Logo

अयोध्यामा बन्ने राम मन्दिरमा राख्ने भनिएको टाइम क्याप्सुल के हो ?

यसरी सुरु भएको थियो अयोध्या विवाद

कारोबार आज, २०७७ साल साउन १४ गते बुधवार,काठमाण्डौ – भारतको राम मन्दिर तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले अध्योध्यामा बन्न लागेको राम मन्दिरको जगमा एउटा टाइम क्याप्सुल राख्ने निर्णय गरिएको दाबी गरेका छन्। उनका अनुसार जमिनभन्दा दुई हजार फिटमुनि टाइम क्याप्सुल राखिनेछ ताकि भविष्यमा राम मन्दिरको इतिहासबारे बुझ्न चाहँदा आवश्यक तथ्य थाहा होस् र कुनै विवाद उत्पन्न नहोस्। सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सांसद लल्लु सिंहले पनि टाइम क्याप्सुल राख्ने कुराको पुष्टि गरेका छन्।तर राम जन्मभूमि तीर्थ ट्रस्टका महासचिव चम्पत रायले टाइम क्याप्सुल राख्निने कुरालाई हल्ला भनेका छन्।

यसको अर्थ ट्रस्टका सदस्यहरूबीच नै राम मन्दिरको जगमा टाइम क्याप्सुल राखिने विषयमा एकमत छैन। त्यसका साथै टाइम क्याप्सुलभित्र के राख्ने भन्ने विषयमा पनि विवाद छ। कतिपयका लागि यो एक प्रकारले अयोध्या विवादको इतिहास लेख्नु सरह हुनेछ।अर्कोतर्फ कतिपय मानिसहरू टाइम्प क्याप्सुल के हो, कहाँबाट आउँछ र त्यसको महत्त्व के हुन्छ भन्नेबारे बुझ्ने कोशिशमा छन्।

टाइम क्याप्सुल के हो?

यो एउटा यस्तो डिभाइस हो जसको मद्दतले वर्तमान संसारसँग जोडिएका जानकारीलाई भविष्य वा दोस्रो दुनियामा पठाउन सकिन्छ।उदाहरणका लागि यदि कोही सन् २०२० सँग जोडिएका कुरा सन् ३०२० मा मानिसहरूसम्म पुर्‍याउन चाहन्छ भने उसले यो डिभाइसको प्रयोग गर्न सक्छ। त्यसो गर्नका लागि सबैभन्दा पहिला वर्तमान दुनियासँग जोडिएका कुरालाई यस्तो स्वरूपमा सङ्ग्रह गर्नुपर्छ जुन त्यति वर्षसम्म सुरक्षित रहन्छ। त्यसपछि त्यसलाई कुनै खास ठाउँमा गाड्नुपर्छ जहाँ सन् ३०२० मा मानिसहरूले उत्खनन गरून् र उनीहरूले त्यो टाइम क्याप्सुललाई फेला पारून्।

अनि त्यसपछि टाइम्स क्याप्सुललाई हेरेर वा पढेर मानिसहरूले सन् २०२० मा संसार कस्तो थियो, मानिसहरू कसरी बस्थे र कस्ता प्रविधिको प्रयोग गर्थे लगायतका कुरा थाहा पाउन सक्छन्। टाइम क्याप्सुलको रूप वा आकार-प्रकारलाई लिएर कुनै स्पष्ट नियम छैन।यो बेलनाकार, चारपाटे, आयतकार वा जुनसुकै आकारमा हुन सक्छ। त्यसको शर्त यति मात्र हो कि टाइम क्याप्सुलले आफ्नो उद्देश्य पूरा गर्न सकोस् र जानकारीहरूलाई खास समयसम्म सुरक्षित राख्न सकोस्।

तर एकजना पुरातत्त्वविद्‌ केके मोहम्मदका अनुसार पुरातत्त्व विज्ञानमा टाइम क्याप्सुलको कुनै महत्त्व हुँदैन। “अहिलेसम्म भारतमा कुनै टाइम क्याप्सुल फेला परेको छैन। यसअघि एक पटक पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले लालकिल्लामुनि टाइम क्याप्सुल राख्न लगाएकी थिइन्,”उनले भने। तर राम मन्दिरको जगमा टाइम क्याप्सुल राख्ने कुरा सही हुने बताउँदै उनले भने, “त्यसो गरियो भने भविष्यमा कुनै प्रकारको विवाद उत्पन्न हुँदैन।”

क्याप्सुलबारे विवाद

टाइम क्याप्सुलले प्रायः विवाद निम्त्याउने गरेको देखिन्छ। राम मन्दिरको हकमा पनि त्यस्तै देखिँदैछ। पछिल्लो विवरण बाहिर आउनासाथ सामाजिक सञ्जालमा मानिसहरूले टाइम क्याप्सुलभित्र के राख्नुपर्छ भन्नेबारे प्रश्न गर्न थालेका छन्।राम मन्दिरसँग जोडिएको टाइम क्याप्सुललाई लिएर ताजा विवाद के छ भने राम जन्मभूमि तीर्थ ट्रस्टका महासचिव चम्पत रायले त्यो खबरलाई हल्लाको सङ्ज्ञा दिएका छन्। ट्रस्टका सदस्यहरूबीच जारी विवादबीच प्रश्न के खडा भएको छ भने के साँच्चै मन्दिरको जगमा टाइम क्याप्सुल राखिनेछ त।

यसरी सुरु भएको थियो अयोध्या विवाद

एक शताब्दीभन्दा अघिदेखि सुरु भएको अयोध्या विवाद भारतको एउटा सबैभन्दा पेचिलो अदालती मामिला हो। यो पहिचानको राजनीतिसँग पनि जोडिएको छ। उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्।तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौँदेखि प्रार्थना गरिरहेको बताउँछन्।उक्त स्थानको स्वामित्वसम्बन्धी एउटा मुद्दा सर्वोच्च अदालतमा वर्षौँदेखि चलिरहेको छ। अदालतले उसको अन्तिम बहस बुधवार टुङ्ग्याएको छ।फैसला आगामी महिना आउने अपेक्षा गरिएको छ।

विवाद के हो?

विवादको केन्द्रमा उक्त स्थानमा १६ औँ शताब्दीमा बनेको एउटा मस्जिद छ।त्यसलाई सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको थियो।त्यसपछि भएको दङ्गामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको थियो।बाबरी मस्जिद मुस्लिम आक्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको हो भन्ने धेरै हिन्दूहरूको विश्वास छ। मुस्लिमहरू चाहिँ सन् १९४९ को डिसेम्बरसम्म उक्त मस्जिदमा आफूहरूले प्रार्थना गर्ने गरेको बताउँछन्। त्यसपछि भने हिन्दूहरूले त्यहाँ एउटा रामको मूर्ति स्थापना गरे र त्यसको पूजा गर्न थाले। त्यसयता बितेका दशकहरूमा दुवै धार्मिक समूहहरू उक्त स्थान कसको नियन्त्रणमा रहनुपर्छ भन्दै कैयौँ पटक अदालत पुगिसकेका छन्। त्यस बेलादेखि नै उक्त मस्जिद रहेको स्थानमा मन्दिर स्थापनाका लागि आह्वान गरिँदै आएको छ।उक्त मुद्दामा सबैभन्दा माथिल्लो अदालतमा हालै भएको पाँच न्यायाधीशहरूको संयुक्त इजलासले त्यो क्षेत्र कसको हो भन्ने टुङ्गो लगाउनेछ।त्यसको फैसला आगामी नोभेम्बर ४ वा ५ तारिखमा आउने अपेक्षा गरिएको छ।अधिकांश भारतीय हिन्दू धर्मावलम्बी छन्। यो धर्म चार हजार वर्ष पुरानो भएको मानिन्छ। भारतमा पहिलो मुस्लिम राजवंशको स्थापना १३ औँ शताब्दीको सुरुमा भएको थियो।

मुद्दा कसले लडिरहेका छन्?

अयोध्याको विवाद एक शताब्दीभन्दा लामो समयदेखि विभिन्न अदालतमा पुगेको छ। यो मुद्दा मुख्यत: तीनवटा समूहबीच लडिँदै आएको छ- दुईवटा हिन्दू समूह र मुस्लिम वक्फ बोर्डबीच। उक्त बोर्डले भारतका इस्लामिक सम्पदा व्यवस्थापनको जिम्मा पाएको छ। हिन्दू प्रतिवादीमा एउटा दक्षिणपन्थी राजनीतिक दल हिन्दू महासभा र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडा रहेका छन्।मस्जिद भत्काइएको एक दशकपछि उनीहरूले उक्त विवाद सन् २००२ मा इलाहाबाद उच्च न्यायालमा दर्ता गराएका थिए। सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो। उक्त फैसलाअनुसार विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्नुपर्ने हुन्थ्यो।अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो। कुनै बेला मस्जिद रहेको मुख्य क्षेत्र भने हिन्दूहरूको नियन्त्रणमा दिइएको थियो ।अदालतले मुख्य तीनवटा टिप्पणीहरू पनि गरेको थियो। उसले विवादित क्षेत्र रामको जन्मभूमि रहेको, हिन्दू मन्दिर भत्काइएपछि त्यहाँ बाबरी मस्जिद बनाइएको र त्यो इस्लामिक मान्यताविपरीत रहेको भन्ने पुष्टि गरेको थियो। तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो।

अन्य महत्त्वपूर्ण कुरा

सन् १९९४ मा भारतको सर्वोच्च न्यायालयले सम्बन्धित विषयमा आदेश जारी गर्दै मस्जिदको अवधारण “इस्लामको एकीकृत कुरा थिएन” भनेको थियो। त्यसले सम्पूर्ण भूभागमा नियन्त्रण चाहने हिन्दूहरूलाई बल पुर्‍याएको थियो। सन् २०१८ एप्रिलमा वरिष्ठ अधिवक्ता राजीव धवनले सर्वोच्च अदालतमा एउटा याचिका दर्ता गराए। त्यसमा न्यायाधीशहरूको उक्त टिप्पणीको पुनर्विचार गर्न माग गरिएको थियो। तर त्यसको केही महिनापश्चात् सर्वोच्च अदालतले त्यस्तो गर्न अस्वीकार गरिदियो।

 धार्मिक तनाव

सन् २०१४ मा नरेन्द्र मोदीले नेतृत्व गरेको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएसँगै भारतमा सामाजिक र धार्मिक विभाजन गहिरिँदै गएको छ। अयोध्यामा हिन्दू मन्दिर बनाउनुपर्ने आवाज उच्च हुँदै गएको छ। र त्यस्तो भन्नेहरूमा अधिकांश सांसद, मन्त्री र भाजपाका नेताहरू रहेका छन्। हिन्दूहरूले पवित्र मान्ने गाईको विक्री र बधमा प्रतिबन्ध लगाइएको छ। गाईगोरु लिएर हिँड्ने कतिपय मानिसहरू तथाकथित गोरक्षकहरूद्वारा मारिएका छन्। मारिनेमा अधिकांश मुस्लिम समुदायका मानिसहरू छन्। अन्य क्षेत्रमा देखिएको स्पष्ट हिन्दू राष्ट्रवादले पनि धार्मिक द्वन्द्व बढाउन योगदान पुर्‍याएको छ। हालै भारतका गृहमन्त्री अमित शाहले आफूले “अवैध आप्रवासीहरू”लाई देशबाट हटाउने बताएका छन्। त्यो मुस्लिमप्रति लक्षित ठानिएको छ।

 बीबीसी 

प्रतिक्रिया दिनुहोस्