Logo

म आफूलाई पाईलट र ईन्जिनियर दुुबै भन्न रुचाउँछु – इन्जिनियर प्रमोद रेग्मी

               इन्जिनियर तथा पाईलट प्रमोद रेग्मीले तयार गरेको प्लेन (हेर्नुहोस् भिडियो)

हाल अमेरिकाको एरिजोना राज्यको फिनिक्सका स्थायी निवासी इन्जिनियर एवं पाइलट प्रमोद रेग्मी सानैदेखि अत्यन्त जिज्ञासु र मेहनती स्वभावका थिए । उनलाई केही न केही नयाँ कुराहरूको आविष्कार गरेर मुलुकलाई योगदान पुर्याउने चाहना थियो । तर राज्यको विषम परिस्थिति, साधन र श्रोतको अभावले गर्दा हरेक कुरामा चुपलाग्न बाध्य बनाउँथ्यो । उनी अवसरको खोजीमा थिए । तर नेपालमा भनेजस्तो अवसर मिल्न भने सकिरहेको थिएन । फलतः उनले आफ्नो समय अध्ययनतर्फ केन्द्रित गर्न थाले । 

२०५४ सालमा अमेरिका प्रस्थान गरेका श्री रेग्मीले तरुण मा.बि. बाट एसएलसीको परिक्षा पास गरेका हुन् । त्यसपछि उनले Balaju School of Engineering and Technology बाट आधारभुत प्राविधिक शिक्षा एवं त्रिचन्द्र कलेजबाट बि.ए.सम्म अध्ययन गरेका छन् । २३ वर्षको कलिलो उमेरमा अमेरिका हान्निएका श्री रेग्मीको चाहना भने सानैदेखि पाइलट बन्ने थियो । बहुप्रतिभाशाली व्यक्तित्व एवं महत्वाकांक्षी स्वभावका श्री रेग्मी सानैदेखि केही न केही नयाँ रचनात्मक काम गरेर समाजमा अलग्गै पहिचान बनाउन चाहन्थे तर उचित साधन र श्रोतको अभावमा उनको सपना अधुरै रहेको थियो ।

सर्वप्रथम त उनलाई आफ्नो अध्ययन पूरागर्नु थियो । दोस्रो कुरा अमेरिकामा आफूलाई स्थापित गर्न थियो । यी दुवै चुनौतीहरू पार गरिसकेपछि बल्ल उनले आफ्नो सपनालाई निरन्तरता दिने अठोट गरे । अनेक हण्डर र ठक्कर खाँदै उनले Mesa Technical School बाट Electrical Engineer को अध्ययन पूरा गर्नका साथै Aerosim Abation बाट पाइलट कोर्सपनि पूरा गरिसकेका छन् ।

  श्री रेग्मीले पाइलटको कोर्स पूरा गरी लाइसेन्स पनि लिए । लाइसेन्स लिईसकेपछि प्लेन पनि आफैँ बनाउने अठोट गरे । तर उनको यो अठोट सहज भने थिएन । उनीमाथि धेरै चुनौतीहरू थिए । आर्थिक लगायत प्राविधिक कठिनाइहरू थिए । उक्त परियोजना पूरा गर्नको लागि अध्ययन,अनुसन्धान, सन्तुलित दिमाग,कठिन परिश्रम,आत्मविश्वास,धैर्यता,लगनशीलताको खाँचो पर्दथ्यो । डेढ वर्षको उनको अथक प्रयास, लगातारको मेहनत र परिश्रमको वावजूद अन्ततः आज उनको यो परियोजना सफल भएको छ ।

अन्य देशको तुलनामा यो सामान्य भएपनि नेपालको सन्दर्भमा भने प्लेन बनाउने उनी पहिलो व्यक्ति हुन् । यो परियोजना उनी एक्लैले खटेर सफल गरेका हुन् । आफ्नो दिनरातको मेहनत बाहेक प्लेनको कुल लागत खर्च डेढ करोड नेपाली रुपैयाँ पर्न आएको छ । हाल उनको प्लेन अमेरिकी सरकारको हवाई विभाग US Govern of FAA मा जुन ४, २०१८ मा सूचिकृत हुनुका साथै उडान अनुमति समेत लिइसकेको छ ।

उनले तयार पारेको प्लेनको सफल परीक्षण एवं सफल उडान समेत गरिएको छ । उनको पहिलो सफल उडान १४ जुन २०१८ मा गरिएको थियो । जसको समयावधि डेढ घण्टाको थियो । प्राप्त जानकारी अनुसार आउँदो २०१९ भित्रमा अमेरिकाका सबै स्टेटहरूमा उडान भर्ने उनको लक्ष्य रहेको छ । आफ्नो प्रतिभाको माध्यमबाट संसारभर भाईरल भैरहेका होनहार प्रतिभा इन्जिनियर एवं पाइलट प्रमोद रेग्मीसँग दस्तावेजका सम्पादक दीपशिखा शर्माले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश:

१) प्रमोद रेग्मी ज्यू !  सर्बप्रथम त यहाँलाई दस्तावेज डट कममा हार्दिक स्वागत छ ।

— धन्यबाद तपाईँलाईपनि ।

२) तपाईँले एक्लै जहाज बनाएर उडाएको खबर आजभोली संसारभर भाईरल भएको छ । एक आम मानिसले आफैं प्लेन बनाएर उडाउनु चानचुने कुरा भने होईन । आफैं प्लेन बनाएर उडाउँछु भन्ने आँट कसरी आयो तपाईँलाई  ?

— सर्बप्रथम त प्रश्नको लागि धन्यबाद । अमेरिका यस्तो शहर हो जहाँ आफ्नो नियमित कार्य सकेर फुर्सदको समयमा बिभिन्न रचनात्मक कार्य गर्ने गरिन्छ । पेशाले ईन्जिनियर भएपनि जब मैले पाईलटको लाईसेन्स लिएँ तब मलाई पनि अरुहरुले जस्तै प्लेन बनाएर आफैं उडाउने रहर जाग्न थाल्यो । जब जब पाईलटिङ क्षेत्रमा भिज्दै गएँ अनि अरुहरुले पनि प्लेन बनाएर उडाउन सक्छन् भने मैलेमात्र किन नसक्ने ? भन्ने जिज्ञासा ममा पलाउन थाल्यो ।

म पनि केहि गर्नसक्छु भन्ने दह्रो आँट र आत्मबिश्वासकासाथ प्रयोगको रुपमा एउटा प्लेन बनाएर उडाउने बिचार गरें । तथापि यसमा धेरै चूनौतीहरु अगाडि थिए । आर्थिक लगायत प्राविधिक कठिनाइहरू थिए । श्रोत र साधन भएपनि लगनशीलताको अभावमा यो कार्य जो पायो त्यहीले फत्तेगर्न सक्दैनथ्यो । उक्त परियोजना पूरा गर्नको लागि अध्ययन,अनुसन्धान, सन्तुलित दिमाग,कठिन परिश्रम,आत्मविश्वास,धैर्यता,लगनशीलताको खाँचो पर्दथ्यो ।

तरपनि मैले हिम्मत हारिन । यसको लागि चाहिने,कुल लागत खर्च,बिभिन्न चुनौतीहरुलाई आत्मसात गरेर म यो बनाएरै छोड्छु भन्ने दृढ बिश्वासकासाथ यो प्रोजेक्टमा लागें । जसमा मैले पारिवारिक सपोर्ट पनि निकै पाएँ । जसको कारण मैले यो परियोजना बनाउन सफल भएको हुँ ।

३) अमेरिकाको व्यस्त जीवनशैलीको वावजुद कसरी असम्भव कुरालाई सम्भव बनाएर देखाउनु भो ? कुन कुराले यस्तो ऐतिहासिक परियोजना कार्य गर्न तपाईँलाई थप हौसला मिल्यो ?

— हेर्नुस् अमेरिकामा सबै मानिसहरुको जीवन अत्यन्त व्यस्त हुन्छ । आफ्नो काम,परिवारको जिम्मेवारीको वावजूद पनि हामिले समयको व्यवस्थापन गर्न जान्यौं भने असम्भव कुरा पनि सम्भव हुँदो रहेछ भन्नेकुरा मेरो बिगतको अनुभवले मलाई सिकाएको छ । कुनैपनि कार्य सफल गर्न समयको व्यवस्थापनका साथै दह्रो आत्मविश्वास,लगनशिलता,कठिन मेहनत,एवं कामको निरन्तरताको परिणामस्वरुप मेरो यो परियोजना सफल भएको हो ।

४) तपाईँले बनाउनुभएको प्लेन परियोजना पूरागर्न कति समय लाग्यो ? शुरु गर्दादेखि अन्तिमसम्मको कुल खर्च कति भएको छ ? भनिदिनुहोस् न ? 

— “जहाँ ईच्छ्या त्यहाँ उपाय” भने झैँ म निरन्तर उद्देश्य प्राप्तिको लागि अगाडि बढ्दै गएँ । परियोजनालाई सफल बनाउन डेढबर्षसम्म कसैसँगपनि सम्पर्क गरिन । मात्र आफ्नो कार्यमा अगाडि बढ्दै गएँ । किनकि मलाई हर हालतमा यो परियोजना सफल गर्नुथियो । परियोजना सफल बनाउनको लागि आफ्नो नियमित काम बाहेक अन्य समयमा घण्टौँ घण्टा ग्यारेजमा बिताउन थालें । काममा यती खट्दथें कि आफ्नो परिवारलाई समेत भेट्ने समय मसँग थिएन । छोराछोरी र श्रीमतीले समेत मलाई सधैं ग्यारेजमै गएर भेट्नुपर्दथ्यो ।  
डेढ वर्षको उनको अथक प्रयास, लगातारको मेहनत र परिश्रमको वावजूद अन्ततः मेरो यो परियोजना सफल भएको छ ।’एरिजोनाको आकाशमा एउटा फरक डिजाइनकाे टु सिटर जहाजले सफल उडान भरेको छ  ।’  अन्य देशको तुलनामा यो सामान्य भए पनि नेपालको सन्दर्भमा भने प्लेन बनाएर उडाउने शायद म नै पहिलो व्यक्ती हुँ भन्दा फरक नपर्ला । “असम्भव भन्ने केही छैन,मेहनत गरे के हुन्न र ? ”भन्ने भनाईलाई आत्मसात गरी यो परियोजना म एक्लैले खटेर सफल गरेको हुँ । यसमा मेरो परिश्रमको कुनै मूल्य छैन । आफ्नो दिनरातको मेहनत बाहेक प्लेनको कुल लागत खर्च डेढ करोड नेपाली रुपैयाँ पर्न आएको छ ।

५) बिदेशी भूमिमा प्लेन बनाएर उडाउनुभयो । स्वदेशको लागि पनि केहि सोच्नुभएको छ कि ? नेपालमा पनि प्लेन बनाएर उडाउन सम्भव छ त ? स्वदेश र बिदेशमा भिन्नता के छ रु बताईदिनुहोस् न ? 

— बिदेशी भूमिमा नियम कानुन साथै प्लेनको लागि आवश्यक पर्ने पार्टपुर्जा सर्बसुलभ दरमा पाईने हुनाले स्वदेशको तुलनामा बिदेशमा प्लेन निर्माण गर्न सहज छ । बिदेशमा बिदेशीहरुले सामाजिक,भौगोलिक,आर्थिक सुहाउँदो वस्तुहरु बनाउने हुनाले उनीहरुले उत्पादन गरेको सामान बलियो हुन्छ । तर नेपालको परिवेशमा भने यो कार्य अत्यन्त कठिन छ । किनकी प्लेनको लागि आवश्यक पर्ने पार्टपूर्जाहरु नेपालमा नबन्ने भएकोले बिदेशबाट मगाउनुपर्ने हुनजान्छ । नेपालमा बिदेशकोजस्तो ब्राण्डेड पार्टपूर्जाहरु पाउन निकै कठिन छ जसको कारण भनेजस्तो प्लेन सकिंदैन । नेपालमा सरकारी बाधा अप्ठ्याराहरु धेरै छन् । यसकासाथै आर्थिक एवं प्रशासनिक झन्झट बढि हुने हुनाले बिदेशको तुलनामा प्लेन बनाउन पनि त्यती सहज छैन ।

६) बिदेशमा प्लेन बनाउँदा तपाईँले के कस्तो कठिनाईहरु झेल्नुपर्यो ? बताईदिनुहुन्छ कि ?

— बिदेशमा बसेर प्लेन बनाउँदा नेपाली भनेपछि अलिकति शंकाको नजरले हेर्ने गरेको पाईयो । यी लगायत झिना मसिना भाषागत समस्याहरु पनि थिए । पेशाले ईन्जिनियर भएकोले आफ्नो जागीरबाट समय निकालेर काम गर्नु पक्कैपनि चूनौती थियो । त्यसैले समयको व्यवस्थापन गर्न मलाई अलिक कठिनाई पर्यो । त्यो बाहेक अन्य समस्या खासै भएन ।

७) तपाईँ पेशाले ईन्जिनियर मान्छे पाईलटको कोर्स पूरा गरेर प्लेनपनि उडाईसक्नुभएको छ । आफूलाई एक सफल पाईलट भन्न रुचाउनहुन्छ कि ईन्जिनियर ?

— ईन्जिनियर मेरो पेशा हो । म त्यही काम गर्दछु । प्लेन बनाउने ईन्जिनियरिङको एक पाटो भएकोले प्लेन बनाउने र प्लेन उडाउने व्यक्ति एक अर्काका परिपुरक हुन् । म आफूलाई एक पाईलट र ईन्जिनियर दुुबै भन्न रुचाउँछु ।

८) प्लेन बनाएर उडाउने पहिलो नेपालीको रुपमा तपाईँले ईतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाईसक्नुभएको छ । नेपाल सरकारले पनि तपाईँलाई प्लेन बनाउने अवसर प्रदान गर्यो भने के गर्नुहुन्छ ?

— ईतिहासमा नाम लेखाउँछु भनेर म लागेको भने होईन । सानैदेखि समाजमा केहि न केहि नयाँ चीजको आविष्कार गर्ने मेरो चाहना थियो । तर नेपालमा आर्थिक एवं प्राविधिक समस्याको कारण त्यो अवसर मिलिरहेको थिएन । जब म पढाईको सिलसिलामा अमेरिका छिरें अनि बिस्तार बिस्तार मैले मेरा अधुरा रहेका सपनाहरुलाई निरन्तरता दिने निधो गरें । कठिन परिश्रमको वावजूद मेरो प्लेन बनाउने धोको पूरा भयो ।  नेपाल सरकारले म जस्ता प्रतिभावान युवाहरुको आवश्यकता महशुस गरेमा म आफूलाई अत्यन्त भाग्यमानी ठान्नेछु । यसकासाथै आफूले सिकेको ज्ञान र सिप मुलुकको लागि दिन कुनै कन्जुस्याँई गर्नेछैन ।

९) भविष्यको योजना के छ ? आफ्नो पूरानो ईन्जिनियर पेशामा फर्किनुहन्छ कि अन्य कुनै कार्य गर्ने सोच छ ? 

— मेरो पेशा यथावत नै छ । आफूले बनाएको प्लेनबाट सन् २०१९ भित्रमा अमेरिकामा ५० वटा स्टेट भ्रमण गर्ने मेरो योजना रहेको छ । त्यसपछि त्यहि प्लेनबाट संसार घुम्न अलिक कठिनाई हुनेहुँदा अर्को ठूलो एवं लामो दूरीसम्म उड्नसक्ने क्षमता भएको प्लेन बनाएर विश्व भ्रमण गर्ने योजना रहेको छ । अर्को प्रोजेक्ट थाल्नुभन्दा अगाडि नेपाल सरकारले मेरो प्लेनलाई कुनै संग्रहालय वा अन्य ठाउँमा राख्न चाहेमा मैले बनाएको पहिलो प्लेन नेपाल सरकारलाई हस्तान्तरण गर्न चाहन्छु । नेपाल सरकारले मैले बनाएको प्लेनलाई नेपाल ल्याउने अनुमति दिएमा नेपालमै एउटा संग्रहालय बनाएर प्लेनलई व्यवस्थापन गर्ने मेरो योजना रहेको छ । मैले बनाएको प्लेन नमुनाको रुपमा नेपाल सरकारले सुरक्षित राखोस् । सम्पूर्ण नेपालीको लागि यो एउटा ऐतिहासिक कार्य बनोस् । तर अमेरिकाबाट प्लेन ल्याउने कामको लागि लाग्ने खर्चको व्यवस्था भने सबै नेपाल सरकारले नै गरिदिनुपर्नेछ ।

१०) अन्तमा संसारभर छरिएर रहेका नेपालीहरुलाई आफ्नो सफलताको बारेमा के भन्न चाहनुहुन्छ ?

— सर्बप्रथम त कुनैपनि कार्य सफल पार्नको लागि लगनशिलता र दृढ ईच्छ्याशक्ति श्रोत र साधनको खाँचो हुन्छ । आफूले सिकेको सिपको प्रयोग नेपालमै गर्ने मेरो चाहना रहेको छ । जसबाट अरु युवा प्राविधिकहरुले मेरो कार्यबाट थप शिक्षा सिकुन् । अन्तमा म के भन्न चाहन्छु भने संसारभर छरिएर रहेका नेपालीहरु सबै आफ्नो बाध्यता र परिस्थितिले बाहिरिए पनि मुलुकको शिर उँचोपार्ने कार्यमा हमेशा लाग्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । 

       [email protected]

प्रकाशित मिति, २०७५ साल ,असोज २९ गते, सोमबार 

प्रतिक्रिया दिनुहोस्