Logo

गैर आवासीय नेपाली सङ्घद्दारा निर्वाचित नयाँ कार्य समितिको बैठक काभ्रेको धुलिखेलमा सम्पन्न

दिपेन ढकाल ,दस्तावेज संवाददाता,मंसिर २ गते शनिबार २०७४-गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलनबाट निर्वाचित नयाँ कार्य समितिले आफ्नो पहिलो बैठक विभिन्न कार्ययोजना तयार गर्दै सम्पन्न गरेको छ । काभ्रेको धुलिखेलमा १५ नोभेम्बर १७ सम्म बैठक आयोजना गरिएको थियो ।

बैठकमा गैर आवासीय  नेपाली सङ्घका पूर्व अध्यक्ष संस्थापकहरु तथा केन्द्रीय पदाधिकारीरुको बाक्लो सहभागिता रहेको थियो । निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सत्र बुँदै विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा तीन दिनसम्म बैठकले चलेको थियो ।

गैर आवासीय नेपाली सङ्घका प्रवक्ता भुषण घिमिरेका अनुसार सङ्घको नयाँ कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरूको समीक्षा, संस्थागत लगायतका अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै निर्णय गरेको हो । आगामी दुई वर्षभित्र गर्नुपर्ने कार्यहरूको योजना तर्जुमा गर्न सो बैठक गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

बैठकले विशेष गरी एनआरएनएले बनाउनको लागेको लाप्राक नमुना बस्ती र आफनै भवनलाई विशेष प्राथमिकता दिने निर्णय गरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।

बैठकले पारित गरेका निर्णयहरू :

१. भूकम्प पीडितका लागि गोर्खा जिल्लाको लाप्राकमा ४२ करोडको लगानीमा निर्माण भइरहेको ५७३ घर सहितको लाप्राक नमुना बस्ती यथाशिघ्र सम्पन्न गर्नका लागि सङ्घका अध्यक्षको नेतृत्वमा एक समितिको गठन बैठकले गरेको छ । निर्माण सम्पन्न गर्न मौसमी कठिनाइ, स्थानीयवासीको प्रयात्प सहयोग र कामदारको उपलब्धता प्रमुख चुनौती रहेकोले पहिले तय गरिएको समय सीमा भित्र सम्पन्न गर्न कठिनाइ भइरहेको छ ।

२. सङ्घको कार्यालय भवनको पहिलो चरणको कार्य आगामी वैशाखसम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनको लागि जग्गा सहित करिब २५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । उक्त भवनको दोस्रो चरणको निर्माण कार्यलाई पनि निरन्तरता दिइने छ । यसका लागि स्रोत जुटाउनु पर्ने अवस्था छ ।

३. अधिकार सम्पन्न वागमति सफाइ परियोजना अन्तरगत शंखमुलमा निर्माण भइरहेको एनआरएन पार्क आगामी वैशाखसम्म सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको छ ।

नेपालमा अहिले करिब २०० मेघावाट विध्युतको अभावले लोड सेडिङ कायम रहेको तथ्याङ्कले देखाएको छ । यसलाई हटाउन तुरुन्तै विद्युत् उत्पादन बढाउन सकिने अवस्था नभएकाले विध्युतको खपत घटाएर २०० मेघावाट भन्दा बढी उत्पादन बचत गर्न सकेमा राष्ट्रका लागि योगदान हुन सक्छ भन्ने सङ्घको मान्यता छ । यसका लागि एलइडी बल्बको प्रयोगका लागि अभियान सञ्चालन गरेमा छिटै नेपाललाई लोडसेडिङ मुक्त गर्न सकिन्छ । गैर आवासीय नेपाली सङ्घले यस सम्बन्धमा सम्भाव्यता अध्ययन गरी आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ

४. सङ्घका अगुवाहरुको नेतृत्वमा नेपालको पूर्वाधार विकासमा उल्लेख्य लगानीको एउटा इन्भेष्टमेन्ट कम्पनी खडा गर्ने निर्णय गरिएको छ । यस बारेमा एक महिनाभित्र विस्तृत अध्ययन गरी कार्यक्रम अघि बढाइने छ ।

५. गैर आवासीय नेपालीहरूको मूल्याङ्कन मूलत उनीहरूले व्यक्तिगत, सामूहिक वा संस्थागत रूपमा गरिने लगानी र कल्याणकारी कार्यहरूबाट नै हुने हो भन्ने कुरामा हामी सचेत छौँ । गैर आवासीय नेपाली अभियानले यस्ता कामहरू गर्न सङ्घको सञ्जाल अत्यन्त प्रभावकारी भइरहेको छ भन्ने हाम्रा विगतका कामबाट प्रमाणित भैसकेको छ । तसर्थ अव गैर आवासीय नेपालीहरूले विगतमा भन्दा पनि बढी व्यक्तिगत र सामूहिक रूपमा लगानी गर्न सङ्घले अभिप्रेरित गर्ने छ । गैर आवासीय नेपालीहरूको लगानीमा बैङ्क, लघु वित्त र सहकारीमा लगानी गरिने छ । नेपालमा लगानी बढाउन र विदेशमा नेपालीहरूको लगानीलाई सुरक्षित र अझै बढी नाफामुलक बनाउन आवश्यक देशहरुसँग बिप्पा सम्झौता, आर्थिक साझेदारी सम्झौता र दोहोरो कर मुक्ति सम्झौता गराउन सरकारसँग मिलेर काम गरिने छ ।

६.वैदेशिक रोजगारीमा जाने समूहलाई लक्षित गरी जनचेतनामुलक सामग्री प्रकाशन गर्ने र वैदेशिक रोजगारीका समस्या, समाधानका लागि गर्नु पर्ने कामहरू र सम्भावनाका विषयमा विस्तृत अध्ययन गरी एउटा स्वेतपत्र तयार गरिने भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषलाई रु ५ करोड पुर्‍याइ त्यसको नियमावली तयार गरी सञ्चालनमा ल्याइने छ । वैदेशिक रोजगारमा गएकाहरुका लागि संचयकोष स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने निर्णय भएको छ ।

७. नेपाली नागरिकता सहितका गैर आवासीय तथा नेपाली मूलका विदेशी नेपालीहरूको नागरिकताको निरन्तरताका लागि नीतिगत तहमा विशेष पहल गरिने छ ।

८. नेपालको संविधानको धारा २९१ ले स्थायी बसोबास अनुमति पाएका नेपाली नागरिकहरूले नेपालमा कुनै पनि पदमा नियुक्ति, मनोनीत र निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले गैर आवासीय नेपालीहरूको नैसर्गिक अधिकार हनन भएको तथा गैर आवासीय नेपालीलाई विदेशी नागरिकता लिन प्रोत्साहित गरेकोले उक्त धारा खारेज गर्न राजनीतिक दलहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

९. संविधानको धारा १४ ले राजनीतिक बाहेक सबै अधिकार आम नेपाली सरह उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था भैसकेको छ । संविधानको उक्त व्यवस्था ऐनमा सुनिश्चित गर्न अनुरोध गरिन्छ ।

१०. विश्वव्यापी मान्यता अनुसार १८३ दिन भन्दा बढी दक्षिण एसियाली मुलुक बाहेकका राष्ट्रमा बसोबास गर्ने विद्यार्थी लगायतका गैर आवासीय नेपालीहरूलाई एनआरएनको परिभाषामा समावेश गरी गैर आवासीय नेपाली ऐनमा परिवर्तन गर्न पहल गर्ने निर्णय गरियो ।

११. गैर आवासीय नेपालीहरूले सिकेको ज्ञान, सीप र नव प्रवर्धनलाई नेपालको विकासमा सदुपयोग गर्न सङ्घले सञ्चालन गर्दै आएका निम्नकार्यहरु एउटै छाता भित्र सञ्चालनमा ल्याउनका लागि एनआरएनए एकेडेमीको स्थापना गर्ने निर्णय गरियो ।

एनआरएनए साइन्स फाउन्डेशन ट्रष्ट

यात्रु सुरक्षा तथा सडक व्यवस्थापन कार्यक्रम

ब्लड ट्रान्सफ्युजन टेक्नोलोजी ट्रान्सफर कार्यक्रम

हेल्थ र हाइजिनमा टेक्नोलोजी ट्रान्सफर कार्यक्रम

नेपाल लाइब्रेरी परियोजनाको निरन्तरता

पोलिसी एकेडेमी सञ्चालन

खुला विश्वविध्यालय

उध्यमशिलता तालिम कार्यक्रम

प्रतिक्रिया दिनुहोस्