Logo

डा. केसीको अवस्था चिन्ताजनक २४ घन्टाभित्र माग पूरागर्न सरकारी डाक्टरहरुको अल्टिमेटम

स्तावेज संवाददाता, श्रावण ३१ गते, मंगलबार, २०७४४,  काठमाण्डौं – सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका माग २४ घन्टाभित्र सम्बोधन नभए जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएको छ।

गोदानले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी २४ घन्टाभित्र परिणाममुखी वार्ता नभएर सरोकारवाला निकायहरु यसरी नै मुकदर्शक भएर बस्ने स्थिति रहेमा डा. केसीको जीवनरक्षार्थ संघले जस्तोसुकै कडा कदम चाल्न विवश हुने र असहजताका बीच चालिएको त्यस्तो वाध्यात्मक कदमको जवाफदेही नेपाल सरकार र सम्बन्धित निकायहरु हुने जानकारी गराउदछौं।’

डा. केसीको समर्थनमा दबाब दिन साउन २७ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको गोदानले देशैभरि आएको बाढी-पहिरोपछि साउन २८ गते नै आफ्नो आन्दोलन फिर्ता लिएको थियो।

बाढीपीडितका लागि र्‍यापिड रेस्पोन्स टिम गठन

यसैबीच, अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपत्तिमा देशभरका विभिन्न ठाउँमा अत्यावश्यक सेवा, राहत र चिकित्सा सुविधा पुर्‍याउन सरकारी चिकित्सक संघ (गोदान) ले र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ। गोदानका उपाध्यक्ष डा. सुनिल पौड्यालको संयोजकत्वमा गठित टिमले आवश्यक स्थानमा राहत वितरण एवं स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। गोदानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उद्दार, राहत कार्यमा संलग्न अन्य निकायलाई चाहिने चिकित्सकीय सहयोगका लागि समेत सरकारी चिकित्सक संघ समन्वयकारी भूमिका खेल्न तत्पर छ ।’

प्रतिक्रिया दिनुहोस्