Logo

एक सफल महिला उध्यमीको सफलताको कथा

ल्पना योङहाङ लिम्बु सामाजिक,राजनीतिक र व्यवसायिक क्षेत्रमा कुनै नयाँ नाम होइन । नेपाल लगायत संसारभर एक छुट्टै पहिचान बनाउन सफल “ढाका”कपडाको उत्पादन गरी नेपालीहरूको नाम र शानलाई उँचो राख्न अहोरात्र खटिएकी मेहनती उध्यमीको नाउँमा उहाँको नाम अग्रपङ्क्तिमा आउँछ ।

मानव जीवनको आदिम कालदेखि आजको अवस्थासम्म आईपुग्दा विकासका चरणहरू नारी पुरुषको समान उत्तरदायित्वका कारणले गर्दा नै सम्भव भएको मान्न सकिन्छ । विगतका समयहरूमा महिलाको कुरा होस् या पुरुषको नै किन नहोस् । जुनसकै आरोह अवरोहमा पनि एक आपसको सहयोग एवं साथको कारण मानव समाजले यतिबिघ्न फड्को मारेको हो । इतिहासका हरेक कालखण्डमा महिलाहरूले सामाजिक परिवर्तनका लागि समाजमा अनुकरणिय भूमिका निर्वाह गरेको थुप्रै उदाहरणहरू छन् । चाहे पूर्वीय संस्कृति होस् या पश्चिमा संस्कृतिबाट होस् नारीले समय समयमा खेलेका भूमिकाले नै आजको विश्वले विकास निर्माणको सवालमा यहाँसम्मको गतिलिन सकेको हो ।

व्यावसायिक क्षेत्र अवलम्बन गरी आफ्नो लागिमात्र नभएर अरूका लागिपनि जीवन जिउने आधार तय गर्न सफल एक सफल महिला उध्यमीको नाम हो कल्पना योङहाङ लिम्बु । साना तथा घरेलु उध्योग अन्तर्गत परम्परागत संस्कृति एवं मूल्य मान्यताहरूसँग जोडिएको ढाका कपडाको उत्पादन गरी सफलताको शिखर चुम्न सफल कल्पना योङहाङ लिम्बुको गोकर्णस्थित “द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिक” नामक घरेलु उध्योग सञ्चालन भइरहेको छ ।

अहिले मुलुकमा नेपाली मौलिकताको पहिचानको लागि प्रमुख उदाहरण बनेको ढाका कपडा बुनाई उध्योगको बिस्तार भइरहेको छ । जसको कारण मुलुकभित्रै रोजगारीको वातावरण मात्रै बनेको मात्र छैन मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउन समेत थप मद्धत पुर्याएको छ । पछिल्लो समयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा आय आर्जनको मुख्य आधार बनेको ढाका कपडा उध्योग खोलेर व्यवसायिक रुपमा अगाडी बढ्ने उध्यमी महिला हुन् कल्पना योङहाङ लिम्बु ।

बुबा सुबान सिङ र माता जसरानी योङहाङको कोखबाट पाँचथरको थर्पुमा जन्मेकी कल्पना योङहाङको बाल्यकाल गाउँमै बित्यो । आफ्नो बुबा शिक्षक भएकोले आफ्नो बुवाले खोल्नुभएको विध्यालयमा उहाँले प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । १३ वर्षको कलिलो उमेरमा विवाह भएपछि २२ वर्षको उमेरमा नै उहाँ दुई सन्तानको आमा बनिसक्नुभएको थियो । सन्तान जन्मिएपछि उहाँको दुःखको दिन शुरु भयो । दुवै बालबच्चा लालनपालन,शिक्षादीक्षाको अभिभारा सबैको जिम्मेवारी उहाँकै काँधमा आयो ।

आम्दानीको कुनै श्रोत नभएपछि उहाँले आय आर्जनको बाटो खोज्न थाल्नुभयो । कठिन संघर्ष पश्चात खासाको व्यापार,फर्निचरको व्यवसाय,कपडाको व्यापार आदिजस्ता व्यवसायबाट अपेक्षित सफलता हासिल गर्न नसकेपछि आफैँले सिकेको सिपबाट केही गर्ने दृढ अठोट बोकेर रु. १५ हजार ऋण लिएर उहाँले ढाका कपडा बुन्ने व्यवसाय शुरु गर्नुभयो । तर उहाँको व्यवसायले उल्लेखनीय सफलता हासिल गर्न सकेन । शुरु शुरुका दिनहरूमा उहाँमाथि अनेक चुनौतीहरू आए ।

२ वर्षसम्म त उहाँ अन्योलमा पर्नुभयो । आफूले उत्पादन गरेको बस्तुको सही बजार नपाउनु उहाँको लागि दुर्भाग्य थियो । तैपनि उहाँले हार खानु भएन । बजारमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने बारेमा उहाँले निरन्तर अभ्यास गर्न थाल्नुभयो । आफ्नो व्यवसायको प्रचार प्रसार र प्रवर्द्दन गर्न उहाँ दिनरात लागि पर्नुभयो । उत्पादनको सही बजारको लागि समयको माग अनुसारको कपडाको रंग संयोजनका साथै जात जाती रहनसहन भेषभुषाको उत्पादन गर्न उहाँ लागि पर्नुभयो ।

बालक,जवान, वृद्धाले लगाउने पहिरनमा भिन्नता छुट्टयाई समयको माग अनुसार उपादन गर्न सकेमा बजारिकरण गर्न सहज हुने उहाँको ठहर थियो । तसर्थ उहाँले आफ्नो उत्पादनको विभिन्न ठाउँमा फेशन शो गर्ने,टेलिभिजन,पत्रपत्रिका मार्फत प्रचार प्रसार गर्न लाग्नुभयो । जसको फलस्वरुप आज उहाँको उत्पादनले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सफल भएको छ ।

पाँचथर जिल्लामा जन्मिएर काठमाण्डौंको गोकर्णलाई कर्मथलो बनाउनुभएकी कल्पना योङहाङ लिम्बु सानैदेखि मेहनती स्वभावको हुनुहन्थ्यो । शालीन, हँसिली एवं धैर्यशील श्री योङहाङ अफिस आवरदेखि गोकर्णस्थित आफ्नो कार्यालय मा हमेशा व्यस्त हुनुहुन्छ । मुलुकको लागि केही गरेर देखाउने उहाँको चाहना एवं तीव्र ईच्छ्याशक्तीको कारण उहाँले सानैदेखि आफ्नो आमाले अँगाल्दै आएको पेशा ढाका कपडाको उत्पादनलाई व्यवसायिक रूपमा अगाडि बढाउन सफल हुनुभएको छ । २०६२ सालमा द हाईल्याण्ड आर्ट को नाममा घरेलु तथा साना उद्योगमा दर्ता गरी सुरु गरिएको उनको व्यवसाय २०६४ सालमा कल्पना ढाका बुटिकको रूपमा विधिवत् रूपले स्थापना गरियो । तत्पश्चात् यो द्रुततर गतिमा अगाडि बढिरहेको छ । 

“द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिक”ले अनलाइन सपिङ मार्फत व्यावसायिक रूपमा नेपाल साथै विश्वको कुना,कुनामा आफ्नो उत्पादनलाई बजारीकरण गरिरहेको छ । एकल लगानीमा खोलिएको उक्त कम्पनीमा हाल २०० जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।
यसका साथै उक्त कम्पनीबाट हालसम्म विभिन्न क्षेत्रका बेरोजगार एवं विपन्न महिलाको आयस्तर माथि उकास्ने उद्धेश्यले सञ्चालन गरीएकोे तालिममा सहभागी भई करिब ५०० महिला तथा पुरुषहरूले ढाका बुन्ने तालिम तालिम लिईसकेका छन् ।

जसमध्ये एकल महिला,बेचिएका चेली,गरिब दुःखी,टुहरा,श्रीमानद्धारा उपेक्षित महिलाहरूलाई तालिम दिनुकासाथै रोजगारको पनि व्यवस्था गरिदिनुभएको छ । ३२ जनाभन्दा बढी परिवार र उनका छोराछोरीहरूको भविष्यको लागि जोड्न पाएकोमा उहाँ अत्यन्त खुशी हुनुहुन्छ । व्यवसाय फस्टाउँदै गएपछि तान थप्दै लगेर उहाँले आफ्नो व्यवसाय बिस्तार गर्नुभएको हो ।

द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिकबाट ढाका कपडा लगायत खाँडी र अल्लोबाट बनाइएको कपडाहरुपनि उत्पादन गरिन्छ । उहाँको कम्पनी व्यावसायिक गतिमा अगाडि बढिरहेको छ । “द हाईल्याण्ड आर्ट एण्ड कल्पना ढाका बुटिक”बाट उत्पादित साडी,दौरा सुरुवाल,सल,लेहेंगा,ज्याकेट,कोट,चोलो,मफलर,टाई ,टोपी,पर्दा,झोला,सोफाको खोल, विभिन्न किसिमका उत्पादन एवं पहिरनहरूको डिजाइन गरी अनलाइन सपिङ मार्फत स्वदेश लगायत विदेशमा निर्यात गरिरहेको छ । उक्त उत्पादनहरू क्यानाडा,अष्ट्रेलिया ,सिंगापुर,ब्रुनाई,जर्मनी,क्यानाडा,अमेरिका,जापान,लगायत अन्य देशहरूमा उनको उत्पादनहरू बिक्री वितरण भइरहेको छ । भविष्यमा आफ्नो व्यवसायलाई देशभर बिस्तार गर्ने उहाँको योजना रहेको छ ।

ढाका कपडा उत्पादन गरी मुलुकको नाम र दाम कमाउन सफल कल्पना योङहाङ लिम्बुले नेपाल कृषि प्रधान देश भएकोले कृषिमा प्रशस्त सम्भावना भएको र मुलुकलाई समृद्ध बनाउन कृषिमा पनि अगाडी बढ्नुपर्ने महसुस गरी पछिल्लो समय व्यावसायिक कृषिमा समेत उहाँ आकर्षित हुनुभएको छ । हाल उहाँले कृषि फर्म दर्ता गरेर माछा पालन र कुखरा पालन र बंगुरपालन गर्नुभएको छ ।  श्री योङहाङको कृषि फर्मबाट ३ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् । नेपालमा उपलब्ध श्रोत साधनको सही पहिचान र सदुपयोग गर्न सकेमा विदेश रोजगारको लागि पलायन हुनु नपर्ने उहाँको विश्वास छ ।

उहाँको लगातारको मेहनत लगनशिलताको उच्च मुल्यांकन गर्दै विभिन्न संघ संस्थाहरूले मान सम्मान र पुरस्कारले उहाँलाई सम्मानित गरिसकेका छन् । अथक मेहनत पश्चात आफूलाई एक सफल महिला उध्यमीको रुपमा उभ्याएर राजनीतिक सामाजिक र आर्थिक क्षेत्रलाई सँगसँगै अगाडी बढाउँंदै आएकी एक सफल फेशन डिजाईनर तथा व्यवसायी कल्पना योङहाङ लिम्बुको दस्तावेज परिवार उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

  Deepshikha Sharma

[email protected]

प्रकाशित मिति, २०७४ साल माघ १७ गते, बुधवार 

प्रतिक्रिया दिनुहोस्