Logo

यादका झिल्काहरु

“एकदिन साँझ बाबाको लागि पल्लो गाउँमा लोकल रक्सी लिन जाँदै थिएँ, एउटीले चिठी लेखिदिन विन्तिभाउ गर्न थालिन् । उतिबेला गाउँमा बिजुली थिएन । मैले उनको वचन हार्ने नसकेर कपी मागेर लेख्न थालेँ । जबकी घरबाट बाबाले लेघ्रो तानेर बोलाइरहेको सुनिरहेको थिएँ । एक्कासी बत्ती झ्याप्पै निभ्यो । अँध्यारोमा तिनले मेरो हात समाएर तान्न थालिन् । उनी मलाई सुमसुम्याएर उत्तेजित पार्न खोज्दै थिइन् । त्यसपछि टुकी उनैले फुकेर निभाएकी रहिछन् भन्ने चाल पाएँ । मभन्दा धेरै जेठी महिलाको अपेक्षा देखेर मलाई कस्तो-कस्तो लागेर जसो-तसो फुत्किएर कुल्लेलम ठोकेँ । त्यो दिनदेखि अँध्यारामा कसैको चिठी लेख्ने कुरै भएन..।”

     – राजन गिरी    

फोटो भनेको बेलैमा खिचेर राख्नुपर्ने रहेछ । आज मसँग मेरो बाल्यकालको सम्झना बाहेक कुनै आकृतिहरू छैनन् । उतिबेला न हामीमा त्यो स्तरको चेतना नै थियो न कुनै प्रविधि..! वर्षभरिमा एक दुईपटक गाउँ घुम्न आएका गोराहरूले मात्र क्यामेरा बोकेको देख्न पाइन्थ्यो । विपन्न नेपाली भुराहरू नाङ्गै भुतुङ्गै देखेर बाटो हिँडेको बेला एक दुई स्न्याप खिच्थे । तर, हामीलाई कहिल्यै दिइएन । 

 शहरबाट पढे लेखेर आएकाहरू भन्थे गरिब नेपालीहरूको फोटो खिचेर लान्छन् र उनीहरू डलर झार्छन् । अहिलेको जस्तो सुविधा हुदो हो त कयौँ दृश्यहरू खिचेर राखिन्थ्यो होला । हाम्रा अभिभावकहरूले बाल्यकालका तीता-मीठा स्मृतिहरू क्यामरामा कैद गरिदिएका भए अहिले युट्युबमा हेर्न पाइन्थ्यो होला । बाल्यकालका घट्नाहरू सम्झँदा पनि दन्त्यकथा जस्ता लाग्छन् । अतीतका रोमान्चक पलहरू सम्झेर एकान्तमा चियाको चुस्कीसँगै स्कुल र उतिबेलाका दौँतरीहरूलाई स्मरण गर्दा पनि पढाई र लडाईंका अतिरिक्त खासै अविस्मरणीय घट्नाहरू छैनन् । 

साथीहरूले खोजेर ल्याएका भिर्कम्ले, धोबिनीको जरा, दालचिनीको बोक्रा, अमला, काफल लगायत खान र खेल्न मिल्ने वस्तु अनि बाबाले दु:ख गरेर किनीदिएका कपीको जोल्टे पाना दिएर लिने गर्दथ्यौँ । कहिलेकाहीँ त बिहान किनेको कपी बेलुकी घर पुग्दैनथे । अनि कहिले गाली र कहिले त कुटाई नै खानुपर्दथ्यो । त्यसमाथि अलि-अलि रहेको पानामा समेत गिध्दले छेरेको जस्तो अक्षर देख्दा बाबाले हातै-हातमा हिर्काउनु हुन्थ्यो । सानोमा बायाँ हात खेलाउने भएर कलम पनि बायाँ हातमै समाइन्थ्यो। त्यसैले बाबाले बायाँ हातमा टुन्क्याउँदा-टुन्क्याउँदा दायाँ हातले लेख्ने बनाइदिनुभएको थियो । 

मेरा बाल्यकालका उटपट्याङ्ग झेलेको ठाउँ, चारैतिर जङ्गलले घेरिएर बीचको भिरालो भू-भाग फैचोक पूर्वमा भेँडाको गोठ हुन्थ्यो…रे ! ती जङ्गलका कुना-कन्दरा मेरो अन्त:स्करण र स्मृतिमा अहिलेपनी  चित्रित छन् । अझै पनि गोठालो गएको बेला गोरू हराएर डाँडा-खोल्सा, भीर-पहरा चहारेकोले पनि सबै कुना-कुनासँग परिचित छु । बिहान-बेलुकीको छाक टार्न न्यूरो, सिप्लिघान, सिमल तरूल र गिट्ठाभ्याकुर दिएर गाउँले र मेरो परिवारको पेट भरिदिएको छ उक्त वन-जङ्गलले । गाईगोरू, भैँसी तथा बाख्रा चराउन जाँदा पूरै गाउँका पशुधनहरूको घाँटीमा बाँधिएको घण्टी एकसाथ बज्दा सिंगो रन वन नै गुन्जायमान हुन्थे । 

 साथीसँगीहरूसँग चोरघन्टी र लडिबुडी खेल्दै एकअर्काको हातबाट सिन्को खोसेको रमाइला पल, डण्डीबियो तथा पशुहरूलाई जङ्गलतिर खेदेर बिसाउनेको ठाँटीमा बसेर दैला-पकड खेलेको कसरी बिर्सन सकिएला र खै ?  गाउँमा सबै दौँतरी मिलेर एक अर्काको मेलापात गरिन्थ्यो । नल काट्ने, कोदोबारी जिलाउने, कोदो चुट्ने, ऊखु पेल्ने, खेतमा बाउसे र धान काट्ने तथा बेंसीबाट दाइँ गरेर हलेसी धान पराल बोकेर गाउँ पुर्‍याउने कामहरूमा अभिभावकहरूलाई सघाउने गरिन्थ्यो । स्कुल सकेर फर्किँदा खेतको बाटो कहिले आफ्नै त कहिले पर्मको धान-पराल बोकेर गाउँ-घरतिर लागिन्थ्यो । 

 उज्यालो हुदा नहुदा बेँशीबाट एक खेप पराल ल्याइसक्नु पर्दथ्यो । बा-आमा घाँस काट्ने र खेतीमै व्यस्त हुन्थे । मेरो काम भने बाख्रा निकालेर घाँसपात गर्दै खाना बसाल्यो, धाराबाट चारपाँच खेप पानी ल्यायो, दिउँसोलाई कुँडो पानी गर्न पुग्ने गाग्री ताउलामा भरेर राख्नुपर्दथ्यो । सधैँ स्कुल जानुअघि खाना पाकेपछि अप्ठ्यारो मान्दै झिक्यो खायो अनि लाग्यो स्कुलतिर ।

 बेलुकी स्कुलबाट फर्केपछि बाँकी रहेको भात खाजाको रूपमा खायो, फेरि त्यही दिनचर्यामा लाग्यो । एकछिन किताब पल्टाएझैँ गरेपछि साँझ पर्थ्यो । रातीहुदो आफ्नो पढाई भन्दा पनि साथीहरूको लभलेटर लेखी दिनुमै समय बित्दथ्यो । गाउँका आन्टीहरूले पनि माइती वा परदेश गएका बूढाहरूलाई चिठी लेख्नुपर्दा मलाई नै भन्थे । मलाई निकै खुशी लाग्थ्यो, जब मैले लेखिदिएको चिठी पढेर सुनाउँदा उनीहरूले हिक्क-हिक्क गर्दै साडीको सप्कोले आँसु पुछ्थे । 

 एकदिन साँझ बाबाको लागि पल्लो गाउँमा लोकल रक्सी लिन जाँदै थिएँ, एउटीले चिठी लेखिदिन विन्तिभाउ गर्न थालिन् । उतिबेला गाउँमा बिजुली थिएन । मैले उनको वचन हार्ने नसकेर कपी मागेर लेख्न थालेँ । जबकी घरबाट बाबाले लेघ्रो तानेर बोलाइरहेको सुनिरहेको थिएँ । एक्कासी बत्ती झ्याप्पै निभ्यो । अँध्यारोमा तिनले मेरो हात समाएर तान्न थालिन् । उनी मलाई सुमसुम्याएर उत्तेजित पार्न खोज्दै थिइन् । त्यसपछि टुकी उनैले फुकेर निभाएकी रहिछन भन्ने चाल पाएँ । मभन्दा धेरै जेठी महिलाको अपेक्षा देखेर मलाई कस्तो-कस्तो लागेर जसो-तसो फुत्किएर कुल्लेलम ठोकेँ । त्यो दिनदेखि अँध्यारामा कसैको चिठी लेख्ने कुरै भएन..।

प्रकाशित मिती २०७४ साल श्रावण ३० गते सोमबार 

  हाल,काबुल,अफगानिस्तान 

प्रतिक्रिया दिनुहोस्