Logo

ओलीले प्रधानमन्त्रीसँग मागे लिखित सहमतिको दस्तावेज

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनसँग भएको सहमतिको लिखित दस्तावेज प्रधानमन्त्री पुष्पकमल दाहालसँग मागेका छन ।

                       सिंहदरवारमा मन्त्रिपरिषद् बैठक रोकेर भक्तपुरको बालकोटस्थित ओलीको निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डसँग ओलीले सहमतिको लिखित दस्तावेज मागेका हुन । तर, सत्ता पक्ष र मधेसवादी दलहरुबीच स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने र परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा लैजाने शनिवार राति मौखिक सहमति भएको थियो।

                   प्रधानमन्त्री प्रचण्डले मोर्चा र संघीय गठबन्धनसँग दुई चरणमा निर्वाचन गर्ने, परिमार्जनसहित संविधान संशोधन गर्ने वारेमा शनिवार भएको सहमतिको जानकारी गराएका अध्यक्ष ओलीले पत्रकारहरुलाई जानकारी दिए  । ‘प्रधानमन्त्री प्रचण्डजीले मोर्चासँग हिजो भएको सहमतिबारे मौखिक रुपमा जानकारी गराएका थिए । त्यो बाहेक अरु कुरा केही भएको छैन। मैले परिमार्जनसहितको संविधान संशोधनको लिखित दस्तावेज दिनुस् अध्ययन गरेर समर्थन वा विरोध के गर्ने भन्नेबारे आधिकारिक धारणा तय गर्छौं भनेको छु,’ प्रचण्डसँगको छलफलपछि ओलीले बताए ।

                  ओलीले एमालेले सहमति भएका विषयमा अध्ययन नै नगरेकाले विरोध वा समर्थन के गर्ने भन्नेबारे अहिले नै मुख नखोल्ने बताए । उनले भने,‘दस्तावेज हात परेपछि अध्ययन गरेरमात्रै हामीले आधिकारिक धारणा तय गर्छौं।’ ओलीले आफूहरु पनि मधेसवादी दलहरुलाई चुनावमा ल्याउनु पर्छ भन्ने पक्षमै रहेकाले चुनाव दुई चरणमा गर्ने विषयमा आफूहरु तयार नै रहेको बताए ।

                 प्रधानमन्त्री प्रचण्ड क्याविनेट बैठक औपचारिकरुपमा सुरु नहुँदै बीचमै सिंहदरबारबाट ओलीलाई भेट्न बालकोट पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले ओलीसँग भएको करिब २० मिनेटको भेटमा मधेसवादी दलहरुसँग भएको सहमति, निर्वाचन तालिका परिवर्तन र परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने बारे जानकारी गराएका थिए ।

                  भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव पारितका लागि एमालेको सहयोग गर्ने विश्वाससमेत व्यक्त गरेको स्रोतले जनाएको छ। ओलीले भने संशोधन प्रस्ताव आएपछि अध्ययन गरेर समर्थन वा विरोध के गर्ने भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्ने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्