Logo

कोरोनाभाइरस र सङ्क्रमितको मृत शरीरबारे भ्रामक हल्ला फिँजाउने पक्राउ

कोभिड महामारीका क्रममा ‘मन गढन्ते भ्रामक हल्ला’ फिँजाउने ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । कोरोना सङ्क्रमितको मृत्यु पश्चात् आफन्तलाई भेट्न नदिई शरीरका विभिन्न अङ्गहरू झिकेर बेचबिखन भइरहेको भन्दै आम-सर्वसाधारणलाई दिग्भ्रमित गराउने तथा विभिन्न व्यक्तिहरूलाई आक्षेप लगाउने अभिव्यक्तिहरू दिई प्रचार प्रसार गरेको अभियोगमा सुवास सुब्बा लिम्बुलाई ललितपुर नक्खिपोटबाट पक्राउ गरिएको छ ।

एक YouTube Channel मा उनले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘कोरोना नै छैन सरकारले हावा पिटेको छ । कोरोना सङ्क्रमितको मृत्यु पश्चात् आफन्तलाई भेट्न नदिई शरीरका विभिन्न अङ्गहरू (किड्नी ,आँखा, लिभर) झिकेर बेचबिखन गरी भ्रष्टाचार गरिरहेकोले मारमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनुपर्दछ’ भन्ने ‘मन गढन्ते भ्रामक हल्ला’ फिँजाएर समाजमा उत्तेजना फैलाउने, तर्साउने, आम-सर्वसाधारणलाई दिग्भ्रमित गराउने, कोरोनाभाइरस सङ्क्रमणबारे अवैज्ञानिक हल्ला फैलाएको तथा विभिन्न व्यक्तिहरूलाई आक्षेप लगाउने अभिव्यक्तिहरू दिई प्रचार प्रसार गरी सार्वजनिक शान्ति भङ्ग गर्ने कार्यमा संलग्न ५१ वर्षिया सुब्बा आफूलाई प्राकृतिक डाक्टरको रूपमा परिचय गराउँदै आएका छन् ।

तेह्रथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुबास सुब्बा लिम्बुलाई आज ललितपुर प्रहरीले नक्खिपोटबाट पक्राउ गरी थप अनुसन्धानका गरी कारवाही अगाडी बढाउन प्रहरी परिसर ललितपुर पठाइएको छ । एकातर्फ कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ भने अर्कोतर्फ यस्ता हावा हल्ला फिँजाएर भ्रमको खेती गर्ने मनगढन्ते सूचना तथा विज्ञहरू छ्यापछ्याप्ती भेटिन थालेका छन् ।

प्रकाशित मिति, २०७७ साल भाद्र २३ गते मंगलवार

प्रतिक्रिया दिनुहोस्