Logo

पशुपतिमा तीजको रौनक, दर्शनार्थी महिलाहरुको भीड, बालिकादेखि वृद्धासम्म सेल्फी र नाचगानमा रमाउँदै

स्तावेज संवाददाता भाद्र ८ गते बिहीबार २०७४ काठमाडौं –  भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान पर्व तीज उमा महेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ ।

हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमा महेश्वरको आराधना गर्छन् । हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ।

यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तीजको व्रत बस्छन्। विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ। महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन् ।

हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा आज ठूलो घुइँचो लागेको छ। पशुपतिनाथमा बिहीबार सबेरैदेखि लागेको दर्शनार्थीको साँझसम्म उत्तिकै रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

 

दर्शनका लागि लाइन लाग्नेको भीड गौशाला, तिलगंगा र जयवागेश्वरीसम्म लामो छ । दर्शन गरिसकेका महिलाहरु विभिन्न समूहको आयोजनामा पशुपतिक्षेत्रभित्रै सांस्कृतिक कार्यक्रममा सहभागी भएका छन् ।

रातो पहिरनमा सजिएका उनीहरु छमछमी नाचेको दृश्य निकै रमाइलो देखिन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथै विभिन्न संघ संस्थाका स्वयंसेवकहरु लाइन मिलाउन खटिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्