Logo

तीज भौतिकवस्तु प्रदर्शन गर्ने चाड नबनोस्

“रक्सी चुरोट नपिउने दिदीबहिनीको लागि तीज कुनै पर्व होइन कि जस्तो हुन थालेको छ । रक्सी नपिउने दिदीबहिनी समय अनुसार चल्न नसकेको जस्तो भईरहेका छन् । श्रीमानसंग चित्त नबुझेको कुरामा वैचारिक बहस गरेर समाधान खोजिनुको सट्टा झन् उनैको पिउने कुराको सिको गरेर प्रतिष्पर्धा गर्नु कतिसम्म जायज हो ? यो तपाई हामीले नै समिक्षा गर्ने हो । छोराछोरीसंगै राखेर हामी पिउन, झुम्न थालेका छौं। यो कार्यले त्यो बालमष्तिष्कमा कस्तो प्रभाव पर्छ होला ?  त्यसतर्फ ध्यान पुर्याउन सकेका छैनौं । लैंगिक समानताको नाममा परिवारमा मतभेद नै आउने गरि समानता खोज्नु कतिसम्म तर्कसंगत हुन्छ  ? त्यसतर्फ हामी महिला दिदीबहिनी समयमा नै सजग हुनुपर्छ । “

        – मनु मल्ल ‘रानाभाट’

 वास्तवमा तीज माईती र विवाहित चेलीको सम्बन्धलाई निरन्तर कायम राख्न भगवान शिव पार्वतीको सम्बन्धसँग जोडिएको विशेषत: हिन्दु नारीहरुको एक ठूलो चाड हो । तीज धार्मिक दृष्टिकोण अनुसार नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व मनाउने गरिन्छ । पार्वतीले शिवजी भगवानलाई कसरी प्राप्त गरेकी थिईन भन्ने कुरा तपाईं हामी सबैलाई अवगत नै छ । मुख्य कुरा नेपाली हिन्दु महिलाहरुको धार्मिक महिमा बोकेको तीजले वर्तमान समयमा जुन सँस्कृति र संस्कार झल्काउनु पर्ने हो त्यो स्थितिबाट बिस्तारै बाहिरिदै गएको हो कि भन्ने भान पर्न गएको छ ।

     तीज पर्वको केहि कमि कमजोरी नभएको होईन तर ती कमजोर पक्षलाई सुधार गर्दै लैजान सकिन्छ । अहिले सचेत महिला दिदीबहिनीले उठाउदै आएको बहस ‘श्रीमानको लागि महिलाले किन निरहार  ब्रत बस्ने ? किन खुट्टा ढोग्ने ?  जस्ता विषयहरुमा श्रीमतीको ईच्छा अनुसार चल्न सकिन्छ । श्रीमानको बानी व्यवहार कस्तो छ त्यसमा भर पर्नसक्छ । वर्त बस्दैमा श्रीमानको आयु लम्बिन्छ भन्ने कुरामा कुनै तथ्य छैन । तर यहि धार्मिक संस्कृतिको माध्यमबाट लोग्ने स्वास्नीको सम्वन्धमा झन निखारता आओस् र भावनात्मक सम्वन्ध अझै बलियो बन्न सकोस् भन्ने हो । 

 “हामीले हाम्रा कला,संस्कृति, मान्यताहरु हाम्रो समाज र समय अनुसार परिवर्तन त गर्नुपर्छ तर विकृति उन्मुख हुनुहुँदैन। शुरुका दिनमा पार्वतीको त्याग, तपस्या र संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर त्यसको ज्ञान र महत्वलाई बिर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक र भड्किलो रुपमा मनाउन थालिएको छ ।”

       पछिल्लो समय तीज अलि भड्किलो बन्दै गइरहेको छ। एक महिना अगाडिदेखि तीज मनाउन शुरु गर्ने र गहना, कपडा प्रदर्शन गर्ने चलन बढदै गएको छ । तीज आयो कि कतिपय दिदीबहिनीहरु नयाँ र  महंगा  साडी, लेहेंगा, लगाएर गरगहनाले पुरिएर जाने गर्दछन् , गरगहना छैन भनेर खुशी हुनुको सट्टा चिन्तित हुन थाल्छन् ।  एक जना दिदीलाई यसपटकको तीजमा रमाईलो गरौं है  ? भनेकी, ‘म त जान्न बहिनी भन्नु भो । किन रहेछ भनेर अलि चासो लिएर बुझ्दा उनले भनिन ‘अरुसँग कति माग्नु ? आफूसँग सस्तो कपडा मात्र छ । गहनापनि अहिले आएको नयाँ फेशन अनुसारको छैन,उनको साथीहरुले सबै व्यवस्था गरिसके , म उनीहरुको अगाडि कमजोर र हैसियत नभएको हुनेछु । मेरो श्रीमानको पनि ईज्यत जान्छ । बरु कुनै बाहाना बनाएर जाँदै नगए टन्टै खलास भन्नु भो।’ कुरा गर्दा जोशिएर बोलेपनि उहाँको अनुहारमा तनाव र खिन्नता देखिन्थ्यो ।

  तीज मनाउन नपाउनेमा भन्दा पनि गरगहना र कपडाको जोहो गर्न नसकेकोमा उहाँ निकै भावुक देखिनुहुन्थ्यो । तर अरु साथीहरु भने अति खुशी देखिन्थे । उनीहरु तीजको पर्खाईमा आतुर थिए । किन कि उनीहरुले तीजमा चाहिने साथीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने कपडा र गरगहना तयार पारिसकेका थिए । उनीहरु आफ्नो हैसियत र रवाफ सबैको सामु प्रदर्शन गर्ने अवसरको प्रतिक्षामा थिए । त्यसैले कसैलाई तीज आउदै नआए हुन्थ्यो र कसैलाई आई राखोस जस्तो धनी र गरिवको खाडल खन्ने तीज नबनोस,  धनीको लागि पर्व र गरिवको लागि समस्या नबनोस ।

   हामीले हाम्रा कला,संस्कृति, मान्यताहरु हाम्रो समाज र समय अनुसार परिवर्तन त गर्नुपर्छ तर विकृति उन्मुख हुनुहुँदैन। शुरुका दिनमा पार्वतीको त्याग, तपस्या र संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर त्यसको ज्ञान र महत्वलाई बिर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक र भड्किलो रुपमा मनाउन थालिएको छ । तीज आयो भन्दै माइतीको घर आँगनमा रमाउने भन्दा नि पार्टीहरुमा रोमान्चित हुन थालेका छन् ।

  माईती र चेलीको मायाँ,ममताको बारेमा गीत गाउन छोडेर गरगहना र लत्ताकपडाको बारेमा नै हाम्रा धेरै तीज गीत बन्न थालेका छन। माईती घर र विवाह पूर्वका साथीसङ्गीहरुसंग रहँदाको सम्झनामा गीतहरु कम गाउन थालिएको छ। लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धीका आवाजहरु पनि तीज सम्बन्धी गीतमा चाहेको जति उठाईएको छैन। हुनेखाने दिदीबहिनीको अगाडि हुँदाखाने दिदीबहिनीको पीडा र दु:ख कम सुनिन्छ । नारी पीडा, त्याग, तपस्या र संघर्षको आवाज सम्बन्धी विषय कम सुनिन थालेको छ ।

 “तीजलाई गरगहनाको प्रदर्शन गर्ने, नाफा कमाउने र फेशन देखाउने चाडको रुपमा प्रयोग नगरौं , हाम्रा सन्ततीलाई तीजको महत्व र महिमाको बारेमा सिकाउने र विदेशी माझ प्रचारप्रसार गरी नेपाली कला, सँस्कृति र परम्परागत मूल्य मान्यताको जगेर्ना र संरक्षण  गरौं ,समाजमा सकरात्मक सन्देश दिन सक्ने गरी मनाउने गरौं । तीजका लागि गरिने अनावश्यक खर्चलाई केहि नियन्त्रण गरेर श्रीमान, घरपरिवार र समाजबाट अपहेलित र दु:ख पाएका महिला साथीहरुलाई आर्थिक रुपमा सहयोग गरौं ।”

  माईती र साथीसङ्गीको घर आँगनमा मनाइने तीज आजकल तारे होटेल, विशेष रेष्टुरेण्डमा मनाउने अनि विदेशी बियर हुस्कीको चुस्की लगाई रमाउने हुँदै गएका छन् । नेपाली लोकलयमा तीज गीत होईन डिस्को र मोडर्न गीतमा र्याप हान्न रुचाउन थालेका छन। पहिले पहिले तीज कहिले आउला र माईतीसँग भेटेर मन भरिका बिलौना गीत मार्फत माईतीको घर आँगनमा पोखौंला भन्ने हतारमा हुन्थे ।

  लामो समयसम्म भेटघाट हुन नपाएका आफन्तजन र साथीसङ्गीसँग भेट्ने माध्यम तीज बन्ने गर्थ्यो । माईतीको घर आँगनमा पाईला टेक्दाको क्षण कति आनन्ददायी हुन्थ्यो । आजकल त माईती पनि चेलीवेटीलाई समय सुहाउँदो परिकार र फेशनवाल उपहार दिन सक्छु कि सक्दिन होला भन्ने चिन्ताले पिरलिएको देखिन्छ । आजभोली माईतीघर कति बेला जाउँला, रमाईलो गरौंला भन्दा पनि कतिवटा तीज पार्टीमा सहभागी हुन भ्याउला भन्ने चिन्ता बढ्न थालेको छ ।

 श्रीमान र श्रीमती बीचको सुखद दाम्पत्य जीवनको कामना गर्दै भगवान शिव पार्वतीको पुजा आराधना गरेर मनाइने तीज आजभोली श्रीमानसंग प्रतिस्पर्धा गर्दै ‘लोग्ने मान्छेले त पिउँछ भने हामी स्वास्नी मान्छेले किन पिउन नहुने  ? भन्दै महिलाहरु पनि तीज पार्टीमा पिउन थालेका छन् ।

 रक्सी चुरोट नपिउने दिदीबहिनीको लागि तीज कुनै पर्व होइन कि जस्तो हुन थालेको छ । रक्सी नपिउने दिदीबहिनी समय अनुसार चल्न नसकेको जस्तो भईरहेका छन् । श्रीमानसंग चित्त नबुझेको कुरामा वैचारिक बहस गरेर समाधान खोजिनुको सट्टा झन् उनैको पिउने कुराको सिको गरेर प्रतिष्पर्धा गर्नु कतिसम्म जायज हो ? यो तपाई हामीले नै समिक्षा गर्ने हो । छोराछोरीसंगै राखेर हामी पिउन, झुम्न थालेका छौं। यो कार्यले त्यो बालमष्तिष्कमा कस्तो प्रभाव पर्छ होला ?  त्यसतर्फ ध्यान पुर्याउन सकेका छैनौं । लैंगिक समानताको नाममा परिवारमा मतभेद नै आउने गरि समानता खोज्नु कतिसम्म तर्कसंगत हुन्छ  ? त्यसतर्फ हामी महिला दिदीबहिनी समयमा नै सजग हुनुपर्छ ।

हामीले हाम्रा कला,संस्कृति, मान्यताहरु हाम्रो समाज र समय अनुसार परिवर्तन त गर्नुपर्छ तर विकृति उन्मुख हुनुहुँदैन। शुरुका दिनमा पार्वतीको त्याग, तपस्या र संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर त्यसको ज्ञान र महत्वलाई बिर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक र भड्किलो रुपमा मनाउन थालिएको छ । तीज आयो भन्दै माइतीको घर आँगनमा रमाउने भन्दा नि पार्टीहरुमा रोमान्चित हुन थालेका छन् ।” 

 दु:ख भुलेर मिठो नमिठो खाएर घर आगनमा रमाउने चाड आजभोली बिहेको भोज भतेर झैँ हुँदैछ । आफूभन्दा अग्रजले सानालाई दिने गरिएको सौभाग्यका प्रतिक चुरा, पोते र टिका जस्ता सामान्य प्रतिक आजभोली महंगा गरगहना, साडी र कुर्ता लेहेंगामा परिवर्तित हुँदैछ। जसले गर्दा साधारण हैसियत भएका दाजुभाईलाई आफ्ना चेलीबेटी घरमा बोलाउन पनि अप्ठ्यारो महशुस हुने हुदैछ । त्यसैले त तीज ठूलाबडाका  लागि मोजगर्ने, आफ्नो औकात समाजको अगाडी देखाउने सुनौलो मौका बनेको छ  ।  यसले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव परिरहेको छ ।  तीज पर्वलाई धनी-गरिव, हुने-नहुने  सबैले सामान्य तवरले मनाउन सक्ने वातावरण हामी आफैले बनाउनुपर्छ ।

 नेपालमा हरेकवर्ष वर्षा यामसंगै आउने तीजको बेलामा धेरै बाढी पहिरो आएर तराई र पहाडमा धेरै धनजनको क्षति व्यहोर्न परेको हुन्छ । यसै हप्तापनि अविरल वर्षाका कारण नेपालको तराई पहाडका कयौं भू-भागका बासिन्दा बाढि,पहिरो र डुवानमा परी कयौंको ज्यान गएको छ त कति घरबारविहिन हुनुपरेको छ । 

 तीजको बेलामा हामी महिलाहरु भेटघाट हुँदा नेपालका कयौं हामी जस्तै महिला दिदीबहिनीहरु घरबार विहिन भएका छन्, सन्तान गुमाएका छन् र बस्ने खानेको ठुलो समस्यामा परेका छन् भने हाम्रो भेटघाट ती दु:खमा परेका दिदीबहिनीलाई सहयोग पुर्याउन हातेमालो गर्ने अवसरको रुपमा पनि सदुपयोग गर्नुपर्दछ । त्यसैले तीजमा हामीले महिनौदेखि तीजको पार्टी गर्ने खर्चहरुलाई कम गरेर समस्यामा परेका ती नेपाली दिदीबहिनीहरुलाई सहयोग गरौँ । यो तीज पर्वमा हामीसंगै उनीहरुलाई पनि थोरै भए नि हँसाउन सके त्यहि नै हाम्रो महान धर्म हुनेछ । त्यसैमा भगवान शिवजी र पार्वती  खुशी हुनेछन् । समस्यामा परेका ती नेपालीहरु खुशी भए नै हाम्रो मनलाई पनि शान्ति मिल्नेछ ।

  तीज मनाउने क्रममा केहि सकारात्मक परिवर्तन भएका छन् । जस्तै तीज पर्व हिन्दुहरुको मात्र नभई अन्य धर्मालम्वीले पनि रमाईलो मान्दै मनाउने गरेको देखिन्छ । विदेशमा समेत विदेशीहरुको माझ नेपाली कला, संस्कृतिको प्रचारप्रसार हुँदैछ । तीजको गीतमा विदेशीहरु पनि कम्मर मर्काइ मर्काइ नाच्ने थालेका छन् । जुन कार्य प्रशंसनीय छन् ।

 नेपालीहरुको एकता र संस्कृतीको संरक्षण गर्ने उद्धेश्यले विदेशमा रहनु हुने दाजुभाइले दिदीवहिनीलाई तीजको उपलक्ष्यमा दर खुवाई नाचगान गर्ने कार्यक्रमहरु व्यवस्था गर्दछन् । यसले नेपाली दिदीबहिनी र दाजुभाइसँगको भावनात्मक सम्बन्ध बढ्नुकासाथै यस पर्वको महत्व झनै बढ्दै गएको अनुभूति गर्न सकिन्छ । दाजुभाई र दिदीबहिनीमा कुनै कारणवश केहि वेमेल र सम्बन्धमा तिक्तता आएको छ भने पनि यहि तीजको माध्यमले यिनीहरुको सम्बन्धलाई फेरी जीवन्त बनाउने अवसर हुनेछ ।  

 परदेशमा बसेर आफ्नो माईतीघर सम्झेर निरास भएका दिदीबहिनीहरुका लागि यस्ता कार्यक्रमहरुले थोरै भएपनि आफ्नो जन्मघरको आँगनमा मनाएको अनुभूति गराउँछ । एउटा बन्द कोठामा र रेष्टुरेन्टमा मनाउने गरिएको तीज विदेशतिर खुल्ला चोक र चौरमा मनाउन थालेका छन् । यसबाट हाम्रो कला, संस्कृति र संस्कारको प्रचार प्रसार हुनुको साथै संरक्षणपनि हुने गर्दछ ।

“तीजको बेलामा हामी महिलाहरु भेटघाट हुँदा नेपालका कयौं हामी जस्तै महिला दिदीबहिनीहरु घरबार विहिन भएका छन्, सन्तान गुमाएका छन् र बस्ने खानेको ठुलो समस्यामा परेका छन् भने हाम्रो भेटघाट ती दु:खमा परेका दिदीबहिनीलाई सहयोग पुर्याउन हातेमालो गर्ने अवसरको रुपमा पनि सदुपयोग गर्नुपर्दछ । त्यसैले तीजमा हामीले महिनौदेखि तीजको पार्टी गर्ने खर्चहरुलाई कम गरेर समस्यामा परेका ती नेपाली दिदीबहिनीहरुलाई सहयोग गरौँ । यो तीज पर्वमा हामीसंगै उनीहरुलाई पनि थोरै भए नि हँसाउन सके त्यहि नै हाम्रो महान धर्म हुनेछ । त्यसैमा भगवान शिवजी र पार्वती  खुशी हुनेछन् । समस्यामा परेका ती नेपालीहरु खुशी भए नै हाम्रो मनलाई पनि शान्ति मिल्नेछ ।”

तीजलाई गरगहनाको प्रदर्शन गर्ने, नाफा कमाउने र फेशन देखाउने चाडको रुपमा प्रयोग नगरौं , हाम्रा सन्ततीलाई तीजको महत्व र महिमाको बारेमा सिकाउने र विदेशी माझ प्रचारप्रसार गरी नेपाली कला, सँस्कृति र परम्परागत मूल्य मान्यताको जगेर्ना र संरक्षण  गरौं ,समाजमा सकारात्मक सन्देश दिन सक्ने गरी मनाउने गरौं । तीजका लागि गरिने अनावश्यक खर्चलाई केहि नियन्त्रण गरेर श्रीमान, घरपरिवार र समाजबाट अपहेलित र दु:ख पाएका महिला साथीहरुलाई आर्थिक रुपमा सहयोग गर्नसके, तिनीहरुलाई पनि यो चाड सामान्य किसिमले मनाउन मद्धत पुग्ने थियो । यसबाट सामाजिक सद्भाव कायम गर्दै यो पर्वबाट समाजमा सकारात्मक सन्देश दिन सकिने थियो ।

 अन्तमा नजिकै आएको हरितालिका तीजको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनीहरुको दाम्पत्य जीवन सुखी रहोस् साथै चेली र माईतीको सम्बन्ध सुखद रहोस् सबैमा हार्दिक शुभकामना ! 

      हाल ,ग्रीनविच, लन्डन

प्रकाशित मिती २०७४ साल भाद्र ३ गते शनिबार

प्रतिक्रिया दिनुहोस्