Logo

विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका नारी पात्रहरु

— बरिष्ठ साहित्यकार,कृष्ण धराबासी

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादलाई प्रवेश गराउने प्रमुख लेखक विश्वेश्वरप्रसाद कोइराला कथा तथा उपन्यासका माध्यमबाट पाठक समक्ष परिचित छन् । लेखनका पछि कुनै खास उद्देश्य बोकेर कलम चलाउने उनका हरेक कृतिले कुनै न कुनै सन्देश बोकेकै हुन्छन् । अधिकांश कथाहरुले मनोवैज्ञानिक कुण्ठा र त्यसबाट मुक्तिको प्रयास गरेका छन् भने उपन्यासहरुले बृहत चिन्तनलाई नै विस्तार गरेका छन् ।

कथा तथा उपन्यासहरु सबैमा नारीहरुलाई प्रमुख पात्रको भूमिका जिम्मा दिएर लेखक आफ्ना केही विशेष कुरा भन्न चाहन्छन् । यसो गर्दा कतिपय लेखनमा आख्यानभन्दा ब्याख्यान बढी भएको अनुभव पनि हुन्छ, तर संवाद र व्याख्याहरुले बोकेको वैचारिक सघनताले औपन्यासिकतामा देखा परेका असहजताहरुलाई सजिलै छोपेको छ ।

वी.पी.कोइरालाले विषयवस्तुलाई नारीहरुका माध्यमबाट बढी प्रभावकारी बनाई प्रस्तुत गर्न सकिने बोध गरी पात्र संयोजन गर्ने गरेको देखिन्छ । जेल जीवनको ऐकान्तिकताको उपयोग गर्दै लेखिएका उनका छ वटा सबै उपन्यास नारी प्रधान भएर उभिएका छन् ।

(क) बी.पी.का नारी पात्रहरुमा सम्झौतावादीता:

उनका सम्पूर्ण उपन्यासहरुको अध्ययनपछि यो टुङ्गोमा पुगिन्छ कि विश्वेश्वरप्रसाद कोइरालाको लेखक व्यक्तित्व सम्झौतावादी छ । उनका हरेक पात्रहरु संघर्षका जतिसुकै गहिराईमा उत्रे पनि अन्त्यमा सम्झौताको विन्दुमा पुगेर समस्याको हल गर्दछन् । उनीहरुको बीचको आपसी सम्झौताबाट, उपन्यासले देखाएको संकेत भविष्यको निरन्तरतातिर छ ।

संघर्ष, विनाश र पलायनबाट हुने अमानवीय परिणतिका विरोधमा उपन्यासकार आफ्ना पात्रहरुलाई उभ्याउँछन् । जतिसुकै ठूलाठूला समस्या र अनमेलहरुको अन्त्यपनि यदि जीवनमुखी यात्रामा जानु छ भने, त्यो सम्झौताबाट मात्र सम्भव छ र मानिसको सृष्टिपछि आजसम्म आएको यो विकास र उन्नतिको वर्तमान पनि यिनै सम्झौताहरुको प्रतिफल हो । हरेक विवाद र संघर्षपछि, मानिसले अन्त्यमा सम्झौता गरेको छ र त्यही सम्झौताले उसलाई झन् झन् अघि बढ्न प्रेरित गरेको छ ।

तीन घुम्ती उपन्यासमा इन्द्रमायाको चरित्र संघर्षशील छ । ऊ आफ्नो दृष्टिकोण र आस्था उपर अत्यन्तै इमान्दार छे । सम्झौताका सबै शर्तहरुमा ऊ बराबरीको हकको दाबी गर्दछे । तर जब त्यो प्राप्त हुँदैन, ऊ विद्रोह गर्छे र आप्mनो निर्णयमा जीवनलाई लैजान्छे । यसरी लैजानुपर्दा ऊ आफ्ना बाबुहरुबाटै थाल्दछे र पिताम्बर कहाँ पुग्दछे । पिताम्बरबाट प्रेम लिन्छे र सन्तानका लागि रमेशसँग पुग्छे । तर जब पिताम्बर रमेशकी बच्चीलाई स्वीकार गर्दैन, ऊ आफ्नो निर्णय गर्छे र निस्कन्छे ।

बराबरीको सम्झौताको बदली जब पिताम्बरबाट उसले तिरस्कार पाउँछे ऊ पिताम्बरबाट आफूलाई मुक्तपारी छोरीसँगको एकांकी जीवन बिताउन लाग्छे । एकदिन छोरीले आफ्नो इच्छा अनुसारको युवक लिएर आउँछे । इन्द्रमाया त्यस युवकलाई स्विकारी दिन्छे । ऊ छोरीका इच्छाहरुसँग सम्झौता गर्दछे । उसले जीवनको एउटा त्यही उमेरको निर्णयले उसलाई यो अवस्थामा ल्याई पुर्याएता पनि ऊ छोरीका इच्छाहरुका विरुद्ध जान्न । यसरी एउटा संघर्षशील नारी इन्द्रमाया जीवनको उत्तरार्द्दकालमा नयाँ पुस्ताहरुसँग सम्झौता गर्दछे ।

सुम्निमा उपन्यासका पात्रहरुमा सम्झौताका झन् ठूला ठूला विचारहरु छन् । ब्राह्मण कुटीका वरिपरी गोवध आदिको विरोधमा सूर्यदत्तले राजकुमारलाई पोल लगाएपछि राजकुमारले सबै किरातहरुलाई बोलाई ब्राह्मण कुटीका आसपासमा त्यसप्रकारका क्रियाकलाप नगर्न हुकुम गरेको विरोधमा उग्र भएको किरात युवकलाई विजुवा सम्झाउँछ,

“बाँच्नलाई पो युद्ध गर्ने सल्लाह मान्न सकिएला तर मरेर पाइने धर्मका लागि युद्ध गर्ने कुरा किमार्थ पनि मान्न सकिन्न । ……… । उनीहरुको साँधभन्दा मास्तिर हाम्रो गाई काट्ने थलो सारिदिऊँ ।”

 यसरी सजिलैसँग एउटा विनाशबाट आफ्नो जातिको रक्षा गर्दछ, विजुवा दाइ । सुम्निमा आफ्नी छोरी र सोमदत्तको छोरोले आपसमा विवाह गरेपछि सम्झाउँछे ।

“तिमीहरु सम्झौताको बाटोमा अघि बढ्नु र तिम्रो सन्तानहरुले पनि सम्झौताको बाटोमा अघि बढ्न सिकुन् ।”
यसरी आर्य र किरातहरु बीच सम्झौता गरी आपसी युद्ध र हत्याहरुका विकल्पमा दुबैले आफ्ना केही शर्तहरु त्यागेर जीवनको आगामी बाटोमा अघि बढ्छन् ।

नरेन्द्र दाई अन्त्यमा त्यही परित्यक्ता गौरीका काखमा आएर सुत्छन् र भन्छन् ,

“गौरी ! हाम्रो घरमा यति राम्रो सफा र सिनित्त परेको एउटा मात्र कोठा छ भनेर मलाई कहिल्यै थाहा थिएन ।”
उनी आफ्ना कमजोरीहरु व्यक्त गर्दछन् प्रायश्चितार्थ । गौरी आफ्नो पतिकोप्रति कुनै पूर्वाग्रह राख्दिनन् र नि:स्वार्थ भावले सेवा गर्दछिन् ।
गौरी भाउजुकी सौता हुन आएकी मुनरियाप्रति रिसाएको सानोबाबु धेरै वर्षपछि वनारसमा मुनरियालाई भेटेपछि सम्झौता गर्दछ । मुनरियाभित्रका वेदनाहरु सुुनिसकेपछि आफ्ना सबै पूर्व धारणाहरुलाई त्यागी ऊ गौरीप्रतिझैं नै विवेकी भइदिन्छ ।

मोदिआइनकी “नारी” महाभारतको युद्धको विरोधमा छे । तेह्रवर्ष अघिको एउटा सानो कुरालाई उठाएर पुरुषहरुलाई युद्धका निम्ति प्रेरित गर्नुहुँदैन भन्ने उसको विचार छ । गीताको सत्य जतिसुकै सत्य भएपनि त्यो जीवनमुखी छैन । गीताको सत्य “कटु सत्य” होला । त्यसलाई अपनाउनै पर्ला पनि तर त्यो लोकप्रिय छैन । तसर्थ त्यो युद्ध जो नहुनु पर्थ्यो भयो र त्यसको परिणाम भने युगौंपछि पनि मछुवारिन र मोदिआइनमा आएर समेत बेरिएको छ ।

महाभारतको विनाश र वियोग भनेको हरेक युद्धसँग सम्बद्ध भएता पनि लेखकको दृष्टिकोण चाँही “नारी” बाट अभिव्यक्त दृष्टिकोण नै हो, जो युद्धको विरोधी छे र सम्झौता नै हुनुपर्यो भन्नेमा दृढ छे ।

हिटलर र यहुदीमा — हिटलरले जबरजस्ती विश्वलाई युद्धमा होमेको छ । लेखक हिटलरका विरोधमा छन् तर त्यति भएर पनि उनी यहुदीको समर्थनमा छैनन् । उनले वर्णन गरेका इल्जे, थियोडोरा, खोरण्डो आदि पात्रहरुको अभिव्यक्ति र जीवनको स्वरुप नै युद्धका विरुद्धको तिव्र प्रतिक्रिया हो ।

बाबु, आमा र छोरामा त सम्झौता अझ कठोर भएर देखाएको छ । प्रेमीबाट विछुडिएर एउटी बुढाकी दुलही भएर भित्रिएकी उमा हरेक क्षणहरुसँग सम्झौता गर्दै जान्छे र अन्त्यमा त्यो बुढोलाई नै प्रिय पतिका रुपमा ग्रहण गर्छे । प्रेमीको वीर्यबाट प्राप्त गर्भलाई बुढाको पुत्र बनाएर जन्माउँछे तर एकदिन त्यही प्रेमी नै उसको लोग्नेको जेठीपट्टिको छोरोको रुपमा घरमा आइपुग्छ । उनीहरु आपसमा आमा र छोराको रुपमा विधिवत् सम्झौता गर्दछन् ।

(ख) विद्रोह पक्ष : 

अधिकांश नारीहरु विद्रोही छन् । उनीहरुले आफूलाई स्थापित गर्नुपर्दा वा आफ्नो वैयक्तिक स्वतन्त्रताको खोजी गर्नुपर्दा उनीहरु परिस्थितिसँग आत्मसमर्पण गरी हार्न तयार छैनन । तीन घुम्तीकी इन्द्रमायाले आफैंले रोजेको लोग्नेको दबाब स्वीकार नगरी स्वतन्त्रताको मार्ग अवलम्बन गरी ।

नरेन्द्र दाइकी मुनरियाले बालविवाह गरिदिएको लोग्ने अस्वीकार गरी, आफूले त्यत्रो प्रेम गरेको सोमदत्तले तिमी मेरो समीप नआऊ भन्यो, सुम्निमाले सदाको लागि सोमदत्तलाई त्यागिदिई । मोदिआइनकी नारीले हरेकपल्ट कृष्ण र द्रौपदीको विरुद्धमा आफ्ना मतहरु व्यक्त गरिरहन्छे । हिटलर र यहुदीका इल्जे, थियोडोरा, मार्गरेटहरु अत्यन्त विक्षिप्त छन् ।

रेवा स्वच्छन्द र उन्मुक्त छे, परम्परागत नारी शिष्टता र मान्यताहरुबाट । बाबु, आमा र छोरामा जेठी पत्नीले लोग्नेको माया गरेकै जस्तो भाव व्यक्त गरे पनि आफ्नो शारीरिक अशक्ततामाथि सदा यौन इच्छा राखिरहने लोग्नेलाई सौता खप्न तयार भएको विचार व्यक्त गर्छिन् । उमाले मन नपरेको लोग्नेलाई एकाएक स्वीकार गरिदिएर पलायनवादी विद्रोहको बाटो समातेकी छ । विद्रोहका आ–आफ्नै शैलीहरु उनीहरुले प्रस्तुत गरेका छन् ।

(ग) बुद्धिपक्ष : 

अधिकांश नारीहरु बौद्धिक छन् । तिनीहरु औपचारिक शिक्षाबाट वञ्चित नै रहेका भए पनि अनुभवले तिनीहरु बौद्धिक देखिन्छन् । भिल्ल बालिका सुम्निमा–ब्राह्मण पुत्र सोमदत्तभन्दा कहाँ कहाँ बौद्धिक र वस्तुवादी छ । औपन्यासिक पक्षधरता पनि सुम्निमाकै पक्षमा छ । इन्द्रमायाको स्वतन्त्रताको चेत अत्यन्तै उन्मुक्त समाजको प्रतिनिधित्व गर्न सक्ने हैसियतको छ । गौरी भाउजु शारीरिक रुपले अविकसित र अशिक्षित देखिए पनि उनमा दार्शनिकताको पक्ष उर्ध्वमुखी छ ।

नारीले द्रौपदीसँग बौद्धिक रुपमा बहस गर्ने साहस गर्छे । ऊ श्री कृष्णलाई पनि गलत देखाउने सामथ्र्य राख्छे । आदर्शको पक्षमा लक्ष्मी र स्वतन्त्रताको पक्षमा रेवाको बौद्धिक शक्ति तुलनीय छन् । जेठी र उमा दुबै आ– आफ्ना विचारले उभिएका देखिन्छन् । एकछिनका लागि देखा पर्ने इल्जे, थियोडोरा, जुन्टु नानी, मछुवारिन, सान्नानी आदि सानो भूमिकाका लागि देखिएका नारी पात्रहरु पनि आफ्ना भूमिकाभरीमा बौद्धिक र तर्कपूर्ण छन् ।

समाज र घर परिवारमा सदा दोस्रो दर्जाको जीवन बिताइ आएको नारी जीवनलाई कोइरालाले तिनीहरु भित्रको क्षमता उत्खनन गरी देखाउने प्रयत्न गरेका छन् । अधिकांश नारीहरु नबोलेर, बोल्न नपाएर वा बोल्न नदिइएर सदा मौन र दुर्बोध्य भई वितिरहेका हुन्छन् । वी.पी.ले उनका प्रत्येक नारी पात्रहरुलाई सशत्तः जीब्रो दिएका छन् , तिनीहरु निर्भिकतापूर्वक बोल्छन् र पुरुष सोच र चेतले नभेटेका कुराहरु भन्छन् । प्रत्येक उपन्यासका नारीहरुको बौद्धिक उपस्थिति नै कोइलाराका कृतिको सफलता रहेको छ ।

(घ) हार्दिक पक्ष : 

बौद्धिक भएर पनि नारीभित्र प्रकृतिले नै भरिदिएको हार्दिकपक्ष पनि उत्तिकै सशक्त छ । नारीहरु सबल छन्, सक्षम छन्, आफ्ना विचारहरुमा दृढ छन् तर तिनीहरु घमण्डी, स्वार्थी, दुष्चरित्र र निष्ठुर छैनन् । प्रत्येक नारीहरु भित्र आमा पक्ष सघन देखिन्छ । कोइरालाका नारी पात्रहरु हरेक पाठकका आफन्तझैं अनुभूत हुन्छन् । उनीहरु सबै प्रेमका पक्षधर छन् । प्रेमलाई ज्यादै आदर र सम्मान गर्दै जीवनमा अघि बढ्न चाहन्छन् तिनीहरु । प्रेमीका लागि कष्टकर जीवन बिताउन तयार छन् , तर सचेतनापूर्वक । निराशा, कुण्ठा, पलायनता तिनीहरुका जीवनमा अनुपस्थित छ ।

सोमदत्त जति नै ढोंगी, घमण्डी र अन्धविश्वासी भए पनि सुम्निमाले उसलाई बालकलाई झैं सम्झाइरहन्छे, फकाउँछे, माया गर्छे तर सोमदत्तले जब उसको शरीरलाई तिरस्कार गर्छ, उसले आफ्नो अहम्को सुरक्षा गर्दै सोमदत्तलाई त्यागिदिन्छे । भौतिक रुपमा मात्र उसले त्याग्छे तर भावनामा कहिल्यै सोमदत्तको प्रेमलाई भुल्न सक्दिन ।

धेरैपछि एकदिन सोमदत्तले सोध्छ “सुखी छ्यौ ?” उसले भन्छे “घाउ लागेको रुख पनि त हुर्किन्छ नि, यदि त्यसमा बाँच्नलाई चाहिने रस बाँकी छ भने र सहज स्वभावमा त्यसले हुर्कन पायो भने । फेरि मेरो दुल्हा तिमी जस्तै छ । उसँग रात बिताउँदा तिमीसँगै छु जस्तो लाग्छ ।” यत्रो घाउ मनमा बोकेकी सुम्निमाले तर आफ्नो प्रेमका लागि कहिल्यै रोइकराई गरेको छैन, हारेकी छैन । बरु धेरैपछि अपुत्रो सोमदत्तलाई उसभित्र मरिसकेको यौन शक्ति पुनस्र्थापित गर्न सहजै मद्दत गरेकी छ ।

रातभरि रमेशसँग बिताएकी इन्द्रमाया बिहानै उठेर पिताम्बरको फोटोलाई हेर्दै भन्छे “पिताम्बर मेरो, म तिमीलाई माया गरि नै रहेकी छु, गरि नै रहेकी छु ।” शरीरसुख र आत्मसुखको फरक गर्दै, प्रेम गर्नु र सम्भोग गर्नु एउटै कुरा नरहेको विचार व्यक्त गरिएको छ । नरेन्द्रले छोडिएकी मुनरिया त्यत्रो विपतका बेला पनि नरेन्द्रप्रति कुनै वैरभाव नराखी भन्छे “प्रेमको कुरा तिमी बुझ्दैनौ बाबु । ….व्यावहारिक जीवनको नाफापट्टि दृष्टि राख्दै मैले प्रेम गरिन ।” अर्थात प्रेम भन्ने कुरा जीवन व्यापारसँग असम्पृक्त रहन्छ भन्छे मुनरिया ।

कहिल्यै छेऊ नपरेको नरेन्द्र कमजोर भएर गौरी भाउज्यू सामु उपस्थित भई एकदिन मछन् । नरेन्द्रको मृत्युलाई गौरी भाउजु भन्छिन् “उनी सदाका लागि मलाई प्रेम दिएर गए । हो सानो बाबु ! मरेनन् । ममा आएर बसे सँधै सँधैका लागि ।”

मोदिआइनकी नारी पात्र भन्छे, “तेसै युगयुगदेखि मेरो प्राणनाथको शरीर खसेको थलोमा आएर बसिरहेकी छु, अनन्तसम्म बसिरहनेछु, त्यस तलाउका किनारामा जुन थलोलाई मेरा लागि मेरा प्रेमीको शरीरको अन्तिम स्पर्शले प्रिय बनाएको छ ।”

लक्ष्मी भन्छिन् “हामी त रित्तिँदा रहेछौं प्यारा पुरुषबाट भरिएनौं भने ।”
बाबु, आमा र छोराकी जेठीले भनी “तिमी नारी हृदयको प्रेमलाई बुझ्दैनौ । तिमीलाई जुन कुरा आत्म बलिदान हो जस्तो लाग्छ, त्यो

हाम्रालागि बलिदान होइन समर्पण हो । बलिदान र समर्पणमा ठूलो भेद छ भावनाको ।”
उमा भन्छे “जीवनमा हामी नारी नै हौं, अन्तिम लक्ष्य प्रेमको ।”

उपन्यास भरी नारीपात्रहरु सचेत, साहसी र बौद्धिक मात्र छैनन् , भावुक संवेदनशील र कारुणिक पनि छन् । उनीहरु आफ्नो वैयक्तिक स्वतन्त्रता, अस्तीत्व सुरक्षा गर्दै तर प्रेमलाई अत्यन्तै सम्मान गर्दछन् — पुरुषलाई आदर गर्छन र तिनलाई आफ्नो जीवनको आधार पनि मान्दछन् । बराबरीको हैसियतमा उनीहरु बाँच्न प्रयत्नरत छन् ।

(ङ) पलायनता : 

वी.पींका सबै नारी पात्रहरु तर समानरुपले शक्तिशाली छैनन् । तिनीहरु वैयक्तिक रुपमा असन्तुलित चरित्रले सुशोभित छन् । इन्द्रमाया र रेवा उस्तै–उस्तै स्वतन्त्रताका पक्षपाति देखिए पनि इन्द्रमाया तार्किक छ तर रेवामा स्वच्छन्दता मात्र ज्यादा छ । इन्द्रमायाले रमेशसँग सहबास गर्नुका पछि उत्तरहरु छन् तर रेवाले एघारै दिनको एकलयात्रामा बाटामा भेटिएको एक नवपरिचित पुरुषसँग सहवास गरिहाल्नु त्यत्ति संगतयुक्त छैन । बाध्यताले यौन शोषणमा पर्ने नारीहरु र स्वच्छन्दतापूर्वक यसमा संलग्न हुने रेवाका बीच कत्रो अन्तर छ ।

हिटलर र यहुदीकी लक्ष्मी, बाबु, आमा र छोराकी जेठी, सुम्निमाकी पुलोमा, मोदीआइनकी नारी, नरेन्द्र दाईकी गौरी भाउजुहरु करिब करिब उस्तै पतिभक्त नारीहरु छन् । उनीहरु आफ्नो पक्षभन्दा पतिको पक्षमा सोच्दछन् । लक्ष्मी र जेठीको भनाई एउटै छ । उनीहरु भिन्दा भिन्दै उपन्यासमा उस्तै संवाद बोल्छन् “हामी त रित्तिंदा रहेछौं प्यारा पुरुषबाट भरिएनौं भने ।”

हामीले दह्रो र साहसी देख्दै गरेका इन्द्रमाया, मुनरिया, नारी, उमा, सुम्निमाहरुले संघर्ष र विद्रोहका नाममा पलायन मार्गको अवलम्बन पनि गरेका छन् । जस्तो इन्द्रमायाले नारीको स्वनिर्णयको हकको लडाईं लड्दा प्रेमतत्व र मातृतत्वको पृथकता सावित गर्न पिताम्बरसँगै बसी छोरीलाई हुर्काउन सक्नुपर्थ्यो । कुरा नमिल्दा ठाउँ छोड्ने, घरै छोडेर हिंड्ने चलन क्रान्तिकारी र नयाँ होइन ।

त्यस्तै मुनरियाले नरेन्द्रसगैं उनकी पत्नीको दर्जा मागी गृहप्रवेश गर्नुपर्नेमा अर्कै जौहरीकी पत्नी बन्नुपनि साहसी कदम चालेको मानिंदैन । नारीले अन्यायका विरुद्ध लड्नुपर्ने मान्यतालाई अस्वीकार गर्दै मृत्युको विरुद्ध जीवनको भीख माग्ने एक कमजोर चरित्र प्रस्तुत गरेकी छ । उमाले अर्काको गर्भ बोकीबोकी बाबुआमाको करकापलाई स्वीकार गरी मन नपरेको आफूभन्दा दोब्बर उमेरको बृद्धलाई पति स्वीकारेकी छ । सुम्निमाले सोमदत्तलाई सम्झाई बुझाई आफ्नो पार्न नसकी छोडेर हिंडेकी छ । यसरी हेर्दा कोइरालाका नारी पात्रहरु सहासी र जुझारु देखिंदादेखिंदै पनि पलायन र आत्मविर्सजीत चरित्रका पनि देखिन्छन् ।

वी.पी.कोइरालाका नारी पात्रहरुले प्राप्त गरेको आत्मशक्तिको स्रोत

वी.पी.कोइरालाका अधिकांश नारी पात्रहरु उच्च मनोबलयुक्त छन् । ती बोल्न सक्छन्, आफ्ना तर्कहरु राख्नसक्छ, विद्रोह गरेर हिंड्न सक्छन् । ती नारीहरुमा देखिएको त्यो शक्तिका पछि उनलाई सञ्चालन गर्ने अर्को शक्ति के होला भन्ने जिज्ञासा सहजै उठ्छ । यी सबै नारीहरुमा आत्मबल भर्ने शक्तिस्रोतका रुपमा एउटी अर्को पात्र छन् जसले वी.पी.को बाल मस्तिष्कमा अत्यन्तै गहिरो प्रभाव छोडेको थियो ।

यो कुरा वी.पी.ले “ आफ्नो कथा” नामक कृतिमा लेख्नु भएको छ । त्यस कृतिमा उहाँको माहिलो बाकी छोरी एउटी साहिंली दिदी हुनुहुन्थ्यो । जो आफ्ना पतिघरबाट विद्रोह गरेर निस्कनुभएको थियो । कसैले सम्झाउँदा पनि उहाँले फर्किएर पतिघर प्रवेश गर्नु भएन । उहाँ अत्यन्त सशक्त तर्कपूर्ण हुनुहुन्थ्यो । उहाँको नारीका बारेमा यस्ता विचार थिए ।

ड्ड स्त्री जातिको आफ्नो स्वतन्त्रता भनेको उसको आफ्नो शरीरमाथि निजी अधिकारको पुनर्स्थापना हो । आजकल हाम्रो शरीरमाथि हाम्रो आफ्नो अधिकार छैन ।

स्त्री हर दृष्टिबाट पुरुषभन्दा कमजोर हुन्छे तर एउटा कुरामा भने उसले आफूलाई पुरुषभन्दा अधिक बलियो पार्न सक्छे आफ्नो शरीरको आकर्षणमा । तर त्यही शरीरको उपभोग ऊ आफ्नो हितमा गर्न पाउँदिन । शरीर हाम्रो प्राकृतिक पूँजी हो, तर त्यसको उपभोग अरुले गर्छन् ।
ड्ड हाम्रो पूँजी हाम्रो शरीर नै कसैले हरेर शोषण गर्छ भने तपाईं किन त्यसको विरुद्ध आफ्नो डाँको चर्को पार्नु हुन्न ? पत्नी र वेश्यामा फरक यत्तिको मात्र छ, पत्नी करबलकी वेश्या हो र वेश्या स्वेच्छाकी पत्नी हो । मजदुरी त दुबैले पाउँछन् । जुन वैवाहिक न्यायले हामीलाई जकड्या छ त्यसमा हाम्रो स्वतन्त्रताको एउटा मात्र बाटो , पलायन पथ बाँकी छ हाम्रा लागि वेश्यावृत्ति । वेश्यावृत्ति स्वाभिमानी स्वास्नी मान्छेका लागि सबभन्दा इज्जतदार पेशा हो । (आफ्नो कथा पृष्ठ ११५, साझा प्रकाशन)

साँहिली दिदीका यी विचारले वी.पी.को बालमस्तिष्कमा साहै्र नै गहिरो प्रभाव पारेको कुरा उहाँँले उल्लेख गर्नु भएको छ । यिनै साँहिली दिदी टुक्रा टुक्रा भएर – इन्द्रमाया, रेवा, मुनरिया, उमा, सुम्निमा आदि भएका छन् ।
वी.पी.ले जति नै नारीहरुलाई शक्तिशाली बनाउन खोज्दाखोज्दै पनि आफ्नो पुरुष मनबाट आफूलाई मुक्त राख्न सकेका छैनन् । नारीको स्वतन्त्रतासँग पुरुषको परित्यक्तताको त्रास लेखकमा देखिन्छ । घुमाई फिराई पुरुषकै पक्षमा निर्णयहरु बोकेकाले उपन्यासको शक्ति क्षिण हुँदै गएको पनि बोध हुन्छ ।

जस्तै :  ड्ड पिताम्बरले छोरी स्वीकार नगरी पुरुष अहम्को जिद्दीले जित्नु र इन्द्रमायाँ पतिद्दारा त्यागिनु ।
ड्ड जति दुःख भएपनि पतिब्रता भई एकदिन फर्केर आउलान भनी पर्खेर बसिरहेकी गौरी भाउजुको तपस्या सफल हुनु । आफूलाई त्यागेर हिंडेको पुरुषप्रति एकोहोरो भक्तिभाव राखीरहनु गौरी भित्रको कमजोर नगरी व्यक्तित्व प्रदर्शित गरिनु । मुनरियाले त्यत्रो यौनसुख दिएर पनि अन्त्यमा विनाकारण परित्यक्ता हुनु ।

ड्ड आफ्नो शरीरलाई सदा होच्याउने घृणा गर्ने सोमदत्तलाई विवाहित सुम्निमाले एकदिन आप्mनो शरीरसँग खेल्न दिनु ।
ड्ड आफ्नो लोग्ने भेट्न हिंडेकी रेवालाई छोटो परिचयमै एउटा पुरुषसँग सहवास गर्न प्रेरित पारिनु ।
ड्ड पतिप्रति समर्पित जेठी भन्छे “सती हुन सजिलो छ नारीलाई, पुरुषले यसरी स्वास्नीको रोगको चिसो चितामा क्षण क्षण गरेर आफूलाई सेलाएको चाहीँ असाध्य कुरा हो ।” उमा भन्छे “पत्नीलाई पतिको सुखमा नै सुख हुन्छ ।”

मनमा जे भएपनि जस्तो भए पनि प्रकटमा यी नारी पात्रहरुले वास्तवमा लडाईं हारेकै छन, तार्किकतापूर्वक युद्ध हराइएको छ । लेखकको पुरुष मनले नारीहरुलाई जस्तै दह्री बनाउन खोज्दा पनि कतै न कतै लेखकीय पुरुष अहम् प्रकाशित भएको देखिन्छ । 

             हाल अमेरिका

प्रकाशित मिती २०७४ साल श्रावण ३२ गते बुधबार

प्रतिक्रिया दिनुहोस्