तैनाथ गरिएका ठूला क्षमताका स्वचालित बन्दुक पड्काइएको सरकारी समाचार समिति केसीएनएले जनाएको छ । 

चीनको पनि सैन्य शक्ति प्रदर्शन

यसैबीच, चीनले स्वदेशमै निर्मित पहिलो विमानवाहक युद्धपोत समुद्रमा उतारेको छ । यसअघि चीनले लियोनिङ नामको युद्धपोत प्रयोगमा ल्याएको थियो, जुन युक्रेनबाट ल्याएर चीनमा तयार पारिएको थियो । नयाँ युद्धपोतलाई उत्तरपूर्वी बन्दरगाह डालियानमा तैनाथ गरिएको छ । यो सन् २०२० देखि सञ्चालनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्