Logo

काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल र नगरकोटमा एनसेलको फोरजी सेवा सुरु

जेष्ठ १८,काठमाडौं, – मोवाईलको सेवा प्रदायक कम्पनि एनसेलले चौथो पुस्ताको मोवाइल फोरजी सेवा आजबाट सुरु गरेको छ  । एलसेलका ग्राहकले काठमाडौँ  उपत्यकाका साथै नगरकोट, बनेपा, धुलिखेलमा फोरजी चलाउन सक्नेछन् ।

     एनसेलले १८००  मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा प्रविधि तठस्थता अप्नाएर फोरजी सेवा सुरु गरेका हो । प्रविधि तटस्थताको अनुमति लिएर सुरु गरिएको फोरजीले बहुप्रतीक्षित उच्चगुणस्तरीय डाटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्ने एनसेलले जनाएको छ ।  प्रविधि तटस्थताको उच्चतम  सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय  लक्ष्य हासिल गर्न योगदान पुर्याउन एनसेल  प्रतिवद्ध रहेको प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताए । 

        यसै प्रतिबद्धता बमोजिम एनसेलले आगामी ७ महिना सम्ममा कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको एनसेलले जनाएको छ  । फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न सक्नेछन् । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम)सँग निःशुल्क साट्न सक्नेछन् । नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन् । 

       नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अबसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समय अवधि रहेको १ जिबी डेटा भोल्युमनिःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने जनाएको छ ।

       फोरजी प्रविधिले ग्राहकलाई अझ उच्चगतिको मोबाइल डेटामा पहुँचको सुनिश्चितता गर्नुका साथै नयाँ व्यवसायिक अवसरहरुको सिर्जना गर्दै लोकल कन्टेन्टको विकास तथा प्रयोगलाई पनि बढाउने एनसेलले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्