कतिन्जेल हिंड्ने यो रोगी बाटो ?
– नबराज क्षितिज
दस्तावेज,श्रावण २७, शुक्रबार,२०७४,चितवन – कैयौं जिन्दगीहरुलाई धराप थाप्दै मुग्लिंन नारायणघाटको रोगी बाटो, तल त्रिशुलीको पानी हुत्तिंदै बगिरहेको छ , माथि रोगी बाटो लम्पसार सुतिरहेछ , । कैयौं जिन्दगीहरु खोसिरहेका छन् ,कैयौंलाई आफन्तबाट छुटाइरहेकाछन् त कैयौंको सुन्दर परिवार फ़ुटाइदिएका छन् ।
सडक भनेको यात्रुहरु निर्धक्क भएर यात्रा गर्न पाउने खालको हुनुपर्छ । तर मुग्लिन- नारायणघाट सडकखण्ड भने लामो समयदेखि रोगी बनेको छ । दैनिक दशौं हजार सवारी साधनहरु ओहोर दोहोर गर्ने यो रोगी बाटोमा , दैनिक झन्डै पचास हजारभन्दा धेरै यात्रुहरुले आफ्नो जिन्दगी हत्केलामा राख्दै यात्रा गरिरहेका छन् ।
झन्डै ३ अर्ब ६३ करोड रुपैयामा ठेक्का दिएको सो सडकको मर्मत कार्य जम्मा ५३ प्रतिशत मात्र सकिएको छ । त्यसो त २०७४ सालको बैशाखमा नै सम्पूर्ण कार्य सम्पन्न गरी सरकारलाई बुझाउनुपर्ने थियो तर योजनामा खिया लागेपछि र कार्यान्वयन पक्षमा धारिलो धार नभएपछि योजना मुताबिक काम भएन र तेश्रो पटक समयसिमा थपिंदै छ ।
त्रासै त्रासमा यात्रा गर्न बाध्य यात्रुहरुले आफ्नो यात्राभरी धेरै समय यहि रोगी बाटोलाई सम्झेर नै बिताउने गर्दछन् । पहिरो नखसोस् , यात्रा सहजताका साथ पुरा गर्न सकियोस्, कुनै दुर्घटना नहोस् र समयमै गन्तब्य पुग्न सकियोस्, धेरै यात्रुहरुको फर्माइस यहि हो ।
यो सडक खण्ड समयमै मर्मत कार्य नसकिएकोले सर्वसाधारणहरुले सास्ती खेप्नु परिरहेको छ । बाटो मर्मत गर्न शुरु गरेयता ४७ जना सर्बसाधारणहरुले ज्यान गुमाइसकेका छन् । धेरै सुन्दर जिन्दगीहरुलाई यहि बाटोले नराम्रोसँग निलिदिएको छ ! सर्वसाधारणहरु यात्रा गर्दै गर्दा यातना र पीडाहरु भोग्न बाध्य छन् ।
दिउँसो मुग्लिनबाट हिंडेका यात्रुहरु बीचमा सडक अबरोधले गर्दा साँझ खस्नै लागेको बेला बल्ल नारायणघाट पुगेका घटनाहरु धेरै छन् । एउटा पहिरो खसेको सडक खुलाउन ३४ घण्टा सम्म लागेको तीतो अनुभव छ । यसरी एउटा पहिरो खुलाउन झन्डै सवा दिन लाग्नु भनेको ,पहिरो हटाउन उचित श्रोत र साधनको बेवास्ता गर्नु भन्ने बुझिन्छ । यस सम्बन्धमा ठेकेदार र सडक मर्मत गर्ने कम्पनीहरुले बेवास्ता गरेकै हुन् ।
कुनैपनि योजना बनाउदै गर्दा वीचमा प्राकृतिक बिपत्ति आइहालेमा अथवा आवश्यक परेमा तत्काल बैकल्पिक उपायहरु अपनाउने बारेमा छलफल हुनु जरुरी हुन्छ । तर यो मामलामा नेपाल सरकार, ठेकेदारहरु ,निर्माण कम्पनीहरु तथा परामर्शदाताहरू सबैको कमजोरी छ । उनुहरुले गरेका कमजोरीहरु बापत सर्व साधारणहरुले सास्ती भोग्नुपरिरहेको छ ।
यो बाटोको भित्री पाटोसम्म पुग्ने हो भने धेरै बेतिथिहरु छन् । बढी दुर्घटनाग्रस्त क्षेत्र भनिएका ठाउँहरुमा न त पर्याप्त होडिंग बोर्डहरु छन् नंं त कन्भेक्स मिररहरु नै छन् । त्यो भन्दा महत्वपूर्ण र अचम्मको कुरा के छ भने , १८ वटा पुलहरू बनाउनुपर्ने ,यो सडक खण्डमा तर अहिलेसम्म ती पुलहरुको डिजाईन सम्मपनि भएको छैन भनेर सम्बन्धित निकायका व्यक्तिहरुले साझा सवालमै स्वीकारे ।
यो सडक निर्माणको लागि तेश्रो पटक समय थपिंदैछ । २०७५ सालको जेष्ट मसान्तसम्ममा मर्मत कार्य सम्पन्न गर्ने शर्त लागू होला तर जुस खाएर होइन घुस खाएर मोटाउने हाम्रो देशका कर्मचारी/ नेताहरु चौंथो पटक पनि समय थप्नुपर्ने बनाउनेछन् । हामी सर्वसाधारणहरुलाई यो कुरा मान्य हुनेछैन । सडकदेखि सदनसम्मका भ्रष्टाचारीहरुलाई मागिखाने भाँडो भैरहेको छ यो सडक योजना । हैनभने किन समयमै निर्माण कम्पनी र ठेकेदारहरुलाई ताकेता गर्न सक्दैन नेपाल सरकार ? किन समय मै मर्मत कार्य सम्पन्न गर्नुपर्छ भनेर भन्न सक्दैन सरकार ? पक्कै “दालमे कुछ काला है……..” ,हैन भने सरकारले किन लाचार भएर पटकपटक समयसीमा थपिरहन्छ ? जनताले जान्न पाउनुपर्छ ।
मुग्लिन काटेर नारायणघाट तर्फ लाग्ने बित्तिकै यात्रुहरुको मनले आकाशमा घाम देख्दैन । सुरक्षित पुगिने हो कि हैन ? समयमै पुगिने हो कि होइन ? भन्ने चिन्ताले फिंजिंएको आकाश पनि देख्दैनन् यात्रुहरु ! सडक मर्मत गर्ने निहुँमा झन् अप्ठ्यारो र सास्ती भोगिरहेका छन् यात्रुहरु । यस्ता अत्यासलाग्दो र कहालीलाग्दो ठाउँँहरु छन् , जहाँ जिन्दगीसँग अलिकती सम्झौता गर्ने ठाउँपनि रहदैन ! तरपनि यस बिषयमा सरकारको उचित ध्यान नपुग्नु निकै दु:खद कुरा हो ।
समयमै मर्मत कार्य नसकेको कारण काम गर्ने समय पर्याप्त नभएर हो भन्ने आरोप ठेकेदार तथा निर्माण कम्पनीहरुको छ । यो कुरा सहि पनि हो । निर्धक्क काम गर्ने समय र वातावरण छैन । बैकल्पिक मार्ग बनाएर समयमा पर्याप्त काम गर्ने समय दिनुपर्ने थियो । यो बारेमा नेपाल सरकार नराम्ररी चुकेकै हो । यति हुँदाहुदै पनि सरकारले चासो नलिनु भनेको , नेपाल सरकार जनताप्रति उत्तरदायी नहुनु हो । जनताको पिर भन्दा कुर्सीको पिर धेरै छ भन्ने प्रमाणित गर्नु हो ।
त्यसो त यो सडक खण्ड एशियन हाइवेको पार्ट पर्ने भएपनि न त भौतिक निर्माण तथा यातायात मन्त्रालयको चासो छ , न त सडक विभागले नै चासो राखेको छ । न त ठेकेदारहरु र निर्माण कम्पनीहरु इमान्दार छन् , न त सरकारी अनुगमन नै चुस्त छ ,न त परामर्शदाताहरुले नै चासो दिएका छन् । समयमा नै मर्मत कार्य सम्पन्न गर्छु भनेर पटकपटक बाचा गरेका ठेकेदारहरु बाचा गरेको केहि समयपछि नै बाचा बिर्सिदिनाले पनि यो सडक खण्डको हालत यस्तो भएको हो ।
मुग्लिन नारायणघाट सडक खण्डको मर्मत कार्य अहिलेसम्म नसकिनुमा दोषी नेपाल सरकार , ठेकेदारहरु र निर्माण कम्पनीहरु , र परामर्शदाताहरू हुन् । यस्को जिम्मेवारी सबै दोषी निकायहरुले आ-आफ्नो ठाउँबाट लिनैपर्छ । जनतालाई दु:ख र सास्ती दिने अधिकार न ठेकेदारहरु र निर्माण कम्पनीहरुलाई छ न त , परामर्शदाताहरुलाई नै छ न त सरकारलाई नै छ ।
यो रोगी बाटोमा यात्रागर्ने कसैको चाहना हुँदै होइन , यो त बाध्यताभित्र लुकेको मौन स्वीकृति हो । यात्राभरी मुटुले छातीमा मुक्का हानिरहन्छ तरपनि आशाको सानो त्यान्द्रो बोकेर यात्रा गरिरहनुपरेको छ । आखिर , कतिन्जेल हिंड्ने यो रोगी बाटो ?
– नवराज क्षितिज दस्तावेज डट कम युएईका संवाददाता हुन् ,उनी कला साहित्य तथा सामाजिक क्षेत्रमा कलम चलाउँछन् ।
-सम्पादक