Logo

पूर्व सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं, १ बैशाख । सर्वोच्च अदालतले अदालतले माओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न आदेश दिएको छ । यसअघि अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायको फैसला सुनाइएका ढुंगेल प्रहरीको फरार सूचीमा छन् ।

ढुंगेलले न्यायालयलाई नै चुनौति दिने गरी अभिब्यक्ति दिएको भन्दै परेको मुद्दाको विहीबार सुनुवाई गर्दै सर्वोच्चले सात दिनभित्र पक्राउ गरी कारागार पठाउन आदेश दिएको हो । न्यायाधीश आनन्दमोहन श्रेष्ठको एकल इजालशले विहीबार यस्तो आदेश दिएको हो ।

‘ढुंगेललाई ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई यस अदालतमा प्रतिवेदन पेश गर्नू’ भनी नेपाल प्रहरीका महानिरीक्षकका नाममा आदेश जारी गरिएको छ ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेललाई सर्वोच्चले १९ पुस २०६६ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तत्कालिन जनयुद्धकालमा भएको घटनालाई अदालती प्रक्रियामा लैजान नहुने माओवादी आन्दोलनरत पक्षको माग छ ।

एक महिनाअघि ढुंगेलले रामेछापमा भएको एक कार्यक्रममा आफूले अदालतको आदेश नमान्ने, फैसला सुनाउने तत्कालिन न्यायाधीस कल्याण श्रेष्ठमाथि नै कारबाह गर्नुपर्ने भावको अभिब्यक्ति दिएको भन्दै अदालतमा मुद्दा परेको थियो ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्