Logo

निर्वाचनबारे कांग्रेस शीर्ष नेताहरुकै मत बाझियो

वैशाख ५, २०७४- निर्वाचनका विषयमा सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरुकै मत बाझिएको छ ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याउन निर्वाचन सार्नुपर्ने र सार्न नहुने फरक फरक धारणा सार्वजनिक गरेका हुन् ।  मधेसी मोर्चालाई सहमति ल्याएर मात्रै स्थानीय तह निर्वाचन गराउनुपर्ने दुवै नेताको जोड देखिन्छ । तर, वरिष्ठ नेता पौडेलले सबैलाई मिलाएर एकै चरणमा निर्वाचन गराउनु पर्ने बताए भने महामन्त्री शशांक कोइरालाले निर्वाचन मिति सारेर भए पनि मधेसी मोर्चालाई सहभागी गराउनु पर्ने बताएका हुन् ।

महामन्त्री कोइरालाले भने, ‘एक हप्ता वा १० दिन मिति सारेर भए पनि स्थानीय तह निर्वाचन सार्थक बनाउन मोर्चालाई सहभागी गराउनु पर्छ ।’ उनले मोर्चालाई निर्वाचनमा सहभागी गराउन दुई चरणमा निर्वाचन भए पनि उपयुक्त नै हुने सुनाए ।

वरिष्ठ नेता पौडेलले भने लामो समयसम्म निर्वाचन नहुँदा मुलुकले गति लिन नसकेकोले कुनै पनि बहानामा निर्वाचन मिति सार्न नमिल्ने  बताए । उनले भने, ‘संविधान कार्यान्वयनको लागि निर्वाचन अपरिहार्य भएकोले सबैलाई मिलाएर तोकिएकै मितिमा निर्वाचन अपरिहार्य छ ।’

‘जनतालाई सुशासन प्रदान गर्नुका साथै ग्राम स्वराज स्थापनाका लागि स्थानीय तह निर्वाचन अपरिहार्य भएकोले मोर्चालाई पनि रिथिंक गर्नु पर्छ,’ उनले भने, ‘सरकारले पनि मोर्चाको असन्तुष्टि संबोधनका लागि तत्काल वार्तामा जानु पर्छ होइन भने मुलुकमा प्राप्त उपलब्धि गुम्ने जोखिम बढ्छ ।’।
साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्