Logo

बैंकिङ हयाकमा अमेरिकी हात

वैशाख ३, २०७४- हयाकरहरूको एउटा समूहले अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) को पहुँच स्विफ्ट अन्तर बैंकिङ सन्देश प्रणालीसम्म रहेको संकेत गर्ने दस्तावेज र फाइलहरू सार्वजनिक गरेको छ । साइबर सुरक्षाविज्ञहरूका अनुसार उक्त दस्तावेजबाट एनएसएले केही मध्यपूर्व र ल्याटिन अमेरिकी बैंकहरूको आर्थिक कारोबार अनुगमन गर्ने उद्देश्यले स्विफ्ट प्रणालीमा पहुँच पुर्‍याएको संकेत गरेको छ ।

हयाकरहरूले कम्प्युटर कोडसमेत सार्वजनिक गरेका छन्, जसलाई आपराधिक समूहरूले स्विफ्ट सर्भरमा प्रवेश गर्न र आर्थिक गतिविधि अनुगमनमा प्रयोग गरेको हुन सक्ने आशंका गरिएको छ । ती दस्तावेजहरू ‘स्याडो ब्रोकर’ नामको हयाकरहरूको समूहले सार्वजनिक गरेको हो । सार्वजनिक दस्तावेजले एनएसएका बारेमा उल्लेख गरे पनि उक्त संस्थाले भने केही प्रतिक्रिया जनाएको छैन ।

यदि खुलासा सही सावित भएमा एडवार्ड स्नोडेनले सन् २०१३ मा गरेको खुलासाभन्दा महत्त्वपूर्ण सावित हुनेछ । विज्ञहरूले यो खुलासालाई विश्वसनीय भनेका छन् । बेल्जियममा मुख्यालय रहेको स्विफ्टले ‘आफ्नो नेटवर्क या सन्देश प्रणालीमा कोही अनाधिकृतमा रूपमा प्रवेश गरेको कुनै प्रमाण आफूसँग नभएको’ बताएको छ । गतवर्ष पनि हयाकरहरूको समूहले स्विफ्ट प्रणालीलाई हयाक गरी बंगलादेशको केन्द्रीय बैंकबाट ८ करोड १० लाख डलर चोर्न सफल भएका थिए । स्विफ्ट सञ्जालमार्फत् विश्वभरका बैंकहरूले विश्वभर आर्थिक गतिविधि सञ्चालन गर्छन् । केही साना बैंकहरूले आफ्नो कारोबार सञ्चालन गर्न सर्भिस ब्युरो प्रयोग गर्छन् । संयुक्त अरब इमिरेट्सको साइबर सुरक्षा कम्पनी कोमे टेक्नोलजीका म्याट सुसीका अनुसार सर्भिस ब्युरो हयाक गर्नुको अर्थ त्यो बैंकका सबै ग्राहकको विवरणमा पहुँच पुर्‍याउनु हो ।

साइबर सुरक्षा अनुसन्धानकर्ता क्रिस थोमसले ‘हयाक गरिएका फाइलको विश्लेषणबाट अमेरिकी सरकार आतंकवादी समूहका आर्थिक कारोबारलाई अनुगमन गर्न सक्षम भएको देखिएको’ बताए ।

 

प्रकाशित: वैशाख ३, २०७४ ,एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस्