Logo

दरबारमार्गको डरलाग्दो घटना लुकाउन पीडित युवतीकै बाआमाको रोहबरमा मिलापत्र

स्तावेज,माघ २१ गते आईतवार,२०७४,काठमाडौं– माघ ७ गते कमलादीको ल्यान्डमार्क होटलमा भएको भनिएको सामूहिक बलात्कार प्रकरणको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु मुख्य अभियुक्तहरुका साथी हुन्, जो घटनाका दिन सँगै उक्त होटलमा बसेका थिए।

पक्राउ परेका दुई जना हेटौंडाका व्यक्तिहरु हुन्। घटनामा उनीहरुको संलग्नता प्रस्ट भइनसकेकाले नाम सार्वजनिक गरिएको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशी नेतृत्वको छानबिन समितिले उनीहरुसँग घटनाबारे सोधपुछ गरेको छ। पक्राउ परेकामध्ये एकले होटल बुक गरेका थिए भने अर्का व्यक्ति युवतीलाई लिन गएका थिए।

युवतीले आफूमाथि चार युवकले सामूहिक बलात्कार गरेको उजुरी प्रहरीमा दिएकी छिन्। जसमध्ये शैलेश कार्कीलाई मात्र उनले चिनेकी थिइन्। कार्कीले भेट्न बोलाएर उनका साथीहरुसँग जबर्जस्ती सम्बन्ध राख्न लगाएको उनको दाबी छ।

सुरुमा उनले प्रहरीमा उजुरी गरेर कार्कीलाई पक्राउ गराएकोमा पछि मिलापत्र भएको थियो। आर्थिक लेनेदेनमा मिलापत्र भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पछि घटना बाहिर आएपछि पीडितले प्रहरीमा जाहेरी दिएकी हुन्। उनले शैलेश कार्की, विकास गौतम, दीपक गौतम र रवि पौडेलविरुद्ध जाहेरी दिएकी छिन्। उनीहरुमध्ये विकास गौतम हेटौंडाका क श्रेणीका ठेकदारका छोरा हुन् भने दीपक गौतम सुन तस्करीमा संलग्न व्यक्ति भएको स्रोत बताउँछ।

महानगरीय प्रहरी परिसरका एसपी जोशीले घटनाको अनुसन्धान भइरहेको र साँझसम्म केही तथ्यहरु सार्वजनिक गरिने बताए।

मिलापत्रमा सहयोग गरेको आरोपमा प्रहरीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ भने इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरेको छ। डिएसपी तिलक भारतीलाई वृत्तबाट परिसरमा तानिएको छ।

आमा–बुबाकै रोहबरमा भएको थियो मिलापत्र
घटनाको भोलिपल्ट पीडित युवतीका आमाबुबाकै रोहबरमा मिलापत्र भएको खुलेको छ। प्राप्त मिलापत्रमा युवतीले आफूले रिसको आवेगमा उजुरी गरेको र अब कतै पनि उजुरी नगर्ने उल्लेख गरेकी छिन्। जसमा युवतीका आमा/बुबा तथा मुख्य अभियुक्त कार्कीकी आमाले समेत हस्ताक्षर गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्