Logo

संसद बैठकमा एमालेको अवरोध, सरकार निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको आरोप

वैशाख १२, २०७४- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खोजिएको विरोधमा सदन अवरोध गरेको छ । उसले सरकार विभिन्न बहानाबाजीमा निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाएको छ । 

                संसद बैठक प्रारम्भ हुनसाथ एमाले सांसद गंगालाल तुलाधरले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन खण्डित हुने गरी वैशाख १४ गतेभित्र संख्या बढाउन विभिन्न जिल्लाहरुमा कोटा बाँडेर परिपत्र गरेको आरोप लगाए । सो विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदन अघि बढ्न नसक्ने तुलाधरको भनाइपछि एमाले सांसदहरु आ-आफ्नो ठाउँबाट उभिएका कारण बैठक अवरुद्ध भएको हो । एमालेको अवरोधपछि सभामुख ‌ओनसरी घर्तीमगरले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेकी छन् । 

             सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि गरेको सहमति अनुसार तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको छ । मंगलबार दिनको १ बजेका लागि संसद बैठक डाकिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्