ढुलमुलिएको नेपाली राजनीति
” राष्ट्रियताको भावना भोगाईहरुबाट जन्मिन्छ, एउटा व्यक्ति जन्मेपछी उसको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा पाएका सहानुभूति र समानुभुतीबाट राष्ट्रप्रतिको अपनत्वले राष्ट्रियताको भावना जगाउँछ । भावना मनभित्रबाट आउने हुनाले यसलाई ब्यबहार द्वारा महसुस मात्रै गर्न सकिन्छ, कृत्रिम रुपमा निर्माण गर्न सकिन्न । तर एउटा अकाट्य कुरा के छ भने राष्ट्रियताको भावना बिना राष्ट्र निर्माण हुन सक्दैन । चाहे जुन लुगा लगाइयोस, जुन भाषा बोलियोस यदि मनभित्र राष्ट्रियताको भावना छैन भने त्यसले राष्ट्रहित कदापी गर्न सक्दैन । “
– वीणा झा,समाजशास्त्री
अहिले देशका प्रधानमन्त्री शेर बहादुर देउवा ५८ जनाको टोली सहित भारत भ्रमणमा छन् । १ करोड ७५ लाखको बजेट क्याबिनेटबाट स्विकृत गराई भारत पुगेका देउवा कुनै नया इतिहास रचेका होइनन् । यसअघिका प्रधानमन्त्रीहरुले निभाउने परम्पराको निरन्तरता मात्रै गरेका हुन्। प्रचण्ड ४२ जनाको टोली सहित १ करोड १० लाख सिध्याएका थिए भने राष्ट्रबादीका रुपमा ख्याती प्राप्तगर्न प्रयासरत के. पी. ओलीले ५२ जनाको टोली सहित १ करोड ८३ लाख खर्च गरेका थिए । यिनीहरुका के उद्देश्य थिए, पुरा भए भएन त्यो अलग बिषय हो, तर दिल्लीबाट फर्किनासाथ केहि न केहि ब्यबहारगत परिबर्तन देखाउने परम्परा यथाबत नै छ । यसपालीको भ्रमणमा देउवाले दिएको भाषण र पुनः संबिधान संसोधन गराउनेछु भन्ने आश्वासनले सबै नेपालीलाई दु:खी बनाएको भए पनि यो ढुलमुलिएको राजनीतिको परिणाम हो भन्ने कुरा सबैले बुझेका छन् ।
कुनैपनि बिध्यमान समस्या निराकरण गर्न त्यसको असरको ब्याख्या भन्दा उत्पतिका कारणहरु के के हुन् र त्यसको जड़ कहाँ छ त्यो बुझ्नु जरुरी छ । यसले कसरी, कता र कति असर पार्दैछ बुझ्नको लागी गहन अध्यनको आवश्यकता हुन्छ । नेपालको सन्दर्भमा हेर्दा जहिले पनि समस्याको असरलाई आ-आफ्नो वाकपटुताले ब्याख्या र पुनर्ब्याख्या भइराखेको पाइन्छ जसले समस्याको निराकरण तर्फ कुनै योगदान पुग्दैन बरु असरका भयाबहताले गर्दा समाज झन त्रसित बन्दछ र कृत्रिम अभाव , कालाबजारी र असुरक्षाको भाव जन्मन्छ ।
नेपालका नेताहरु निकै भाग्यमानी छन् किन कि यहाँका जनता सोझा, राष्ट्रभक्त र सम्बन्ध प्रति संबेदनशील छन् । जनताको समस्या , पीडा र भोगाईलाई राजनीतिकरण गर्नमा व्यस्त यहाँका नेताहरु सुन्दर शब्दहरुले तयार पारिएका आश्वासनले भरिएका भाषणहरुद्दारा झुठो आसा देखाउदै जनतालाई भ्रममा राख्न सकेका छन् ।
युवाअवस्था सार्है संबेदनशील अवस्था हो जसलाई भावनात्मक रुपले सहजै झुक्याउन सकिन्छ । यो अवस्थालाई अवसरको रुपमा प्रयोग गर्न सिपालु सत्ताधारी र प्रतिपक्षीलाई इतिहासमा आफ्नो मुल्यांकन कसरी हुन्छ र आउदो पुस्ताले आफूलाई कसरी हेर्छ भन्ने कुराको कुनै वास्ता छैन । पहिला पो कसैलाई खुसी पार्न बनाइएका स्तुति गानलाई जस्ताको त्यस्तै इतिहास भनेर नामकरण गरिन्थ्यो र स्विकारिन्थ्यो किनकी सामाजिक चेतनाको स्तर धेरै माथि थिएन , अब उप्रान्त यो सम्भब छैन ।
राष्ट्रियताको भावना भोगाईहरुबाट जन्मिन्छ, एउटा व्यक्ति जन्मेपछी उसको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा पाएका सहानुभूति र समानुभुतीबाट राष्ट्र प्रतिको अपनत्वले राष्ट्रियताको भावना जगाउँछ । भावना मनभित्रबाट आउने हुनाले यसलाई ब्यबहारद्दारा महसुस मात्रै गर्न सकिन्छ, कृत्रिम रुपमा निर्माण गर्न सकिन्न । तर एउटा कुरा के अकाट्य छ भने राष्ट्रियताको भावना बिना राष्ट्र निर्माण हुन सक्दैन । चाहे जुन लुगा लगाइयोस, जुन भाषा बोलियोस यदि मनभित्र राष्ट्रियताको भावना छैन भने त्यसले राष्ट्रहित कदापी गर्न सक्दैन ।
राष्ट्रियता के शब्दहरुको संगालो मात्रै हो रु राष्ट्रिय गीत बज्दा यदि मुटुको ढुकढुकी बढ्दैन, राष्ट्रसँग आफ्नोपनको भाव महसुस गरिंदैन भने ति राष्ट्र गीतहरु सिनेमाघरमा बजून वा सार्बजनिक चोक –चोकमा , के फरक पर्छ र ?
आधारभूत आवश्यकता पुरा गर्न संघर्षरत नेपाली जीवनहरु जसलाई राज्यले कुनैपनि रुपले आफ्नोपनको अनुभूति गराउन सकेको छैन तिनका लागि त जति सुकै राष्ट्रियताले भरिएका शब्दहरु भएका भाषण वा भजन गाएर बास्तवमा राष्ट्रियता जगाउन सकिन्न । शब्दमा मात्र सिमित राष्ट्रियताले कति दिनसम्म राष्ट्रलाई जोगाउन सक्छ र ? यदि राष्ट्रियताको अनुभूति आम नेपाली माझ गराउन सकिएन भने खोक्रो राष्ट्रबादको नाराले राष्ट्रप्रेम बढाउन कतिको मद्दत गर्न सक्छ र ? आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर आफ्नो सिप र क्षमता बेच्न विदेशिनुको पीडा तथा त्यसका प्रक्रियाहरू पुरा गर्न भोगेका दु:खद भोगाईहरुले नेपाली मनमा कतिको राष्ट्रियता जगाउन सक्छ त्यो विचारणीय छ । तर यसको बारेमा विचार गर्न ढुलमुलिएको राजनीति गर्नेले सक्दैन । लाश गाड्न नेपाल न आउ भन्दै एउटा नेपालीको त्यागको अपमान गर्न सकिन्छ, राष्ट्रप्रेम जगाउन सकिन्न ।
भाषणमा बिकासका कार्यहरु सिमित गरिदिंदा आफ्ना कार्यकर्ता बाहेक आम जनताको चित्त बुझाउन सजिलो छैन । दिन प्रतिदिन कठिन बन्दै गैरहेको दैनिकी लोभलाग्दा भविष्यका योजनाहरु देखाउदै कति दिन झुक्याउन सकिन्छ र रु चाहे देशलाई सिंगापुर बनाउने कुरा होस् वा चुल्हा- चुल्हामा ग्याँसका पाइप जोडिने कुरा आम जनता बिचको बिश्वास बढ्नुको सट्टा घट्दै गएको प्रष्टै छ ।
पहिला पो बिज्ञान र प्रविधिमा आम जनताको पहुँच थिएन जसले गर्दा जहाँ, जसरी, जे बोलिदिदा पनि त्यसको असर र बिश्लेषण क्षणभर मै सर्बसाधारण समक्ष पुग्दैनथ्यो अहिले त कामको शिलसिलाले संसारका बिभिन्न ठाउँसँग आफूलाई जोडेका नेपालीले आधुनिक उपकरणसंग नजिकिएकाले अब तथ्य बिहिन भाषणले भ्रमित पार्न सकिन्न । यसकारण ढुलमुलिएको राजनीति गर्नेको भविष्य छैन भन्न अत्युक्ति न होला ।
यसले गर्दा उसो भो , उसले गर्दा यसो भनि सुन्दा सुन्दा वाक्क भएका नेपालीहरु समस्याका निकास चाहेका छन् नकी त्यसका कारण र प्रभावको बिश्लेषण । समस्याका कारण त यसका प्रभावले पीडित नेपाली जनता स्वयं बुझी सकेका छन् ,त्यो हो असक्षम नेतृत्व जसले ढुलमुले राजनीति गर्छ । कहिले भारतको बिरोध गर्दै यसलाई राष्ट्रिय स्वाभिमानको रुपमा परिभाषित गरिदिन्छ त कहिले चीनको कार्ड देखाई नेपाली माझ आशाका झिल्का देखाईदिन्छ अनि नेपाली स्वभावतस जति पीडा खेपेपनि आफ्नो राष्ट्रियताको सवालमा चुपचाप बस्न बाध्य हुन्छन् र सत्ताको खेल न बुझी बिश्वास र आसले कष्टकर दैनिकी भोगी रहन्छन् ।
यो तबसम्म निरन्तर चलीरहन्छ जबसम्म आम नेपाली अन्धराष्ट्रवादको परिभाषामा डुबी आफैमा लडीरहन्छ चाहे त्यो जात,क्षेत्र वा अन्य जुन सुकै आधारमा होस् । जब सबै नेपाली ले आ-आफ्ना लागी भन्दापनि एक –अर्काका लागी आवाज उठाउँदै हातेमालो गर्न थाल्छन् तबमात्र ढुलमुले राजनीतिको कुचक्रबाट देशलाई बचाउन सकिन्छ । चाहे त्यो डोल्पाका नेपाली हुन् वा मधेशका चाहे त्यो कर्णाली बासी हुन् वा काठमाडौँका जबसम्म एकले अर्कोको पीडा महसुस गर्न सक्दैन तब सम्म ढुलमुले राजनीतिज्ञहरुको अस्तित्व रही रहन्छ र यसले नेपाललाई कुनै पनि हालतमा समृद्ध बन्न दिंदैन किनकी यसमा दोषारोपण बाहेक केहि सुन्न पाइन्न ।
ढुलमुलिएको राजनीति भनेको पिंध न भएको घैटो जस्तै हो कुनबेला कता ढल्किने कुरा बाह्य बलले निर्धारित गर्छ । नेपालको सन्दर्भमा यो ठ्याकै मेल खान्छ । कतापट्टी, कुनबेला र कतिसम्म ढल्कीने भन्ने कुराको कुनै सिद्धान्त छैन । शब्द, कार्य र ब्यबहार बीच कुनै तालमेल भेटिन्न । प्राकृतिक रुपले हुने सामाजिक परिवर्तनहरु जसमा बिकृतिहरुको हाली मुहाली रहन सक्छ त्यसको निरन्तरता हो ढुलमुले राजनीति ।
अरुलाई रिझाउन ब्यस्त रहेका हाम्रा नेताहरुलाई न भूकम्प पीडितका पीडाले आफूतिर ढल्काउन सकेको छ न मधेशको बाढीको समस्याले मधेशतिर किन कि पिंध न भएको घैंटोको ढल्काइमा जहिले पनि बाह्यबल निर्णायक देखिन्छ न कि आन्तरिक ।
प्रकाशित मिति, २०७४ साल भाद्र १० गते शनिबार