Logo

मृगौला बिरामीलाई खुशीको खबर :बार्षिक एक अर्ब जोगिदै

   पुरुषोत्तम घिमिरे, स्वास्थ्य पत्रकार  

  जनस्वास्थ्य सरोकार राष्ट्रिय मासिक

वर्तमान स्वास्थ्यमन्त्री गगनकुमार थापाले यही वैशाख महिनादेखि सबै मिर्गौला फेल भएका बिरामीहरुको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने ऐतिहासिक निर्णय गरे । अब यही महिनादेखि निःशुल्क  मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रत्यारोपणपछि खानुपर्ने औषधि निःशुल्क वा न्यून शुल्कमा उपलब्ध गराउने पहल भइरहेको छ । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क र त्यसपछि सेवन गर्नुपर्ने औषधिमा  सहुलियत दिने भएपछि मिर्गौला उपचारको पर्खाइमा बसेका बिरामी, बिरामीका परिवार र उपचारमा संलग्न चिकित्साकर्मीका लागि सुखद समाचार हो । 

                भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका वरिष्ठ प्रत्यारोपणविद् एवं निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ भन्नुहुन्छ,‘वैशाखबाट मिर्गौला प्रत्यारोपण निःशुल्क हुन्छ । यसका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं ।अब मिर्गौला फेल भएका बिरामीले आर्थिक अभावका कारण प्रत्यारोपण गर्नबाट बञ्चित हुनुपर्दैन । मिर्गौला प्रत्यारोपण पछि सेवन गर्नुपर्ने औषधि निःशुल्क दिने सवालमा सरकार गम्भिरताका साथ लागेको छ । विदेशी औषधि कम्पनिसँग मिलेर नेपालजस्तो मुलुकलाई सकेसम्म कम मूल्यमा औषधि उपलब्ध गराउने योजना बनिरहेको छ । यसमा स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक भूमिका खेलिरहेको उहाँको भनाइ छ । डा. श्रेष्ठ भन्नुहुन्छ,मस्तिष्क मृत्यूबाट हुने प्रत्यारोपणलाई नेपाल पूर्ण तयार छ । जनचेतनाको अभावका कारण मस्तिष्क मृत्यू भएका व्यक्तिको अंगदान गर्न धेरै व्यक्ति हिच्किचाइरहेका छन् ।

                    अहिले मानव अंग प्रत्यारोपण केन्द्रमा ४५ वटा मेसिनबाट दैनिक १ सय २०  जनाको डायलाईसिस हुने गर्छ । गत वर्ष १ सयको मिर्गौला प्रत्यारोपण भएकोमा यस वर्ष एक सय ५० जनाको मिर्गौला प्रत्यारोपण, महिनाको २ जनाको दरले वर्षमा २४ जनाको कलेजो प्रत्यारोपण गर्ने लक्ष्य छ । यसले बार्षिक विदेशीने करिब १ अर्व रुपियाँ सम्म जोगिने अनुमान छ । साथै मुटुको ओपन हार्ट सर्जरीलाई नियमित गरिँदै छ भने चाँडै  क्याथल्याब सेवा सञ्चालनमा आउँदैछ ।

               स्वास्थ्य मन्त्री गगनकुमार थापा, पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल लगायत करिब २५ सयले मृत्यू पश्चात् मिर्गौला दानको सहमति जनाइसकेका छन् । कुनै व्यक्तिको मृत्यूपछि परिवारले सहमति दिएमा मिर्गौला संकलन गर्न मानव अंग प्रत्यारोपण केन्द्र सम्पूर्ण प्राविधिक रुपमा सक्षम डा. श्रेष्ठले जानकारी दिनुभयो । यसबाट मिर्गौला प्रत्यारोपणका लागि विदेशीने ठूलो धनराशी रोक्न मद्धत पुग्छ ।  डायलाईसिस गर्नेहरुबाट सरकारलाई परेको आर्थिक भार मिर्गौला प्रत्यारोपणपछि उत्पादनशील र उपयोगी नागरिकमा परिणत हुन्छ । डायलाईसिस खाली हुँदै जाने र अरु समस्याग्रस्त व्यक्तिले सेवाको अवसर पाउँछन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले देशको आर्थिक समृद्धि बनाउनसमेत मद्धत गर्छन् । स्वयं व्यक्तिले सुखी र स्वस्थ्य जीवनयापन गर्न सक्छ ।

                प्रत्यारोपण गर्न अंङ्गदाताको आवश्यकता पर्दछ । नेपालको नयाँ प्रत्यारोपण कानुनमा स्वस्थ व्यक्तिको हकमा नजिकको नातेदारले मात्रै मिर्गौला दान गर्न सक्दछन जस्तै,आमा–बुबा, दाजु–भाई, दिदि–बहिनी, छोरा–छोरी, काका, भतिजा–भतिजी बाजे–बज्यै नाती–नातिनी, दुई बर्ष देखि अटुट सम्बन्ध रही सँगै बसेका श्रीमान–श्रीमती, सासु ससुरा, धर्म पुत्र–पुत्री तथा सौतेनी बाबु, सौतेनी आमा, सालासाली, ज्वाईं जेठान, देवर, भाउजु, नन्द, भान्जा भान्जी, मामा, माइजु, फूपु, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, । तर धर्मपुत्र, धर्मपुत्री राख्ने बाबुआमा र बैवाहिक सम्बन्धबाट कायम भएको नातासम्बन्धको हकमा कम्तिमा २ वर्षदेखि अटुट रुपमा नातासम्बन्ध कायम रही आएको हुनुपर्नेछ ।

                कुनै पनि मिर्गौला फेल भएको व्यक्तिका आफन्तको मिर्गौला म्याच नभएमा अर्को परिवारसँग साटासाट गर्ने व्यवस्था भएको डा. पुकारको भनाइ छ । उहाँ भन्नुहुन्छ,हामीले ७—८ जनामा दुईवटा परिवारको मिर्गौला साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरिसकेका छौं ।’

                          स्वर सम्राट नारायगोपाल, युगकवि सिद्धिचरण श्रेष्ठ, नेतृ मंगलादेवी सिंह, युवा कलाकार मोहन खड्का, लोकप्रीय गायक लालबहादुर खाति, इतिहासकार धन बज्र बज्राचार्य, सरदार भिमबहादुर पाण्डे, प्रधानाध्यापक गोबिन्द लाल मानन्धर, पूर्व मन्त्री रुद्र प्रसाद गिरी, नारायण सिंह पुन, मनकामना केवुल कारका मालिक लक्ष्मणबाबु श्रेष्ठ,पूर्व प्रधानसेनापति सिंहबहादुर बस्नेतलगायतका प्रतिष्ठित व्यक्तिहरुको मिर्गौला रोगका कारण ज्यान गयो । पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर बाँचिरहेका छन् । 

          शरीरको दायाँबायाँ १२ वटा करंगको मुनि भर्टिकल कोलोमको छेउमा लगभग १० सेन्टिमिटरका सिमी आकारका २ वटा मिर्गौला रहेका हुन्छन् ।  शरीरको सम्पूर्ण अंगहरुको दाँजोमा सबैभन्दा धेरै रक्तसञ्चार मिर्गौलाले गर्छ । यसले २४ घण्टामा १ सय ८० लिटर रगत छान्ने (फिल्टर) काम गर्छ । यसमध्ये २ लिटर मात्र पिसाब बन्छ र १ सय ७८ लिटर रगत शरीरले सोसेर लिन्छ । मिर्गौलाले हरेक सेकेण्ड र मिलिसेकेन्डमा रगत छानिरहेको हुन्छ ।

शरीरका हानिकारक रासायनिक पदार्थ फाल्ने

                 शरीरलाई हानी गर्ने पदार्थ फाली रगतलाई सफा राख्नु मिर्गौलाको महत्वपूर्ण कार्य हो । प्रोटिनलाई शरीरले उपयोग गर्दा यसले शरीरका लागि हानिकारक पदार्थ उत्पादन गर्छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषीकुमार काफ्ले भन्छन्,‘यी पदार्थको शरीरमा जम्मा गरी राख्नु भनेको शरीरभित्र विष राख्नु जस्तै हो ।’ त्यसैले मिर्गौलाले रगत र विषालु पदार्थ छान्छ र पिषालु पदार्थलाई पिसाबबाट फालिन्छ । क्रिएटिनिन र युरिया शरीरका लागि हानिकारक पदार्थ हुन् । दुइवटै मिर्गौलाले कम काम गर्ने थालेमा वा काम गर्न छाडेमा रगत परीक्षणमा क्रिएटिनिन र युरियाको मात्रा बढ्न थाल्छ ।

शरीरमा बढी भएको तरल पदार्थ फाल्ने

  शरीरका लागि आवश्यक पर्ने पानी सञ्चय गर्ने र बढी भएको पानी पिसाबका रुपमा बाहिर फाली शरीरमा तरल पदार्थको सन्तुलन नियमित बनाउने मिर्गौलाको दोस्रो महत्वपूर्ण काम हो । डा. काफ्लेका अनुसार, मिर्गौलाले काम गर्न छाडेमा शरीरमा बढी भएको पानी बाहिर फाल्ने क्षमता गुमाउँदै जान्छ र शरीरमा बढी भएको पानीबाट शरीर सुन्निन थाल्छ ।

खनिज र रसायनको सन्तुलन

                  मिर्गौलाले खनिज र सोडियम, पोटासियम, हाइड्रोजन, क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र बाइकार्बोनेट जस्ता रसायनहरूलाई नियमित बनाउँछ र शरीरको तरलको सामान्य संरचनालाई कायम गर्ने अर्को महत्वपूर्ण भूमिका निर्वाह गर्छ । सोडियमको मात्रामा आउने परिवर्तनले मानसिक अवस्थामा प्रभाव ल्याउँछ भने पोटासियमको मात्रामा आउने परिवर्तनले मुटुको सामान्य सञ्चालन एवं मांसपेशीको कार्यमा गम्भीर नकारात्मक परिवर्तन ल्याउँछ । स्वस्थ हड्डी र दाँतका लागि क्याल्सियम र फोस्फोरसको सामान्य स्तरमा कायम राख्नु अत्यावश्यक हुने डा. काफ्लेको भनाइ छ ।

रक्तचापको नियन्त्रण

                मिर्गौलाले विभिन्न प्रकारका हर्मोनहरू उत्पादन गर्ने भएकाले रक्तचापलाई सही रुपमा नियन्त्रण राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । निदान अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालका अनुसार मिर्गौलाले काम नगर्ने समस्या भएका बिरामीहरूमा हर्मोन उत्पादन तथा नुन र पानीको नियमनमा आउने बाधा अड्चनले उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ ।

रातो रक्तकोषको उत्पादन

                एरिथ्रोपोएटिन मिर्गौलामा उत्पादन हुने अर्को हर्मोन हो जसले रातो रक्तकोषको उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । डा. बराल भन्छन्—‘मिर्गौलाले काम गर्न बन्द या कम हुँदा एरिथ्रोपोएटिनको उत्पादन घट्छ र यसले रातो रक्तकोषको उत्पादनमा पनि कमी ल्याई रक्तअल्पताको समस्या उत्पन्न गराउँछ ।’ यही कारणले गर्दा फलाम र भिटामिन तयार पार्ने कुराहरू खान दिँदा पनि मिर्गौलाले काम गर्न छोडेका या काम कम गरेको अवस्थामा बिरामीको हेमोग्लोबिन (रगत) को मात्रामा कमी आउँछ ।

स्वस्थ हाड कायम राख्ने

                 मिर्गौलाले भिटामिन ‘डी’ को सक्रिय स्वरुपमा परिवर्तन गर्छ जुन कुरा खाद्यान्नबाट क्याल्सियम सोस्न, हाड र दाँतको बृद्धि गर्न तथा हाडलाई बलियो र स्वस्थ राख्न अत्यावश्यक हुन्छ । मिर्गौलाले काम गर्न छोड्दा या कम काम गर्दा सक्रिय भिटामिन ‘डी’को कमीले हाडको बृद्धिमा कमी ल्याउने र हाड कमजोर पनि हुने डा. बराल बताउँछन् । बालबालिकामा हाड नबढ्ने वा कम बढ्ने समस्या मिर्गौलाले काम नगरेको संकेत पनि हुनसक्छ ।

शरीरमा अम्लपनको मात्रा सन्तुलन

                शरीरमा अम्लपनको मात्रा सन्तुलन गर्न मिर्गौलाको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । हाम्रो शरीरमा अम्लपनको मात्रा बढी भएमा शरीरका महत्वपूर्ण अङ्ग जस्तैः मुटु, मस्तिष्कमा नराम्रो असर पर्ने चिकित्सकहरुको भनाइ छ ।

          मिर्गौला रोगको उपचार सेवामा समर्पित सिनियर डाक्टर पुष्कर राज सत्यालको नेतृत्वमा बि.सं.२०३९ सालमा नेपालमा पहिलोपटक वीर अस्पतालमा मिर्गौला रोगको बहिरङ्ग सेवा शुरु भयो । त्यसैले डा. सत्याललाई फादर अफ नेफ्रोलोजी भन्ने गरिन्छ । बि.सं. २०४५ सालको दशैंताका हेमोडायलाइसिस सेवा शुरु भयो । छिमेकी राष्ट्र भारत सरकारले वीर अस्पताल ओपिडी भवन निर्माणपछि हस्तान्तरण गरेको समयमा प्रदान गरेका उपकरणहरुबाट सेवा सुरु गरिएको थियो । त्यसपछि बि.सं. २०४६ सालदेखि वीरमा मिर्गौला उपचारको विशेषज्ञ युनिट सञ्चालनमा आएको पाइन्छ

          त्यो बेला कसैकसैले पेटमा विशेष पानीको माध्यमबाट गरिने क्याप्ड (सिएपिडी) डायलाईसिस सेवा सञ्चालन गरेको पाइन्छ । तत्कालीन शाही औषधि लिमिटेडले बनाएको पीडी फ्ल्यूडको प्रयोगबाट धेरै बिरामीको ज्यान जोगिएको थियो । नेपालको जेठो वीर अस्पतालबाट शुरु गरिएको डायलाईसिस सेवा क्रमशः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीरेन्द्र सैनिक अस्पतालमा विस्तार हुँदै गयो ।

          त्यसपछि हेल्थ केयर फाउण्डेशन नेपाल गै¥ह« सरकारी संस्थाले सञ्चालनमा ल्याएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायालिसिस सेवा शुरु ग¥यो । यहाँबाट  नेपाल सरकारले बि.सं. २०६५—६६ बाट जेष्ठ नागरिक र लोपोन्मुख जाति र २०६६/६७ देखि हेपाटाइटिस बी, सी तथा एचआईभी पीडितहरुलाई दिइएको निःशुल्क डायलाईसिस सेवाले विशेष महत्व राख्छ ।  

          त्यसपछि क्रमिक रुपमा जन आन्दोलनबाट स्थापित सरकारले विपन्न नागरिकका लागि ५० हजार रुपियाँको सीमाभित्र निःशुल्क डायलाईसिस सेवा शुरु गर्यो । त्यसको केही समयपछि सहुलियत रकम बढाएर एक लाख रुपियाँ पुर्याईयो । त्यसको केही समयपछि सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई तोकिएको सरकारी अस्पतालहरुबाट एक वर्षसम्म हप्तामा दुईपटक निःशुल्क डायलाईसिस सेवा दिने निर्णय गर्यो । यसका साथै तत्कालीन मूख्य सचिव लिलामणी पौडेल, स्वास्थ्य सचिव डा. प्रविण मिश्र, विशेषज्ञ चिकित्सक डा. तिर्थराज बुर्लाकोटीको पहलमा तोकिएका सरकारी, गैर सरकारी, निजी सबै स्वास्थ्य निकायले डायलाईसिस सेवा दिन पाउने ऐतिहासिक निर्णय भयो ।

          एक वर्षसम्म डायालिसिस निःशुल्क पाएपछि मिर्गौला फेल भएका बिरामी र उनीहरुका आफन्तले गरेको आन्दोलनका कारण दुई वर्षसम्म निशुल्क डायालिसिस सेवा दिने म्याद बढाइयो । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली सरकारले मिगौला फेल भएका सबै नेपालीलाई आजिवन निःशुल्क डायलाईसिस  सेवा दिने निर्णय गर्यो । ओली मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति पनि हुन् ।

          वर्तमान स्वास्थमन्त्री गगनकुमार थापाले यही वैशाख महिनादेखि सबै मिर्गौला फेल भएका बिरामीहरुको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने ऐतिहासिक निर्णय गरे । अब यही महिनादेखि निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रत्यारोपणपछि खानुपर्ने औषधि निःशुल्क वा न्यून शुल्कमा उपलब्ध गराउने पहल भइरहेको छ । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क र त्यसपछि सेवन गर्नुपर्ने औषधिमा  सहुलियत दिने भएपछि पर्खाइमा बसेका बिरामी, बिरामीका परिवार र उपचारमा संलग्न चिकित्साकर्मीका लागि सुखद समाचार हो ।  यसअघि हप्तामा ३ पटक डायालिसिस सेवा निःशुल्क,  प्रत्यारोपण गर्न २ लाख रुपियाँ सहुलियत र प्रत्यारोपणपश्चात् खाने औषधिका लागि १ लाख रुपियाँ दिने निर्णय गरेको थियो । यसबाट विपन्न नागरिकले डायलाईसिस सेवा निःशुल्क पाएपनि प्रत्यारोपण र त्यसपछिको औषधि खर्च आफैले जुटाउनुपर्ने बाध्यता थियो । 

          

रोकथामका कुरा

          बढ्दो उच्चरक्तचाप, मधुमेह, अत्यधिक मोटोपना,  अस्वस्थकर खानपान र जीवनशैली, शारीरिक व्यायामको अभाव आदिका कारण मिर्गौलाका बिरामी बढिरहेका छन् । दुःखाई कम गर्ने औषधिको अनियन्त्रित सेवन, कडा औषधिको अत्यधिक प्रयोग आदि रोग बढाउने कारक तत्व मानिन्छ ।

          सरकारको एकिन तथ्यांक नभएपनि लगभग ३ करोड नेपाली जनतामध्ये ३० लाखमा  कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुनेसक्ने अनुमान छ । यसमध्ये १० प्रतिशतको मिर्गौला बिग्रन थालेको,  १० प्रतिशतको धेरै मिर्गौला बिग्रेको,  डायलाईसिस सेवा नपाए १० प्रतिशत मर्ने अवस्थाका बिरामी छन् । डायलाईसिस वा प्रत्यारोपण सेवाको आवश्यकता पर्ने बिरामीको संख्यामा कमी ल्याउन मिर्गौला रोग लाग्न नदिन जनचेतना व्यापक गराउन जरुरी भएको डा. काफ्ले बताउनुहुन्छ ।  अन्यथा सरकारले मिर्गौलाको पूर्ण उपचार निःशुल्क गर्न सक्ने देखिँदैन । त्यसैले प्रत्येक नागरिकले बेलाबेलामा मिर्गौला जाँच गर्नुपर्छ ।

मिर्गौला स्वस्थ्य राख्ने टिप्स

1.मिर्गौला  स्वास्थ राख्न प्रत्येक व्यक्तिले दैनिक २/३ लिटर पिसाब हुने किसिमले पानी पिउने

2.स्वस्थ रहन दैनिक न्यूनतम १० हजार पाइला हिड्ने सल्लाह अमेरिकन हार्ट एशोसियसनले दिएको छ ।   

            मिर्गौला स्वस्थ्य राख्न यो हिँडाईलाई निरन्तरता दिने ।

3.योग, व्यायाम, खेलकूदले मिर्गौला स्वस्थ राख्न मद्धत गर्छ । चुरोट, खैनी, सूर्ति सेवनले क्यान्सर मात्र नभई

            मिर्गौला रोग लाग्न र बढाउन मद्दत गर्छ । त्यसैले धुम्रपान नगर्ने

4.फास्टफूड र प्याकेट फूड, रातो मासु नखाने ।

5.मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्ने ।

6.पेन किलर औषधि आफूखुशी नखाने ।

7.वर्षमा एकपटक मिर्गौलाको अवस्था पहिचान गर्न रगतमा क्रियाटिनिन र पिसाबमा अल्बुमिन (प्रोटिन) जाँच्ने आदि । 

 

प्रतिक्रिया दिनुहोस्