Logo

फोर्ब्स सूचीमा परेका ‘प्रभावशाली पाँच’ नेपाली

वैशाख ८, २०७४- अमेरिकी बिजनेस म्यागेजिन  फोर्ब्सले अघिल्लो साता एसियाका ३० वर्षमुनिका ३ सय प्रभावशाली युवाको सूची प्रकाशित गर्दा ५ नेपालीको नाम पर्‍यो । लगत्तै ती नेपाली युवा एकाएक चर्चित हुने नै भए । फोर्ब्सले विभिन्न १० विधामा फरकखाले काम गरिरहेका ३०–३० जना युवाको सूची प्रकाशित गरेको थियो । त्यसमा पर्न कुल १ हजार २ सयले आवेदन गरेका थिए ।

सूचीमा अटाएका रवि कुमार (कोड फर नेपालका संस्थापक) अमेरिकामा छन् भने दुर्गम गाउँका बालबालिकालाई शिक्षामा सहयोग गरिरहेका दियालो फाउन्डेसनका संस्थापक सूर्य कार्की चीनको राजधानी बेइजिङमा अध्ययनरत छन् ।

 

सूची प्रकाशित भए लगत्तै ह्वाइट स्पेसका संस्थापक  आशिष आचार्य र सविन भण्डारी अनि एक्सप्लोर ग्याजेटका संस्थापक प्रभात यादवको व्यस्तता बढेको छ । काठमाडौंमै रहेका उनीहरू मिडियाका आँखामा परेका छन् भने चिनेजानेकाले बधाई दिने क्रम रोकिएको छैन ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर साइन्समा व्याचलर सकिनै लाग्दा आशिष आचार्य र सविन भण्डारीले अर्का एक साथीसँग मिलेर आफैंले डिजाइन गरेको टिसर्ट बेच्ने अनलाइन स्टोरको परिकल्पना गरेका थिए । कलेजकै क्लबका लागि टिसर्ट डिजाइन गरेको अनुभव उनीहरूको आधार थियो । घरबाट पाएको पकेट मनी बचाउँदै १५–२० हजारको लगानीमा सुरु भएको उनीहरूको सपनाले ५ वर्षमा करिब ४ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको छ । थ्रेडपेन्ट्स नाम दिएर अनलाइनबाट टिसर्ट बिक्री सुरु गरेका उनीहरू कति सफल छन् वा असफल, मापनका लागि केही अंकहरूको सहारा लिनु ठीक हुन्छ ।

५ वर्षको अवधिमा उनीहरूले लगानीकर्ताबाट ६२ लाख लगानी गरेका छन् र करिब ४ करोडको कारोबार गरेका छन् । तीन जना सहपाठीले सुरु गरेको कम्पनीको ‘टिम’ अहिले ३० पुगेको छ । र, कम्पनीले अहिले दैनिक सरदर डेढ सय दखि दुई सयसम्म अर्डरहरू घरघर पुर्‍याइरहेको छ । टिसर्ट बिक्रीबाट सुर भएको कम्पनी अहिले जुत्ता, ब्याग र घडीसहितका सामग्रीका लागि युवा पुस्तामाझ चर्चित छ । सायदै यिनै अंकहरूको आधारमा कम्पनीका संस्थापकद्वय रिटेलर्स एन्ड ई–कमर्श विधाअन्तर्गत फोर्ब्सको प्रभावशाली सूचीमा अटाएका थिए ।

थ्रेड पेन्ट्स नामबाट सुरु भएको कम्पनी अहिले ह्वाइटस्पेस नामक प्यारेन्टल कम्पनीअन्तर्गत छ । ह्वाइटस्पेसअन्तर्गत बुट्टा नामक अर्को कम्पनीसमेत छ जसले डिजाइनरका लागि खुला प्ल्याटफर्म प्रदान गरिरहेको छ ।

सानो उमेरमा सानै पुँजीमा कम्पनी सुरु गरेका आशिष र सविनले यो अवधिमा धेरै पाठ सिकोका छन् र अनुभव बटुलेका छन् ।  उनीहरू आफ्नो सफलताको मापन अंकहरूमा नभई आफ्ना ग्राहकको व्यवहार परिवर्तनसँग जोडिएको बताउँछन् । अनलाइन सपिङ कल्चर विकास भए मात्रै आफू सफल हुन सक्ने धारणा उनीहरूको छ । ‘हामीले पछिल्ला समय मानिसलाई अनलाइन सपिङमा अभ्यस्त बनाउन पनि खर्चिएका छौं,’ आशिष भन्छन्, ‘त्यसका लागि कम्पनीको ब्रान्डिङमा ध्यान दिएका छौं ।’ आगामी वर्ष भिडियोमार्फत कम्पनीको ब्रान्डिङ बढाउने उनीहरूको लक्ष्य छ । र, कम्पनी फैलाउन ठूला लगानीकर्ताको खोजीमा पनि छन् ।

युट्युबर प्रभात यादव, २३, चिनाउन कुनै मिडिया आवश्यक पर्दैन, सायद । प्रविधिमा चासो राख्ने नेपाली र विदेशीका बीचमा उनी यसअघि नै प्रिय पात्र बनिसकेका छन् । प्रविधिसम्बन्धी जानकारी दिने उनको युट्युब च्यानल एक्सप्लोर ग्याजेट्समा हालिएका भिडियो लाखौंले हेर्छन् भने सब्सक्राइबर मात्रै ४ लाख २२ हजार कटिसकेका छन्, जसमा धेरै देशका प्रविधिप्रेमी समावेश छन् ।

मिडिया, मार्केटिङ र एडभरटाइजिङ विधामा उनलाई समावेश गर्दै फोर्ब्सले लेखेको छ, च्यानलले नेपाली दर्शकमाझ नयाँ ग्याजेट्सको परिचय गराउँछ जुन नेपालमा पाउन गाह्रो र महँगो हुने गर्छ ।

इस्लिङ्टन कलेजबाट बीबीए सकेका प्रभात यो च्यानलको सफलताका पछाडिका एक्ला पात्र भने होइन । भिडियोमा ‘हे गाइज, ह्वाट्सअप’ भन्दै आफ्नो फरकखाले स्वर दिन आयुष विष्ट, नयाँ सामग्रीको विश्लेषण गर्ने सफल अधिकारी, भिडियोको स्क्रिप्ट र जनसम्पर्कको काम गर्ने सोहिल श्रेष्ठ, च्यानलमार्फत गेमिङ र त्यसका एसेसरिजबारे जानकारी बाँड्ने सम्मान विष्ट सबै पछिल्ला प्रविधि, ग्याजेट्ज, गेमिङबारे जानकारी दिन अहोरात्र खटिएका हुन्छन् ।

विद्यार्थी रहँदै एडसेन्स र मनिटाइजबारे जानकारी पाएपछि प्रभातले युट्युबर बन्ने योजना बुनेका थिए । ५ वर्षअघि ममीको ग्यालेक्सी एस फोन प्रयोग गर्दै एन्ड्रोइड फोन ‘रुट’ गर्न सिकाएको भिडियोले एक सातामै १० हजार भ्यु पाएपछि उनले यो क्षेत्रमा सम्भावना देखेका थिए । सुरुमा पकेट मनीबाटै सानातिना सामान किनेर रिभ्यु थालेका उनको टिम फैलिएको छ र अहिले उत्पादनकर्ता आफैंले समीक्षाका लागि सामान पठाउन थालेका छन् । केहीलाई उनीहरू आफैं सम्पर्क गर्छन् ।

सन् २०१५ को जुलाईमा अमेरिकी इंक म्यागेजिनले प्रकाशित गरेको थर्टी पावर प्लेयर इन टेक नामक लेखमा प्रभात र एक्सप्लोर ग्याजेट्स समावेश भएपछि कम्पनीको विश्वसनीयता अझै बढ्यो । लेखमा भनिएको छ– यी प्रविधि बजारलाई निर्देश गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।

प्रविधिका फरक/फरक विषयमा अनुसन्धानमूलक भिडियोलाई च्यानलको सफलताको श्रेय देख्छन्, प्रभात । दैनिक जीवनमा उपयोगी हुने सस्ता सामानको परिचय गराउने र महँगा ग्याजेट्सको विशेषता बयान गरिएका ५ सय भिडियो एक्सप्लोर ग्याजेट्समा अपलोड भएका छन् ।

आफ्नो च्यानलमा स्वदेशीभन्दा विदेशी भ्युअर्स बढी भए पनि नेपालमै युट्युब कम्युनिटी स्थापना गरी संसारभरका मानिसको ध्यान खिच्ने खालको फरक काम गर्ने आफ्नो रहर पूरा हुनेमा आशावादी देखिन्छन् । र, आफ्नो अनुभव अरूलाई बाँड्न चाहन्छन् । भन्छन्, ‘युट्युब ठूलो प्लाटफर्म हो र यो भविष्यको सबैभन्दा प्रभावकारी माध्यम पनि हो । फरक खालको जानकारी दिने भिडियो हाले, आफू र भ्युअर्स दुवैलाई फाइदा हुन्छ ।’

वासिङ्टन डीसीमा विश्व बैंकको प्रमुख डिजिटल स्ट्राटेजिस्टका रूपमा कार्यरत जनकपुरका रविकुमारले पत्नी मिचेलसँग मिलेर स्थापना गरेको कोड फर नेपालले नेपालमा डिजिटल रिटरेसीलाई बढाउने लक्ष्य राखेको छ । अघिल्लो वर्ष मात्र उनीहरूले नेपालम्याप डट ओआरजी नामक वेबसाइट सार्वजनिक गरेका थिए । यसले नेपालसम्बन्धी तथ्यांकहरू जान्न सजिलो बनाइदिएको छ ।

फोर्ब्सको सूचीमा अटाएका अर्का नेपाली सूर्य कार्की दियाले फाउन्डेसनका संस्थापक हुन् । चीनको राजधानी बेइजिङस्थित सिङ्वा विश्वविद्यालयमा अध्ययनरत कार्कीले स्थापना गरेको दियालो फाउन्डेसनले नेपालका दुर्गम गाउँका बालबालिकालाई नि:शुल्क शिक्षाका लागि सहायता गरेको, कृषकलाई दिगो ऊर्जा र कृषिका लागि सहयोग गरिरहेको फोर्ब्सले जनाएको छ ।

साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्