Logo

भूकम्पपछिको ठूलो विपत्ति – बाढी पहिरोबाट १ सय ११ जनाको मृत्यु

स्तावेज संवाददाता, श्रावण ३१ गते, मंगलबार, २०७४, काठमाडौं – केही दिनदेखिको बाढी,डुवान र पहिरोका कारण अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने ३५ जना वेपत्ता भएका छन् । गृहमन्त्री जनार्दन शर्माले मंगलबारको संसद बैठकमा मंगलबार दिउसोँसम्म १ सय ११ जनाको मृत्यु भएको बताएका हुन्। उनले हजारौं परिवार विस्थापित भएका र दशौं हजार घर डुवानमा परेको जानकारी दिएका छन्। भारी वर्षा भएका कारण सुरक्षाकर्मीहरुले उद्दार गर्न कठिन भएको र अस्पतालहरु पनि डुवानमा परेकाले समस्या भएको गृहमन्त्री शर्माले बताए। उनले अहिलेको विपत्ति २०७२ वैशाख १२ गतेको भूकम्पपछिको ठूलो विपत्ती भएको बताए।   अहिले सरकारले उद्दार र राहतको काममा तिब्र रुपमा लागेको भन्दै मन्त्री शर्माले धेरै ठूलो विपत्ति भएकाले कठिनाइ बताए।

अहिले विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्जमा हेलिकोप्टरबाट राहत वितरण सुरु गरिएको मन्त्री शर्माले बताए। ‘अहिले विराटनगरमा दुई, जनकपुरमा ३, वीरगञ्जमा ३, नेपालगञ्जमा एउटा हेलिकोप्टरबाट राहत पुर्‍याउने काम भएको छ’ उनले भने ‘विराटनगरबाट सप्तरी, सुनसरी मोरङ, जनकपुरबाट सर्लाही, महोत्तरी र धनुषा, नेपालगञ्जबाट बाँके र वर्दियामा राहत लगिएको छ।’ त्यस्तै झापा, रौतहट र कैलालीमा पनि हेलिकोप्टरबाट राहत लगिएको छ।

खाध्यान्न लिएर गएका धेरै ट्रकहरु बाटोमै रोकिएको गृहमन्त्री शर्माले जानकारी दिए। अहिले डुवान प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन त्रिपाल गाड्ने ठाउँसमेत नभएको शर्माले जानकारी दिए। पुल, कल्भर्ट र सडक भत्किने, अवरुद्ध हुने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत मर्मत भइरहेको मन्त्री शर्माले बताए। उद्दार र राहतका लागि सरकारले सम्पूर्ण स्रोत साधन र शक्ति परिचालन गरेको मन्त्री शर्माले बताए। ‘स्रोत साधनको तुलनामा विपत्ति धेरै ठूलो मात्रामा भएकाले कठिनाई भएको छ’ उनले भने। बाढी र डुवान पीडितको पूर्ण रुपमा व्यवस्थापन गर्न बुधबारसम्म सकिने मन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्