Logo

माटोले माग्दैन आफैं दिनुपर्छ : सिने नायक नवराज श्रेष्ठ


 मानिस प्राकृतिक रुपले यस धर्तिमा जन्मन्छ,बामे सर्छ, हुर्कन्छ अनि आफू र आफ्नो परिवारको जीवन रक्षार्थ चारा खोज्न प्राणभन्दा प्यारो गुँड छोडेर यत्रतत्र भौंतारिन्छ । स्वदेशमा अवसरको कमीको कारण मुटुभरी माटोको मायाँ अनि मनभरी अनगिन्ती सपना बोकेर अवसरको खोजीमा परदेशी भुमीमा पलायन हुन्छ ।परदेशको ठाउँमा हालतसँग पौंठेजोरी खेल्दै ,दुःखजिलो गर्दै आफू जन्मेको थातथलोको लागि दिनको भोक न रातको निद झैं हरबखत तड्पीईरहेको हुन्छ । 

तन परदेशमा भएपनि मन हरदम हरपल आफू जन्मेको बासस्थान उकाली,ओराली,भीर,पाखा,पखेरा,गल्छेडा,भन्ज्याङ अनि चौतारीमा रमिरहेको हुन्छ । अन्ततः बर्षौंबर्ष अगाडिदेखि परदेशिएको एक सच्चा सपूत प्यारो मातृभुमी प्रतिको मायाँ र त्याग लगावको परिणामस्वरुप मुलुकको लागि केहि गर्ने तिब्र ईच्छ्याशक्ति लिएर घर फर्कन्छ । पहिलेभन्दा अझ बढि आत्मविश्वास बोकेर अझ बढि उत्साह र हिम्मतकासाथ समग्र बिकासको लागि तन, मन, धनले योगदान गर्न तम्तयार भएर । 

    हो ! परदेशको ठाउँमा पाखुरी बजारेर स्वदेशको लागि मरिमेट्ने होनहार योद्धाहरु यस धर्तिमा बिरलै भेटिन्छन् । परिस्थितीले जो जहाँ गएपनि आफ्नो जन्मभुमीको मायाँ कसलाई नलाग्ला र ?जसको छातिमा सगरमाथा,मुटुभरी चन्द्र सूर्य र शरीरको प्रत्येक नशा नशामा नेपाली रगत बगेको हुन्छ उसले भुलेरपनि आफ्नो मातृभुमीको लागि गद्धारी गर्न सक्दैन । फलतः उ कुनै न कुनै माध्यमबाट राज्यको कला,संस्कृती र समाजको उत्थान गर्न लागिपरेको हुन्छ ।

हुनत सबै मानिस स्वभावैले सर्बगुण सम्पन्न हुँदैनन् । समाजमा केहि अब्बल प्रकृतीका मानिसहरु पनि छन् जो औंलामा गनिन लायक छन् । यिनै ब्यक्तीहरुमात्र स्वदेशको मुहार फेर्नको लागि बलिदानको अग्रपंक्तिमा उभिन सफल भएका हुन्छन् । यिनै सफल ब्यक्तिहरुको भिडमा केहि यस्ता ब्यक्तिहरुपनि छन् जसलाई ब्यक्तिगत स्वार्थले बिल्कुल अन्धो बनाईदिएको छ । जसको परिणामस्वरुप आफू र आफ्नो परिवारको जीवन रक्षा बाहेक उनिहरुले समाजको लागि केहि सोच्न सक्दैनन् ।

     त्यो मानिस पशु हो जो आफूभित्र भएका क्षमता र बिद्धतालाई मारेर मात्र ब्यक्तिगत स्वार्थमा मात्र बाँचेको हुन्छ । आफूभित्र भएका अथाह उर्जा र खुबीहरुलाई समाजको लागी परिचालन गर्न कन्जुस्याईँ गरिहेको हुन्छ, फगत उ आफ्नो  परिवारको लागिमात्र उ बाँचेको हुन्छ । अझ अर्को अर्थमा भन्नुपर्दा दाल र भातको लागिमात्र बाँचेको हुन्छ ।

ब्यक्तिगत स्वार्थको लागीमात्र बाँच्ने उसलाई नत समाजको मायाँ हुन्छ न त देशको नै । उ आफ्नो पापी पेट भर्नको लागि जे पनि गर्न तयार हुन्छ । जसले गर्दा उसको जीवन मुलुकको लागि निरर्थक साबित हुनपुग्छ । एउटा जीवन जिउनको लागि मात्र संघर्ष गर्ने मानिसबाट मुलुकले केहि अपेक्षा गर्न सक्दैन ।
      आफूसँग भएका तमाम क्षमता र जोश जाँगरको वावजुद स्वदेशमा अवसरको अभावको कारण दक्ष एवं शिक्षित ब्यक्तित्वहरु आफ्नो क्षमतालाई पर सार्दै परदेशको ठाउँमा दशनंग्री खियाउन बाध्य भएका छन् । कतिपय नेपालीहरुका क्षमता र प्रतिभा परदेशी भुमिका पसिनाले पैसा साट्दैमा मेटिएका छन् ।

यस माटोको सुगन्धमा रमाउने मातृभुमीको शिर उँचोपार्न जीवनपर्यन्त संघर्ष गरिरहेका ब्यक्तित्वहरुपनि मुलुकमा नभएका होइनन् तैपनि यस्ता ब्यक्तीहरु भने औंलामा गनिन लायक छन् । यिनै दुर्लभ व्यक्तिमध्ये यही माटोमा जन्मी अमेरिकालाई कर्मथलो बनाएर परदेशी भूमीमा देशको नाम र शान संसारभर चिनाउनको लागि हरदिन हररात चिन्तन गर्ने सपुतहरुमध्ये नवराज श्रेष्ठपनि एक हुन् ।

१)संघर्षको कथा

सिन्धुली जिल्ला डुम्रेवास नगरपालिका वडा नं ४ मा जन्मिएर अमेरिकाको कोलोराडो डेनभरलाई कर्मथलो बनाएका नवराज श्रेष्ठ सानैदेखि जिज्ञासु प्रकृतीका थिए । सानैदखि उनको मनमा समाजको लागि केहि न केहि योगदान गरुँ भन्ने भावना पलाईरहन्थ्यो । देशप्रतिको मायाँ,तीब्र ईच्छ्या शक्ति र मेहनतको कारण उनि हरक्षेत्रमा अगाडी बढ्दै गए । फलस्वरुप उनलाई उल्लेखनिय सफलता पनि हात पर्दै गयो ।

पढाईमा पनि उनि निकै तिक्ष्ण थिए । जसको कारण उनि उच्च शिक्षा हासिल गर्ने सिलसिलामा गत १५ बर्ष अगाडि अमेरिका छिरे । अमेरिकामा पढाईको साथसाथै कामपनि गर्न थाले । कामसँगै अतिरिक्त आम्दानीको लागी उनले क्युरियो व्यवसायमा पनि हात हाले । यसको साथै नेपाली तथा थाई फुड रेष्टुरेन्ट व्यवसाय पनि गर्नथाले । उनको कठिन मेहनतले बिस्तार बिस्तार रंग ल्याउँदै गयो । उनि एक सफल व्यवसायीको रुपमा अगाडी बढ्दै गए । उनको मेहनतको परिणाम स्वरुप अमेरिकामा हालसम्मपनि उनको कन्भीनेन्स एवं क्युरियो व्यवसाय राम्रोसँग चलिरहेको छ । 

२)कलाकारको रुपमा स्थापित
 एउटा व्यवसायी,समाजसेवी,कलाकार,सामाजिक अभियन्ताको रुपमा रहेर बिभिन्न क्षेत्रमा कृयाशिल रुपले काम गर्दै आएका नवराज श्रेष्ठ आफूलाई एक कलाकार भन्न रुचाउँछन् । सानैदेखि कलाकारितामा बिशेष रुचि राख्ने श्री श्रेष्ठले बिभिन्न नाटक,टेलिसिरियलमा समेत अभिनय गरिसकेका छन् ।

बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठबाट नृत्य प्रशिक्षण लिईसकेका श्रेष्ठले कृष्ण मुरारी ढुंगेलको प्रेरणाबाट पुनः नेपाली सिने जगतमा कमब्याक गरेका छन् । उनको पहिलो फिल्म उनकै जीवनीसँग मेल खाने कल्याण घिमिरेको ‘आखिर किन’थियो जसमा उनले साईनपनि गरेका थिए । जुन प्राविधिक कारणले छायांकन हुन सकिरहेको छैन । यसको साथै उनले ‘गुडलक’ र ‘स्काउट’ जस्ता फिल्महरुमा एक सफल नायकको भुमिका  निर्वाह गरिसकेका छन् ।

) एक सफल व्यापारी अनि समाजसेवीको रुपमा स्थापित

व्यापारको साथसाथै उनि समाजसेवामा पनि कृयाशिल छन् । अमेरिकन नेप्लिज एशोसिएसनको एक्ज्युकेटिभ मेम्वर,माउन्टेन फ्रेसअप नेपालको लाईफ मेम्बर,world friendship and peace campion को संस्थापक अध्यक्ष,ग्लोवल नेपाली फिल्म अवार्ड को संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक,अमेरिका नेपाल टेलिभिजन जस्ता दर्जनौ संघ संस्थामा आवद्ध रहेर काम गरेका श्री श्रेष्ठ आफ्नो ससुरा स्वर्गिय राम बहादुर श्रेष्ठ र काका नारायण श्रेष्ठको प्रेरणाबाट समाजसेवामा लागेको बताउँछन् । यसका साथै श्रीमती दिना श्रेष्ठको पनि ठूलो देन रहेको छ  । श्रीमती दिना श्रेष्ठ र छोरा नदिर श्रेष्ठको साथमा उनि अमेरिकाको कोलोराडो डेनभरमा बस्छन् ।

 उनी आवद्द रहेको संस्था अमेरिकन नेप्लिज एशोसिएसन नामक संस्थाले स्वदेश लगायत अमेरिकामा पनि सक्रिय रुपले काम गरिहेको छ । सोही संस्थाबाट उनले आफू जन्मेको जन्मस्थल सिन्धुलीको माटोमा स्वास्थ्य क्षेत्रमा योगदान गर्ने उद्देश्यले सन् २०११ को सेप्टेम्वर र जुन महिनामा अमेरिका,क्यानाडा र ईङ्गल्याण्डबाट डाक्टरहरु झिकाई आफ्नो गृहजिल्लामा ८ दिने बृहत स्वास्थ्य शिविर चलाएका थिए । जसको प्रतिनिधित्व अमेरिकन नेप्लिज एशोसिएसनले गरेको थियो । उक्त स्वास्थ्य शिविरमा ५००० जना स्थानिय बिरामीहरु लाभान्वित भएका थिए । यसको अलावा उनले गरिब तथा जेहेन्दार छात्र छात्राहरुको पठनपाठनको लागि निजी रुपमा सहयोग गर्दै आएका छन् । 

४)खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको स्थापना

  गत अगष्ट महिनाको १९ तारिख शनिबारका दिन नेपाली सिनेमाको बिकासमा एउटा नयाँ आयाम थप्ने उद्देश्यले नेपाल फिल्म सोसाईटी अफ नेपाल र ग्लोवल नेपाली फिल्म अवार्ड कोलोराडो डेनभरले अमेरिकाको कोलोराडो शहरमा आयोजना गर्न लागेको ‘दोस्रो खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड’ युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकामा गत वर्ष देखी आयोजना सुरु गरिएको खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणबारे राजधानी स्थित नेपाल चलचित्र सङ्घको कार्यालयमा जेष्ठ,११ गते बिहीबार काठमाण्डौं पत्रकार सम्मेलन गरी जानकारी गराईएको थियो ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने मनसायका साथ सन् २०१६ बाट बिधिवत् रुपमा सञ्चालन गरिएको ‘ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रम -२०१७’ गत अगस्त महिनाको १९ तारिख शनिवारका दिन सोहि स्थानको होटल क्राउन प्लाजामा भव्यताकासाथ सम्पन्न गरिनेछ ।  प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौतीपूर्ण भएपनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताईएको छ । उक्त अवार्ड कार्यक्रम अर्कोपल्ट अष्ट्रेलियामा गर्न कुरा भइरहेको जानकारी प्राप्त भएको छ । उक्त अवार्डको आयोजना फिल्म सोसाईटी,नेपाल तथा ग्लोवल नेपाली फिल्म अवार्डले गरेको छ ।

  अघिल्लो बर्ष १२ वटा बिधामा मात्र अवार्ड तथा पुरस्कार प्रदान गरेको ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड  कार्यक्रम-२०१७’ले यस बर्ष कार्यक्रमलाई अझ परिष्कृत तथा प्रभावकारी बनाउन ८ वटा बिधा थपी २० वटा विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्नेछ । नेपाली सिने जगतमा उल्लेखनिय योगदान पुर्याएका मेधावी कलाकारहरुको लोकप्रियताको आधारमा अवार्ड छनौट गरिनेछ । अवार्ड छनौटमा भुटानी समुदायबाट १ जना कलाकार छनौट गरिनुका साथै मेहनती कलाकारहरुलाई उत्साहित गराउन बिशेष गरि ग्रामीण भेगका कलाकारहरुलाई प्राथमिकता दिईनेछ । अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुविलाई स्थापित गर्ने आफूहरुको उद्धेश्य रहेको छ ।

‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड  कार्यक्रम-२०१७ ‘को आयोजना अमेरिकामा नै गर्नुको मुख्य उद्धेश्य नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दन गर्नु रहेको छ । सपनाको शहर अमेरिकामा हजारौं नेपालीहरु छरिएर रहेका छन् । नेपाली चलचित्र प्रवासी नेपाली समुदायको लागि एक आवश्यकता बनिसकेको छ । अत्यधिक नेपालीहरुको बसोबास रहेको अमेरिकामा नेपाली चलचित्र बजार बनाउन सकिएको खण्डमा नेपाली चलचित्रले ठूलो बजार ओगट्ने कुरामा दुईमत छैन ।

संसारमा सिनेमा पर्यटन उध्योग निकै फस्टाएको सन्दर्भमा आफ्नो देशमा सिनेमा छायाङ्कनको लागि बिभिन्न देशले प्रवर्द्दनात्मक कार्यक्रमहरु ल्याएका छन् । त्यसै अनुरुप ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड -२०१७ ‘ले नेपालमा बिदेशी पर्यटक भित्र्याउनको लागि नेपाललाई एउटा सिनेमा सुटिङ गर्ने स्थलको रुपमा बिकास गर्ने लक्ष्य लिएको छ । ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रम -२०१७’ ले ओझेलमा परेका क्षमतावान कलाकारहरुलाई बर्तमान नेपाली चलचित्रको बारेमा यथोचित जानकारी दिने र नेपाली चलचित्रमा पुनः प्रवेश गराउने उद्धेश्य राखेको छ । यसका लागि नेपाली डायस्पोरा सम्वन्धी केही अवार्डहरुपनि राखिएको छ । 

५) भावी योजना
  एउटा व्यवसायी,समाजसेवी,कलाकार,सामाजिक अभियन्ताको रुपमा रहेर स्वदेश लगायत बिदेशमा धेरै काम गर्दै आएका श्री श्रेष्ठ आफ्नो मेहनतमा बिश्वास गर्दछन् । धन भनेको बाँचन्जुेल उपयोग गर्ने चिज हो मरेर कसैले केहि लान सक्दैन । तसर्थ दिन दुःखीको सेवा गर्नु नै मानव धर्म रहेको उनको ठहर छ ।

माटोले माग्दैन आफैं दिनुपर्छ भन्ने भनाईमा सहमत हुने श्रेष्ठ भविष्यमा शिक्षा र स्वास्थ्य एवं नेपाली कला संस्कृतीको क्षेत्रमा काम गर्ने तिब्र ईच्छ्याका साथ हाल अमेरिका र नेपालमा ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रम -२०१७’ को भब्य तयारी  गर्नको लागी दिनरात जुटिरहेका छन् ।  पिछडिएका ग्रामिण भेगमा स्वास्थ्य र शिक्षा सम्बन्धी काम गर्ने एवं नेपाली कला संस्कृतिको जगेर्ना गर्ने र नेपाललाई संसारभर चिनाउने उनका भावी योजनाहरु सुखद र सफल बन्दै जाउन् । एक सफल व्यवसायी,सामाजिक अभियन्ता अनि सिने नायक नवराज श्रेष्ठलाई दस्तावेज डट कम परिवारको तर्फबाट हार्दिक शुभकामना । 

       दीपशिखा शर्मा

२०७४ जेष्ठ २७ गते शनिबार,काठमाडौं 

[email protected]

प्रतिक्रिया दिनुहोस्