Logo

गौचन हत्याकाण्डः कार्यदल र सीआईबीको अनुसन्धान बाझिएको खुलासा

स्तावेज, पौष १३ गते विहिवार २०७४,काठमाण्डौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई गोली हानी हत्या गरिएको घटनाको विषयमा छानविन गर्न गठित कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान रिपोर्ट बाझिएको छ ।

कार्यदल र सीआईबीको अनुसन्धान रिपोर्टमा घटनामा प्रयोग भएका सुटरबारे मत बाझिएको हो । गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गौचनको गोली हानी हत्या भएको थियो । उक्त घटना अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीको नेतृत्वमा कार्यदल गठन भएको थियो ।

कार्यदलमा प्रहरीको विशेष ब्युरो, सीआईबी, अपराध महाशाखा र महानगरीय प्रहरी आयुक्त कार्यालयका अधिकारीहरु संलग्न थिए ।कार्यदलले गौचनको हत्या भएको एक महिनापछि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको थियो । नुवाकोटका २१ वर्षीय राजीव स्याङ्ताङले गौचनलाई गोली प्रहार गरेको भनाइ कार्यदलको थियो ।

सीआईबीले गरेको अनुसन्धानले भने घटनामा सुटरका रुपमा श्याम गोम्बे र अमरबहादुर राणा प्रयोग भएको देखाएको छ । कार्यदलले गोली प्रहार गर्ने व्यक्ति भएको दाबी गरेका स्याङ्ताङलाई सीआईबीले समीरमानसिंह बस्न्यातका मुख्य सहयोगीमध्येका एक व्यक्ति मानेको छ । श्याम र अमर नेपाली सेनाका भगौडा हुन् । उनीहरु अझै फरार छन् ।

समीरमान भारतमा थिए कि चितवनमा ?

कार्यदलका संयोजक डीआईजी गणेश केसीले घटनामा संलग्न पाँच जनालाई सार्वजनिक गर्दै गौचन हत्याकाण्डका मुख्य योजनाकार समीरमान भएको बताएका थिए । र, कार्यदलले उनी भारतमा लुकेर बसेको आशंकामा खोजी तीव्र बनाएको थियो ।

यद्यपि, सीआईबीले ८ मंसिरमा घटनाका मुख्य योजनाकार समीरमानलाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै कार्यदललाई नै चकित बनाइदियो ।

अर्को चकित पार्ने कुरा त के छ भने सीआईबीले समीरमानलाई चितवनबाट समातेर ल्याएको दाबी गर्दै गर्दा कार्यदल भने भारतको बैंगलोरमा उनी लुकेर बसेको स्थान र स्काइप आईडी पाएको बताउँदै पक्राउ गर्ने तयारीमा थियो ।

प्रहरीका केही अधिकारीहरु भने सीआईबीले भारतबाट पक्राउ गरेर ल्याई चितवनमा केही दिन राखेर काठमाडौं ल्याएको दाबी गर्छन् ।

सीआईबीले उनलाई सार्वजनिक गर्दा अर्को एउटा महत्वपूर्ण विषयसमेत बतायो । त्यो हो, करिब एक वर्षदेखि बस्नेत र पुनबीच कुनै सम्बन्ध छैन । गौचनको हत्यामा पुनको संलग्नता नरहेकोतर्फ सीआईबीको संकेत थियो, त्यो ।

गौचनको हत्याअघि ४ पुस ०७३ मा रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या र २९ चैतमा काठमाडौं गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको जिम हाउसमा दाबा लामामाथि भएको गोली प्रहारपछि सीआईबीले समीरमानलाई खोजी गरिरहेको थियो ।

गौचन हत्या अघिदेखि नै उनलाई खोजी गरिरहेकाले उक्त घटनालगत्तै पक्राउ गर्न सफल भएको सीआईबीको दाबी छ ।

के भन्छन् कार्यदल र सीआइबीका प्रमुख ?

कार्यदल प्रमुख डीआईजी केसी घटनामा दुई वटा गोलीको प्रयोग भएको बताउँछन् । सीआईबी र कार्यदलको प्रतिवेदन फरक परेको विषय अनुसन्धानकै क्रममा रहेकाले अहिले नै केही भन्न नसकिने उनी बताउँछन् ।

सीआईबी प्रमुख कार्की पनि अनुसन्धान जारी रहेको बताउँदै यस विषयमा धेरै कुरा बताउन चाहँदैनन् ।

समीरमान प्रहरी परिसर काठमाडौंले ‘ए ग्रेड’मा राखेका गुण्डा हुन् । उनी केही वर्षयता नेपाल र अन्य मुलुकमा रहेर व्यावसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप र व्यक्ति अपहरणलगायत अपराधमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

उनी अहिले सीआईबीको हिरासतमा छन् । उनको मुद्दा भने काठमाडौं प्रहरी परिसरमा चलिरहेको छ ।

गौचनले आफ्नो कन्स्ट्रक्सन कम्पनीमा कुमार घैंटेमार्फत् लगानी भित्र्याएका थिए । र, त्यही रकमसम्बन्धि विवादमा घैंटेको हत्या भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

घैंटे समूहमा रहेका समीरमानले घैंटेको मृत्युपछि गौचनसँग अढाइ करोड रुपैयाँ माग गर्दै आएका थिए । तर, गौचनले रकम दिन नमानेपछि उनको गोली हानी हत्या भएको प्रहरीको ठम्याइ छ ।

 

प्रतिक्रिया दिनुहोस्