Logo

आयो बडा दशैं

प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरु हुन । नबरात्रीको अन्तिम दिन घटस्थापनाको दिन आव्हाहन गरेर पूजा गरिएको मूर्तिलाइ बिसर्जन गरी दशमीका दिन पूजा आराधना गरी टिकाको सही साइतमा घरका सम्पूर्ण सदस्य जम्मा भई मर्यादाक्रमसँगै रातो टिका जमरा सहित टिका ग्रहण गर्ने र गराउने प्रक्रिया सुरु हुन्छ दहीमा चामल र रातो अबिरले रङ्गाएको टिका र घामले नभेट्टाएको ठाउँमा उमारेको ९ दिन सम्मको गहूँ र जौको उम्रदै गरेको जमरा आफ्ना मान्यजनले धारण गरिदिदै आर्शीबाद दिँदा पक्कै दशै आएको भान हुन्छ ।

      – दिपेन्द्र ढकाल

हरेक बर्षझै नेपालीजनमा दशैंको लहर छाएको छ । मौसम परिवर्तनसँगै हरेक वर्ष आउने दशैं मनोरम प्राकृतिक एवं आनन्दप्रद क्षण हो । दशैं नेपालका अधिकांश जनताले मनाउछन । कतिले उत्साह सँगै मनाउदै होलान् कतिले दुखले भरिएको आफ्नो जीवनमा जहाँ साँझ बिहानको जोहोको लागि पनि हरेक पसिनासँग कुस्ति खेल्न परिराखेका लागि पनि यो दशैंले बाटो तताएको हुन्छ । जस्तोसुकै होस चाहे त्यो गरिब बा धनी होस सबैको मनले स्वीकारेको छ यो दशैंलाइ ।

ऋृतुहरुको राजा वसन्त पछिको राम्रो समय शरद ऋृतुको वातावरण मनोरम छ । धानका बाला जताजतै झुल्दैछन् । घर घरमा भएका बुटीहरु मौलाएका छन् ,सबैमा  छुट्टै उमङ्ग छाएकोछ ,कामका लागि शहर पसेका गाउँ फर्कदैछन्  । वर्षभरि जिन्दगीलाई सफल बनाउन जुटेका ती मनहरू मनमा नयाँ जोस र जाँगरका साथ दशैं मनाउने ठुलो उमङ्ग सँगै गाँउको त्यो सुमधुर यादलाई फेरी ताजा बनाउँदै घर परिवार आफन्तहरु सँग भेटहुने आशाले आएको दशैंलाइ स्वागत गरीरहेका  छन् ।

कतिपयका घरमा लोर्के खसि सँगै दशैको शुभकामना साट्ने तयारी पनि भइरहेको छ होला  । साना साना नानीहरू आफ्ना बाबा आमालाई यो दशैंमा नयाँ नाना चाचाको लागि रोइ कराइ राखेका छन् । कस्तो मिठो हुन्छ त्यो बालापन जतिखेर चाचा नानाको लागि धक मारेर रोइन्छ त्यो रुवाईलाई सहन नसकेर आमाले काखमा राखेर बाबु नरोउ ल मेरो कान्छुलाइ नयाँ चाचा किन्दीन्छु नि कसले भन्यो किन्दीन्न भनेर ? आमाका यति शब्द सुनिसकेपछि टाउको माथि गरेर आमालाई हेर्दै हि हि हि……. गर्दाको त्यो क्षणको उमंग शायद भोग्नेलाइ मात्र थाहा होला । कति न्यानो अँगालो हुन्छ आमाको कति मायाँ भरिएको हुन्छ त्यो ममतामा ।

घटस्थापनाको दिन दशैं घरमा जमरा र दुर्गामाताको आव्हाहन गरी गहूँ र जौलाइ त्यही सूर्यको किरण नपर्ने ठाउँमा केरा अथवा टपरीमा माटो राखेर छिटीसकेपछि बिधिबत रूपमा भित्रिन्छ हिन्दुहरुमा दशैं । जहाँ जस्तो चलन छ त्यसै अनुरुप प्रत्येक दिन दुर्गा पाठ हुन्छ । दक्षिणतीरका मधेसी हिन्दुले यो नौ दिनलाई नबरात्रको रूपमा आफ्नै रिती अनुसार चोक अथवा दुर्गाको मन्दिरमा ठुलो मूर्ती स्थापना गरी नौ दिन सम्म बिधिबत पूजा आराधना गरी मनाउने गर्दछन्  । नवरात्रको अन्तिम दिन आव्हाहन गरेर राखेको दुर्गाको मुर्तिलाइ बिसर्जन गरेर मनाउने गर्दछन् ।

 हामी मांसहारी धेरै छौ दशैमा मासु खानु पर्छ भन्ने मान्यता राख्ने र अबोध निरीह जनावरको आत्मामाथि प्रहार गरेर दशैं मनाउने गर्दछौ । दशैं मनाउनको लागि हामीले मासुनै खानुपर्छ भनेर त शास्त्रमा लेखेको छैन । हामी आफ्नो आवश्यकता अनुरूप समाजको रितीलाइ ढाल्ने प्रयास गर्छौ कति सही पनि हुन्छ कति गलत हामीलाई थाहा हुँदैन । दशै हाम्रो संस्कार र आफ्नै महत्व बोकेको संस्कृति पनि हो ।

दशैं नेपाली हिन्दुहरूको सबैभन्दा ठुलो पर्व हो । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ”विजया दशमी” का नामले पनि चिनिन्छ । हिन्दु चन्द्र मासिक पञ्चाङग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत ) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ । यो तिथिमा माता दुर्गाले महिसासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।

 प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरु हुन । नबरात्रीको अन्तिम दिन घटस्थापनाको दिन आव्हाहन गरेर पूजा गरिएको मूर्तिलाइ बिसर्जन गरी दशमीका दिन पूजा आराधना गरी टिकाको सही साइतमा घरका सम्पूर्ण सदस्य जम्मा भई मर्यादाक्रमसँगै रातो टिका जमरा सहित टिका ग्रहण गर्ने र गराउने प्रक्रिया सुरु हुन्छ दहीमा चामल र रातो अबिरले रङ्गाएको टिका र घामले नभेट्टाएको ठाउँमा उमारेको ९ दिन सम्मको गहूँ र जौको उम्रदै गरेको जमरा आफ्ना मान्यजनले धारण गरिदिदै आर्शीबाद दिँदा पक्कै दशै आएको भान हुन्छ ।

 टिका पश्चात् घरम बनेका मिठा मिठा परिकार खानेर र त्यसपछि सबै आ आफ्ना आफन्तजनकहाँ जाने प्रक्रिया सुरु हुन्छ । त्यो दिन जता ततै मेला लाएको भान हुन्छ सबैका निधारमा रातो टिका कानमा पहेलो जमरा सायद यस्तो चलन कहीँ कतै छैन होला यो सन्सारमा । सबै आ-आफ्नै गन्तव्यमा जाने तरखरमा देखिन्छन् । टिका लगाइसके पछि जताततै रमाइलो वातावरण देखिन्छ । चोक चोकमा मनोरञ्जनको लागि ठाउँ अनुसारका पिङ लगाइएको हुन्छ । धेरै केटा केटी पिङ खेल्नका लागि लाइन लागेका हुन्छन् । 

 पिङमा हुच्चिदै चचहुइ चचहुइ …………..गर्दै रमाएको बसेर हेर्नेले चाडै पालो आएपछि कैले त्यो आनन्द  लिन पाइन्छ,कतिखेर पालो आउँछ भन्दै खुसीसाथ कुरेर बसिरहेका हुन्छन् भने कोही धेरैदिनमा एकै ठाउँमा भेटभएका साथीहरु एकआपसमा बर्षभरीका आफ्ना दुख सुखका तिता र मिठा अनुभव सुनाइ रहेका हुन्छन् । वर्षभरि शुन्य भएको गाँउघर यो एक महिना निकै रमाइलो लाग्छ त्यो शहर भन्दाकति फरक र अर्कै स्वादले ।

 छुट्टै पहिचान र आफ्नै महत्बका साथ भित्रिएको हाम्रो साझा पर्व सौहार्द्दपूर्ण वातावरणमा मनाउनु हाम्रो कर्तव्य हुन आउँछ । अरूको देखासिखी गर्नुभन्दा आफ्नो गच्छे अनुसार जे छ त्यसैमा खुसी भएर एकआपसमा माया र सद्भाव बाँड्दै भित्रीएको दशैंलाइ मनाउने हो भने दशैको महत्वपनि राम्रो सँग झल्किन्छ………

प्रकाशित मिति २०७४ साल आश्विन ६ गते शुक्रवार 

प्रतिक्रिया दिनुहोस्