Logo

भवन भट्टले किनेको निगमको बोइङले दिल्ली उडान भर्ने

स्तावेज संवाददाता, आश्विन २६ गते बिहिवार, २०७४,काठमाडौँ – भवन भट्टको टिबीआई समूह अन्तर्गत रहेको बीबी एयरवेजले नेपाल एयरलाइन्सको बोइङ ७५७ किनेको छ । व्यवसायिक रूपमा उडान अयाेग्य भएकाे भन्दै नेपाल एयरलाइन्सले बिक्रीका लागि राखेकाे कर्णाली नामकाे उक्त विमान बीबी एयरवेजले टेन्डरमार्फत किनेकाे हाे । विमान किन्नकाे लागि बीबीले १ कराेड ५५ लाख रुपैयाँ निगममा बुझाइसकेकाे स्राेतले जानकारी दिएको छ ।

यसअघि विमान बिक्रीका लागि अन्तर्राष्ट्रिय टेन्डर आव्हान गरेपनि कसैले चासाे दिएका थिएनन् । पछिल्लाे टेन्डरमा भट्टकाे एयरवेजले १५ कराेडमा उक्त विमान किन्ने प्रस्ताव गरेकाे थियाे। १५ करोड रुपैयाँमा किनेको सो बोइङ मर्मतपछि काठमाडौं-नयाँ दिल्ली मात्र उडान गर्ने आफूहरूको योजना रहेको सिईओ अनिमेष कुमार मिश्रले सेतोपाटीलाई जानकारी दिए।

बोइङ मर्मतका लागि मलेसिया लैजाने वा दिल्ली लैजाने निर्णय हुन बाँकी रहेको उनले बताए। ‘बीबी एयरवेज फेरि संचालनमा आउँदैछ,’ सिईओ मिश्रले भने, ‘सुरूवात हामीले नेपाल एयरलाइन्सको बोइङबाट गर्न लागेका छौं  ।’

निगमले सार्वजनिक उडान गर्न नमिल्ने भन्दै यो पुरानो जहाज बेच्ने निर्णय गरेको थियो। सिईओ मिश्रले भने कुनैपनि हवाइजहाज उडाउनै नहुने गरि पुरानो नहुने बताए। ‘निगमसँग किनिएको बोइङ उडाउन मिल्ने अवस्थामा छ। एयरक्राप्ट कहिल्यै पुरानो हुँदैन, समय अनुसार सामानहरू परिवर्तन गर्दै जानुपर्ने हुन्छ,’ उनले भने।

उडाउन नमिल्ने भए १५ करोड रुपैयाँ हालेर आफूहरूले किन्नुको कुनै अर्थ नरहने पनि उनले जिकिर गरे। ४ महिनाभित्रमा आफूहरूले बोइङमार्फत दिल्ली उडान थालिने मिश्रले बताए। निगमको बोइङसँगै अर्को बोइङ पनि किन्ने कुरा भइरहेको उनले बताए। बोइङबाट सेवा सुरू गरेपछि एयरबस किन्ने योजनामा आफूहरू रहेको पनि मिश्रले बताए।

बीबी एयरवेजले नेपालमा यसअघि २०६९ साल भदौ ८ गते व्यवसायिक उडान थालेको थियो। पहिलो उडान उसले मलेसिया गरेको थियो । उडान सुरू भएको ३ महिनामा सो सेवा बन्द भएको थियो। बीबी एयरवेजले २०२ क्षमताको एयरबस लिजमा लिएर सो सेवा सुरू गरेको थियो।

टीवीआई ग्रुपको मातहतमा करीब २१ वटा कम्पनी रहेका छन् । रियल स्टेट, कन्सट्रक्सन, ट्राभल एण्ड ट्रेड, होटल, वेभरेज, मिडिया लगायतका क्षेत्रमा उनको लगानी छ । त्यसमध्येको एक टीवीआई फुड्सले अहिले जापानमा २ सय भन्दा बढी रेष्टुराँ संचालन गरिरहेको छ। यो समूहको आम्दानीको मुख्य स्रोत तिनै रेष्टुराँ हुन् ।

प्रतिक्रिया दिनुहोस्