Logo

पानीमुनिको १६९२ रोपनी जग्गा समेत व्यक्तिको नाममा

स्तावेज संवादादाता, बैशाख १९ गते सोमवार, २०७५, पोखरा –फेवातालको किनार आसपासको क्षेत्र मात्र अतिक्रमण भएको छैन, पानीमुनिको जग्गा समेत व्यक्तिले अवैध रूपमा आफ्नो नाममा ल्याएर लालपुर्जा बनाएका छन् । दिन प्रतिदिन साँघुरिँदै गएको फेवातालको पानीमुनिको १६९२ रोपनी ६ आना १ दाम क्षेत्रफल जग्गा व्यक्तिको नाममा लालपुर्जा रहेको भन्दै त्यसलाई खारेज गर्न छानबिन समितिले सरकारलाई सुझाव दिएको छ । समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा एक हजार जनाभन्दा बढी जग्गाधनीको नामसहित कित्ता नम्बर र क्षेत्रफल उल्लेख गर्दै तालकै नाममा उक्त जग्गा फिर्ता ल्याउन सुझाइएको हो ।

‘२०३४ सालको नापीका क्रममा एक हजार बढीले फेवातालको जग्गा आफ्नो नाममा दर्ता गरेको देखिन्छ,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘नापी कर्मचारीबाट अवैध दर्ता गरेको पाइएको छ ।’ प्रतिवेदनअनुसार जग्गाको नक्सा ‘ग्राउन्ड टु म्याप’ हुनुपर्नेमा फेवातालको उत्तर पश्चिमतर्फको सयौं रोपनीको नक्सा ‘म्याप टु ग्राउन्ड’ छन् । यो फिल्डमा नगई कोठामै बसेर कोरिएको नक्सा रहेको र यस्तो नापी कतै पनि नहुने प्रतिवेदनको ठहर छ । २०३१ सालमा फेवातालको बाँध भत्केपछि पानी सुकेको अवस्थामा २०३४ सालमा भएको नापीका क्रममा धेरै जग्गा व्यक्तिले अवैध नापी गरेका हुन् । २०४२ सालमा बाँध पुनर्निर्माण भएपछि पानीको आकार बढेसँगै उक्त जग्गा अहिले पानीमुनि परेको छ भने जग्गाधनीले आफ्नो जग्गा देखाउन नसक्ने अवस्था छ ।

ताल किनारबाट ६५ मिटरभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने मापदण्ड तोकिए पनि अतिक्रमण गर्ने क्रम रोकिएको छैन । तत्कालीन पोखरा उपमहानगरपालिकाद्दारा गठित फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले २ वर्षअघिको अर्को प्रतिवेदन अनुसार मापदण्ड विपरीतका २ सय ४ वटा घरटहरा बिना नक्सा बनाइएको थियो । त्यसयता पनि बनाउने क्रम नरोकिएको र के कति बने भन्ने यकिन नभएको इन्जिनियर महेन्द्र गोदारले बताए,

कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्