Logo

‘उड्ने ट्याक्सी’बनाउन कम्पनीहरूको प्रतिस्पर्धा

स्तावेज भाद्र ३० गते शुक्रवार २०७४ – विज्ञानको चमत्कारका कारण हामीले कल्पना पनि नगरेको कुरा आज हामी देख्न भोग्न र महसुस गर्न पाइरहेका छौँ । प्रविधिको विकासले आज विश्व नै साँघुरो बनाईदिएको छ जसको वावजूद केही समयमा नै सम्पूर्ण विश्व भ्रमण गर्न सकिने भएको छ । जतिजति नयाँ आविष्कारहरु भएका छन् मानव जातिमा अझ बढी चुनौती थपिएको छ । सडकहरुमा बिना चालकको ट्याक्सी गुड्ने कुरा दन्त्यकथाहरुमा तपाईहरुले पक्कै सुन्नु भएकै होला ।

दन्त्यकथालाई वास्तविकतामा परिणत गर्न विभिन्न कम्पनीहरू अहोरात्र खटिरहेका छन् । ‘ड्राइभरलेस’ त्यस्ता कार र ट्याक्सीलाई मोडिफाइड गरी उड्ने बनाउन विभिन्न कम्पनीहरू अहोरात्र खटिरहेका छन् । छिटोभन्दा छिटो प्रयोगमा ल्याउन यसका लागि तँछाडमछाड भईरहेकै बेला हवाई ट्याक्सी ‘एयर ट्याक्सी’ उडाउने तयारी सुरु गरिएको छ । सुन्दा अपत्यारिलो लागेपनि अबको तीन महिना भित्रै दुबईको आकाशमा उड्ने ट्याक्सीको व्यावसायिक परीक्षण हुँदैछ ।

आविष्कारको होडवाजीसँगै हावामा बिना पाइलट यात्रा गर्ने अत्याधुनिक आविष्कारको खोजी भइरहेको सन्दर्भमा दुबईले सबै मुलुकलाई उछिनेको छ । उसले पाइलट विहीन स्काई ट्याक्सीको परीक्षण शीघ्र गर्ने घोषणा गर्दै यसको तयारी थालिसकेको छ । दुबईको टेक कम्पनीले मानिसको दैनिक यात्रा सहज बनाउनका लागि ‘ड्रोन कम्पर’बनाउन जुटेको हो । जसमध्ये पाइलट विहीन हवाई–ट्याक्सी बनाउन जुटेका कम्पनीहरू विश्वमा चारवटा भएको बताइएको छ । तिनीहरुबीच गिनीज बुक अफ वर्ल्ड रेकर्डमा“पहिलो को बन्ने ?” भन्ने विषयमा सनसनीखेज प्रतिस्पर्धा नै चलेको छ ।

 

यसका लागि अघिल्लो जुनमा दुबईको सडक तथा यातायात प्राधिकरण आरटीएले जर्मन स्टार्ट अप कम्पनी “भोलोकोपर’ सँग सम्झौता समेत गरिसकेको छ । त्यसैले यसै वर्षको अन्त्य सम्ममा पाइलटविहीन ‘ड्रोन एयर ट्रयाक्सी’को निर्माण थाल्ने र त्यस लगतै परीक्षण गर्ने उसले घोषणा गरिसकेको छ । जसको लागि कम्पनीले लगानीकर्ता समेत खोजी सकेको छ । उक्त ट्याक्सीको निर्माणको लागि जर्मन कार उत्पादक कम्पनी “डेम्लर”ले उसलाई २ करोड ५० लाख युरो उपलब्ध गराउने भएको छ । “डेम्लर” ले दुईजना यात्रुसहित उड्न सक्ने “१८–रोटर क्राप्ट” निर्माण गरिदिने लक्ष्यका साथ अघि बढेको हो ।

कम्पनीको प्रोमोसनल भिडियो अनुसार “भोलोकोप्टर ”ले सय किमिप्रति घन्टाको गतिमा आधा घन्टासम्म आकाशमा उड्ने ट्याक्सी बनाउने छ । उक्त टयाक्सीमा नौ वटा जति स्वतन्त्र व्याट्री प्रणाली जडान गरिनेछ । ती ब्याट्रीहरुले ३० मिनेटको यात्रालाई पावर संकटबाट मुक्त राख्ने दाबी कम्पनीको छ । यसैगरी, त्यो कोपरमा आपतकालिन अवस्थाका लागि प्यारासुट समेत राखिने छ । तथापि यात्रुलाई प्यारासुटको आवश्यकता नपर्ने गरी कोपरको विकास गरिंदैछ ।

दुबईको आरटीएले चीनको इहाङ्गसंग मिलेर यस्तै प्रकृतिको काम गरिसकेको छ । उसले ड्रोन निर्माताको एकल यात्रु बोक्ने “इहाङ १८४” को हवाई वाहनको परीक्षण गरिसकेको छ । यसो त, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठुलो सहर दुबईले गरेको प्रयास भयो । तर यतातिर लागेको उ एक्लो भने होइन । उसका कडा प्रतिस्पर्धीहरु छन् । अहिले पुरै विश्व एयर क्याबका लागि प्रतिस्पर्धाकासाथ साथ लागि परेको स्थिति छ ।

यसै वर्षको फेब्रुअरीमा सवारी साझा गर्ने ठुलो कम्पनी “उबर” ले नासाका प्रमुख प्राविधिक मार्क मूरेलाई “हवाई क्याब” बनाउनका लागि काम दिइसकेको छ । उनलाई कम्पनीले आफ्नो परियोजनाको विकासका लागि “अन–डिमाण्ड शहरी हवाई परिवहन”मा काम गर्न हालै नियुक्त गरेको हो । यसै गरी, फ्रान्सेली विमान निर्माता एयरबसले पनि प्रोटोटाइप एयर ट्याक्सी “भ्याहाना” को परीक्षण यसै वर्षको अन्त्य सम्ममा सुरु गर्ने जनाइसकेको छ । उसले सम्भवत सन् २०२० सम्ममा ‘भ्याहाना’ तयार गरिसक्ने दाबी गरेको छ ।

‘स्काई–क्याब’ वा ‘स्काई–कोपर’ जे भनेपनि यसको निर्माण जासुसी कार्यको लागि मानवरहित ड्रोनको निर्माणबाट सुरु भएको हो । तर, यसलाई दैनिक यात्रामा समेत प्रयोगमा ल्याउन सकिने गरी काम सुरु भइसकेको छ । सहरी क्षेत्रमा दिनप्रतिदिन बढ्दो ट्राफिक जामबाट उन्मुक्ति पाउन यस्तो हवाई ट्याक्सी उपयोगी हुने बताइएको छ । बीबीसीका अनुसार ब्राजिलको साओ पाउलो सहर ट्राफिक जामका लागि एउटा उदाहरण हुन सक्छ । संसारकै सबैभन्दा धनी सहरमध्ये १० औँ स्थानमा रहेको यो सहरमा १८० किमिसम्मको लामो लाइन लाग्ने गर्छ । कहिलेकाही त २९५ किमिसम्मै यो फैलिन्छ । त्यसको निराकरणको लागि कोशे ढुङ्गा साबित हनेमा बैज्ञानिकहरु विश्वस्त छन् ।

सडकमा सवारीको चाप बढ्दो छ, अझ सडकको अव्यवस्थित निर्माणले त जाम बढाएकै छ । अत्याधिक साधनहरुले हुने ट्राफिक जामले धेरै पटक सर्वसाधारणले सास्ती खेपेकै छन् । त्यसैले ‘हवाई ट्याक्सी’ व्यस्त सहरका सडकहरुमा दैनिक यात्रा गर्नेहरुका लागि एउटा बरदान हुन सक्छ । तर, त्यसका लागि केहीवर्ष अझै पर्खिनु पर्ने हुनसक्छ । काठमाडौँको सर्वाधिक जाम हुने सडकमा केबलकार चलाउने, मेट्रो रेल गुडाउने जस्ता भाषण नेपालीहरूले सुनैकै छन् । तर, यी भाषणको कार्यान्वयन हुनुभन्दा पहिले नेपालीले राजधानीको आकाशमा फुत्त फुत्त ‘हवाई–ट्याक्सी’ उडिसक्ने छन् । कछुवाको गतिमा नेपालमा हुने विकास निर्माण र विश्वमा द्रुतगतिमा भइरहेको प्रविधिको विकासले पनि यो सम्भावनालाई बल दिन्छ ।

अहिले ‘मेगालापोलिजस’ भनिने एउटा शब्द खुबै प्रयोग गर्न थालिएको छ । अत्याधिक जनघनत्व भएको सहरहरुको सङ्ख्या बढ्नु र त्यहाँ बन्ने गरेका ठूल्ठूला कम्प्लेक्सहरुको तीव्र गतिमा हुने विकासलाई यो शब्दले अर्थ्याउछ । बढ्दो ‘मेगालापोलिजस’ले पनि एयर ट्याक्सीमा मानिसहरूको ध्यान खिचिएको भन्दा अत्युक्ती नहोला ।

प्रविधि कम्पनीहरूको प्रयासकै फलस्वरुप इहाङ्गले एक यात्रु, भोकोप्टरले दुई, सिटी एयरबसमा चारदेखि ६ जना यात्रु बोक्ने गरीएयर ट्याक्सीको निर्माणको निश्चितता बनेको हो । यी मध्ये सबै कम्पनीले विध्युत प्रर्वधन कसरी गर्ने भन्नेतिर बढी जोड दिइरहेका छन् ।

हरियाली र शान्त वातावरणमा ठिक समयमै यात्रु गन्तव्यमा पुगोस् भन्ने उद्देश्य समेत यी कम्पनीहरूको छ । यसमा प्रयोग गरिएको हरिजन्टल क्षितिजत्तर रोटर प्रविधिले जनघनत्व बढी भएका सहरहरूमा भर्टिकल उडान भर्न र अवतरण गर्नमा सहयोग पुग्छ । त्यस्तै, यो बनाउन उपयोगमा ल्याइएका कार्बन फाइबर जस्ता मिश्रित सामग्रीहरुले यसको तौल कम बनाउन सहयोग गर्नेछ । कम तौल भएको अवस्थामा ऊर्जाको समेत बचत हुने विज्ञहरु बताउँछन् । तर, यसलाई व्यवहारमा कसरी उपयोगमा ल्याउन सकिन्छ र यो कति सस्तो हुन्छ भन्ने कुरो चाही हेर्नुपर्ने हुन्छ ।

‘उबर’ कम्पनीका मुरेका अनुसार हवाई ट्याक्सीको मूल्य तीन वा चार यात्रु बोक्ने कार जति नै हुन आउँछ, अर्थात् उबर एक्सको अहिलेको मूल्य मै यो खरिदगर्न सकिने छ । शक्ति र तौलको बिच सामन्जस्य कायम गरेर मात्रै व्यापारिक रूपमा यो साधनको उत्पादन गरिनेबारे प्राविधिकहरु ढुक्क रहेका देखिन्छन् । त्यसैले व्याट्रीको सपोर्टमा यो कति समय हावामा टिक्न सक्छ भन्ने कुराको पनि लेखाजोखा गरिंदै छ । यसमा प्रयोग गरिने ब्याट्री कति टिकाउ हुन्छ भन्ने कुरोको परीक्षण गर्न भने बाँकी नै छ । मोबाइलमा छिनछिनमा ब्याट्री जाने कुरो कसैलाई मन नपरे झैँ यसमा पनि ब्याट्रीको अवस्था त्यस्तै रहने हो भने धेरैले त्यति नरुचाउन सक्छन् । खास गरी एयर टयाक्सीमा यात्रा गरिरहेको अवस्थामा व्याट्री डाउन हुने संकेतले मात्रै पनि यात्रुलाई झर्को लाग्न सक्ने सम्भावना रहन्छ ।

यसलाई उन्नत बनाउने सोचमा प्राविधिकहरु लागेका छन् । चीनको इहाङ ड्रोन हालसम्म २३ मिनेट हावामा उड्न सक्छ । अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसन ‘एफएए’ नियमनले यस्तो अवस्थामा विमानलाई थप २० मिनेटको ईधनको आवश्यकता पर्ने जनाएको छ । यसले ड्रोनको व्यापारिक सिमिततालाई प्रभावित पार्न सक्ने आंकलन समेत गरिएको छ । इजरायलको सहरी एरोनाटिक्सका उपाध्यक्ष जानिना फ्रान्केल योएलीले यसैलाई एउटा समस्याका रूपमा चित्रण गरेका छन् । तर मुरे भने ब्याट्रीमा सुधार गर्न सकिने धारण राख्छन् । उनी भन्छन्, ‘ ब्याट्रीमा सुधार भएको अवस्थामा सन् २०२३ सम्ममा आकाशमा हवाई टयाक्सी उडेको हेर्न सकिनेछ ।’

उनका अनुसार यो अवधिमा उबरले पहिलो लटमा ५० वटा एयर ट्याक्सीको निर्माण गरिसक्ने छ । ब्याट्रीको रिचार्जिङ गति र क्षमतामा सुधार भएसंगै विश्वमा इलेक्ट्रिक कार निर्माणमा लगानी ह्वात्तै बढेकाले पनि उनी हौसिएका हुन् । फेरी स्काई ट्याक्सीलाई लामो समय आकाशमै राख्नुपर्छ भन्ने सोच कुनैपनि कम्पनीले राखेको पाइदैन । मुरे थप्छन्, ‘लामो ट्रिपका लागि ६० माइलनै यसले पार गर्नुपर्छ भन्ने छैन । यहाँ त रेन्ज भन्दा पनि रिचार्जिङ क्षमता नै महत्त्वपूर्ण कुरा हो ।’

रिचार्जिङमा सुधार गर्न सकिने थुप्रै सम्भावना रहेकाले सन २०२३ सम्ममा थुप्रै स्वचालित हवाई ट्याक्सी विश्व बजारमा आइसक्ने मुरेको तर्क छ । तर त्यसअघि यसमा ५ देखि १० वर्षसम्म डेटा कलेक्सन गर्नुपर्ने र स्काई टयाक्सी आकाशमा सुरक्षित छ वा छैन भनेर मनिटरिङ पनि गर्नुपर्ने आवश्यकता रहेको छ । यसैबिच दुबईले यो क्षेत्रमा आफ्नो दौड लगाई सकेको छ । शेख मोहम्मद बिन रसिद अल माक्तुमले २०३० सम्ममा २५ प्रतिशत सहरको आम यातायात स्वचालित भईसक्ने बताएका छन् । तथापि दुबई विमान उडानका लागि त्यति राम्रो हावापानी भएको सहर होइन भन्नेहरु पनि कम छैनन् ।

प्रतिक्रिया दिनुहोस्