Logo

कसलाई पछ‍्याउँछन् सेलिब्रिटीहरू ?

                                                                                           सजना बराल 

 प्रत्येक महिना ३१ करोड ३० लाख मानिसले ट्वीटरमार्फत् अनेक विचार व्यक्त गर्दै आएका छन् । हालै ह्वाइट– हाउस प्रवेश गरेका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प ट्वीटरमा निकै एक्टिभ छन् । उनी कतिपय महत्त्वपूर्ण घोषणा ट्वीटरमार्फत नै गरिदिन्छन् । त्यसले संसारभर सनसनी मच्चाइदिने गरेको छ । 

             ट्वीटरमा ट्रम्पका २ करोड ५४ लाख फलोअर्स छन् । उनको ट्वीटमा लाखौंले लाइक, रिप्लाई र रि–ट्वीट गर्छन् । ट्रम्प आफैंले भने ४३ जना मात्रै फलो गरेका छन् । खासमा कसलाई पछयाउँछन् उनी ? उनले रुचाएका मान्छे को हुन् ? ट्रम्प आफ्नै नामका कम्पनी, संघसंस्था एवं अमेरिकी राजनीतिज्ञ र सञ्चारकर्मीलाई फलो गर्दा रहेछन् । दक्षिण अफ्रिकी गल्फर गेरी प्लेयर र रेस्लिङ खेलका प्रवर्दक भिन्स म्याकमाहोन पनि ट्रम्पले फलो गरेका व्यक्ति हुन् । 

             भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई पछयाएका छन् । उनले बेलायतको बेम्बली स्टेडियम, मेलिन्डा गेटस्, दलाई लामा, परेश रावल लगायतलाई पनि फलो गरेका छन् । १६ सय ४० जनामध्ये उनले एउटै नेपाली नेतालाई पनि फलो गरेका छैनन् । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि ‘कमरेड प्रचण्ड’ नामक हयान्डलमा ५ जनालाई फलो गरेका छन् । त्यसमा ट्रम्प र उनकी छोरी इभान्का, गोविन्द खतिवडा, प्रकाश दाहाल र नेकपा माओवादी (केन्द्र) परेका छन् । 

             बलिउड अभिनेता अमिताभ बच्चनले १ हजार बढीलाई फलो गरेका छन् भने उनलाई फलो गर्नेको संख्या २ करोड ५२ लाख छ । बच्चनले थुप्रै खेलाडी, फनी ट्वीटस, फस्ट लेडीहरूको अर्काइभ र प्रेरणादायी भनाइ उल्लेख गरिएका अकाउन्टहरू फलो गरेका छन् । उनले रेस्लर जोन सिनाको फयान क्लब, चेल्सी क्लब, बिल गेटस् आदिको ‘पिछा गर्न’ चाहेछन् । २ करोड फलोअर्स भएका आमिर खानले क्रिकेटर सचिन तेन्दुलकर बाहेक बाँकी ८ जना कलाकारलाई फलो गरेका छन् । कोलम्बियन गायिका साकिराले मलाला फन्ड, गेट्स फाउन्डेसन, पोप फ्रान्सिस गरी १ सय ९२ जनालाई फलो गरेकी छन् । ४ हजार ५ सय २ वटा टीट गरिसकेकी उनलाई ४ करोड ३० लाखले फलो गरेका छन् । सलमान खानले सुरज पन्चोली, शाहरूख र आमिर खान गरी २३ जनालाई फलो गरेका छन् । 

             शाहरूखले पनि सलमानलाई पछयाएको पाइयो । शाहरूखले गायक जे सिन, साकिरा, अभिनेत्री इमा वाट्सन, लेखक पाउलो कोहेलो गरी ८१ जनालाई फलो गरेका छन् । अभिनेत्री दीपिका पादुकोणले बिल गेटस्, रोजर फेडेरर, नोभाक जोकोभिक आदिलाई पछयाएकी छन् । 

             आलिया भट्टले अमेरिकन ब्लगर पेरेज हिल्टन, नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ, गायक जस्टिन बिबर, व्यवसायी बिल गेटस् लगायतलाई फलो गरेकी छन् । उनलाई चाहिँ १ करोड बढीले पछ्याएका छन् । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले हिपहप आर्टिस्ट लिल वाइने, गायिका जेनिफर लोपेज, बक्सर माइक टाइसन गरी ९५ जनालाई पछयाएका छन् । क्रिकेटर विराट कोलीले अनुष्का शर्मालाई त लिस्टमा पार्ने नै भए । साथमा, अमिताभ बच्चन, एआर रहमान र गायक जस्टिन टिम्बरलेक गरी ४४ जनालाई फलो गरेको भेटियो । उनलाई १ करोड ४० लाखले पछयाएका छन् । नेपाली उद्यमी विनोद चौधरी पनि टीटरमा सक्रिए देखिए । उनले रजनीकान्त, विनोद खन्ना, अरविन्द केजरीवाल गरी ४८ जनालाई फलो गरेका छन् । 

          बाबा रामदेवले चाहिँ हलिउड अभिनेता ज्याकी च्यान, क्रिकेटर पल निक्सन, नेपाली पत्रकार सुवास घिमिरे, तिब्बती गुरु दलाई लामालगायत २ सय २६ जनलाई फलो गर्दा रहेछन् । प्रबल गुरुङले बैंकर अनिल केशरी शाह, गायिका माइली साइरस, अभिनेता टम हयांक्स लगायतलाई पछयाएका छन् । ‘गङनम स्टाइल…’ गायक साइले अमेरिकाका पूर्वराष्ट्रपती बाराक ओबामा, अभिनेता जिम क्यारे लगायतलाई नियालिरहेका हुन्छन् । धेरैबाट फलो गरिएका बिल गेट्स आफैंले चाहिँ अमिताभ बच्चन, लिओनार्दो डिक्याप्रियो, गायक जोन लिजेन्ड लगायतलाई पछयाएका छन् । 

     साभार कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्