Logo

खाना घटाएर होइन, खाने तरिका सिकेर वजन घटाउनुहोस्

कम खाना खाएर वजन घटाउन खोज्नु मुर्खता शिवाय अरु केही होइन । किनकी यस्ले शरिरलाई चाहिने आवश्यक न्युनतम तत्वको समेत अभाव हुने खतरा रहन्छ तसर्थ वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै हुनुपर्छ । 

मासु कम खाने 

मासुजन्य खानेकुरामा क्यालोरी बढी हुने भएकाले बिहान र दिउँसोको खाजा र सकिन्छ भने रातिको खानामा पनि मासुजन्य परिकारको सट्टा सागसब्जी खानपर्छ । सागसब्जीमा क्यालोरीको मात्रा कम हुन्छ ।

खाने भाँडामा ध्यान दिने 

सन् २०१२ मा कोर्नेल विश्वबिध्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो । त्यही भएर थोरै खाने मन भए खाना र प्लेटको कलर भिन्न होस् भन्नेमा जोड दिनुस् । सलाद आदिमा क्यालोरी कम हुने भएकाले हरियो प्लेटमा हरियो सलाद खाने गर्नुस् । 

संगीत

मधुरो संगीत र बत्तीमा मानिसले बिस्तारै खाने गर्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । समय लगाएर खाना खाइयो भने थोरै खाइन्छ । त्यही भएर खाने बेलामा मधुरो बत्ती बालेर संगीत सुन्ने गर्नुपर्छ ।

बिहानै पानी पिउने 

पानी पिएर हरेक दिन सुरुवात गर्नुस् । बिहानै पानी पिउनाले  डिहाइड्रेसन हुँदैन । जसले गर्दा भोक लागिरहेको महसुस हुन दिँदैन र आवश्यकता भन्दा बढी खानाबाट जोगाउँछ ।

खानेकुरा बढी चपाएर खानुहोस 

बढी चपाएर खाना खान बढी समय लाग्छ । बढी समय लगाएर खाना खायो भने खानाको मात्रा घट्छ । त्यही भएर खूब चपाएर खाने गर्नुस् । चम्चाले खाने गर्नुभएको छ भने एक चम्चा खाना मुखमा हालिसकेपछि चम्चा प्लेटमा राख्नुस् । चम्चा हातमै राखियो भने छिटो–छिटो खाइन्छ  । 

ताछ्ने, छोडाउने खाना खाउँ

सुन्तला, केरा, ओखर, बदामजस्ता छोडाएर अथवा ताछेर खाने खानामा बढी जोड दिनुस् । ताछ्ने र छोडाउने गर्न बढी समय लाग्छ, जसले गर्दा यस्ता खाना थोरै मात्र खाइन्छ । ताछेर खाने फलफूलभन्दा नताछी खाने फलफूल बढी खाइन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ ।

खाना खानुअघि सुप खाने बानी बसालौं

सन् २००७ मा गरिएको एउटा अनुसन्धानले खानाअघि एपेटाइजरका रूपमा सुप खानाले क्यालोरी इनटेक २० प्रतिशतले कम हुने पत्ता लगाएको थियो । त्यही भएर क्यालोरीको खपत घटाउनुछ भने खाना खानुअघि भेजिटेबल सुप खाने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्