अस्पतालको लापरवाही कहिलेसम्म ?
“आजभोलि अस्पतालहरु कुम कुम जोडीएझैं खोलिएका छन् तर गुणस्तरीयता र विश्वसनीयता खै ? आफै उत्कृष्ट र अन्तर्राष्ट्रिय स्तरको भन्ने ओम हस्पिटल र ग्राण्डी हस्पिटलमा मात्र होइन , देशका अरु बिभिन्न अस्पतालहरुमा पनि डाक्टरको चरम लापरवाही हुने गरेका छन् । नाम चलेका र आफुलाई उत्कृष्ट भन्न रुचाउने अस्पताल प्रशासन र डाक्टरहरु बिरामीको हकमा किन इमान्दार हुन सक्दैनन् ? यो प्रश्नको उत्तर न त नेपालको निकम्मा सरकारसँग छ , न त नाफादारी अस्पताल प्रशासनसँग नै छ ।”
–नवराज क्षितिज
बिरामीहरुले अस्पताललाई मन्दिर सम्झन्छन् र डाक्टरलाई भगवान सम्झन्छन् । तर यति धेरै विश्वास गरेर उपचार गर्न गएका बिरामीहरु माथि अस्पताल प्रशासन र डाक्टरहरुको चरम लापरबाही हुन्छ भने , आम साधारणको मनमा शंकाले चिमोट्नु स्वाभाविक हो ।
केहिदिन अघिमात्र देशका ख्याती प्राप्त र विश्वसनीय मानिएका तथा उत्कृष्ट भनिएका दुई अस्पतालहरुमा डाक्टरको चरम लापरवाहीको कारण बिरामीहरुको मृत्यू भएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने , यस्ता डाक्टरको लापरवाहीले बिरामीको मृत्यू हुने घटनाहरु औषत दुई /तीन महिनामा घटिरहेको पाइन्छ । डाक्टरको चरम लापरवाही र अस्पतालको व्यबाहारिक अपरिपक्कताले यो विषय फेरि सतहमा आएको छ ।
पित्त थैलीमा पत्थरी भएर ओम हस्पिटलमा उपचार गर्न गोरखा आरुघाटकी नन्द कुमारी लामिछाने हिंडेरै अस्पताल पुगेकी थिईन । बिहान ११ बजे अस्पताल भर्ना भएकी उनलाई डाक्टर कमल कोइरालाको टिमले शल्यक्रिया गर्न अपरेशन थिएटरमा लगेका थिए । घन्टौंसम्म बिरामीलाई बाहिर नल्याएपछि उनकी छोरी सुचित्रा लामिछानेले आमाको स्वास्थ्य अवस्थाको बारेमा सोधेकी थिइन् ।
निकै तनावपूर्ण अवस्थामा परिवार र आफन्तहरु बाहिर कुरिरहेपनि डाक्टरले समयमै केहि बताएनन् ।बेलुका ८:३० बजे मात्र बिरामीलाई केहि अप्ठ्यारो भएको भनेका थिए । केहि समय अगाडि अपरेशन सफल भयो भन्ने डाक्टरले केहि समयपछि नै बिरामीको मसल जाम भएकोले हार्ट अट्याक हुनसक्ने बताएका थिए । त्यसको केहि मिनेटमा नै हार्ट अट्याक नभएको तर आइ.सी.यु मा राख्नुपर्ने भनेका थिए ।
डाक्टरको छिनछिनमै बोलि फेरिरहेको कुराले बिरामीका आफ़न्तहरुलाई , डाक्टरले यथार्थ कुरा लुकाएको लख काट्न गाह्रो भएन । बिरामी आमालाई आइ.सी.यु. मा राखिसकेपछि आमालाई भेट्न जान्छु भनेकी छोरी सुचित्रालाई प्रहरी प्रशासनले दुर्ब्यावाहार गरेका थिए भने छोराको प्रहरी दमनकै कारण हात भाँचिएको जानकारी आफन्त र बिरामी कुर्न बसेकाहरुले जानकारी दिए । धेरैजसो बिरामी कुर्न आएका आफन्तहरु दायाँ बायाँ लागिसकेपछि, मध्यराती १२:४५ बजे बीस हजार बराबरको औषधि किन्न लगाएको र औषधि किन्न आफन्तहरु फार्मेसी गएको मौका छोपेर दुइ जना छोरीहरुलाईमात्र माथि कोठामा बोलाएर ढोका लगाएर बिरामी आमाको मृत्यू भएको जानकारी दिएका थिए ।
बेलुका ८ बजे नै मृत्यू भएको भन्ने डाक्टरले मध्यरातमा मात्र मृतकका आफन्तलाई जानकारी गराए । हिंडेर उपचारको लागि आएकी आमाको मृत्यू स्वाभाविक छँदै थिएन । डाक्टरको लापरवाहीले आमाको मृत्यू भएको कुरा सुनाएपछि , स्वभाविक रुपमा अस्पताल परिसरमा तनाव उत्पन्न भएको थियो । त्यस लगत्तै अस्पताल प्रशासनले प्रहरी बोलाई पीडितहरुमाथि दमन गरेका थिए । पुलिस प्रशासनले पीडितहरुमाथि दमन गरेको घटनाले पैसाले पुलिस प्रशासन पनि बिक्दोरहेछ भन्ने कुरा छर्लंग भएको छ ।
“ चक्कु डाक्टरको हातमा परे नयाँ जीवन दिन्छ तर मुर्खको हातमा परे जीवन छिन्छ” भन्ने भनाई आजभोलि पत्याउन नसकिने भैसकेको छ । दिनहुँजसो डाक्टरले लापरवाही गरेका घटनाहरु सुनिरहन बाध्य छौं हामी , कतिको त ज्यानै गईरहेको उदाहरण प्रशस्तै छन् ।
बुटवलका कन्चन बुढाको पनि डाक्टरको लापरबाहीले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा मृत्यू भएको थियो । सामान्य ज्वारो आएको कन्चन पनि एकाबिहानै हिंडेर हस्पिटल पुगेका थिए ।१४ बर्षीय कन्चनलाई ईन्जेक्सन लगाइदिएपछि छट्पटाएको तर छट्पटाएको कुरा डाक्टर र नर्सहरुलाई खबर गर्दापनि हेर्न नआएको कुरा कन्चनका आफन्तहरुले बताएका छन् ।
खाना साथै अनार खाएर आकस्मिक कक्षमा राखिएको कन्चनको दिउँसो २ बजे मृत्यू भएको जनाएका थिए । कन्चनको परिवारले रिपोर्ट माग्दा अस्पताल प्रशासनले झुटो रिपोर्ट दिएका थिए । अर्कै मान्छेको रिपोर्ट ठाउँ-ठाउँमा टिपेक्स लगाएर एक्सरे रिपोर्ट देखाउदै मेनेन्जाइटिस र निमोनीया भएको रिपोर्ट देखाएका थिए ।
आजभोलि अस्पतालहरु कुम कुम जोडीएझैं खोलिएका छन् तर गुणस्तरीयता र विश्वसनीयता खै ? आफै उत्कृष्ट र अन्तर्राष्ट्रिय स्तरको भन्ने ओम हस्पिटल र ग्राण्डी हस्पिटलमा मात्र होइन , देशका अरु बिभिन्न अस्पतालहरुमा पनि डाक्टरको चरम लापरवाही हुने गरेका छन् । नाम चलेका र आफुलाई उत्कृष्ट भन्न रुचाउने अस्पताल प्रशासन र डाक्टरहरु बिरामीको हकमा किन इमान्दार हुन सक्दैनन् ? यो प्रश्नको उत्तर न त नेपालको निकम्मा सरकारसँग छ , न त नाफादारी अस्पताल प्रशासनसँग नै छ ।
अस्पतालमा बिरामी लानुअघि जिज्ञासाको ज्वारभाटाहरू उर्लिनु स्वाभाविक भएको छ आजभोलि । निको भएर फर्कन्छु भन्ने आशामा अस्पताल पुगेकाहरु डाक्टरकै लापरवाहीले ज्यान गएपछि, मृतकको बारेमा सम्झनाहरुको बिस्कुन सुकाउँदै आँखामा आँसु फलाउदै आफन्तहरु फर्कनुपर्ने वाध्यता छ । बिरामी र अपरिपक्क डाक्टरहरुको टकराब गर्दै अस्पतालहरुले बाजी मार्ने कार्यको तुरुन्त बन्द हुनुपर्छ !
धेरै आम्दानीको आशामा कानुन किन्न र बेच्न सकिन्छ हाम्रो देशमा । कानुन किन्ने र बेच्ने भ्रष्टहरु गौंडा गौंडा कुर्दै बसिरहेका छन् । हरेक निकायहरुमा र खोजिरहेका छन् गरीब, दुखि र निमुखा अनि बिरामीहरु । त्यसैले अस्पतालले गरेका ठूला ठूला गल्तीहरुलाई पनि पैसाले किनिदिने परिपाटी छ । के पैसाले मृत्यू भैसकेको बिरामी बाँच्न सक्छ र ?
मेरो देशको सरकार भ्रष्ट छ , हरेक कुना कुनामा पैसाले सरकार किनिरहेका छन् , अपराधीहरु ! सरकार नै भ्रष्ट भएपछि अपराध गर्नेहरुलाई झन् सहज भएको छ । यसरी डाक्टरको लापरबाहीले बिरामीहरुको अनाहकमा ज्यान गएको कुराहरु महिनै पिच्छे आइरहेकाछन् । तर सरकारले अस्पताल प्रशासनलाई कारबाही गरेको खै ? लापरवाही गरेर बिरामी मार्ने डाक्टरको लाइसेन्स जफत गरि खारेज गरेको खै ? अस्पताल संचालन गर्न लाइसेन्स दिनु भनेको बैधानिक रुपमा बिरामी मार्न अनुमति दिनु हो ? के अस्पताल बैधानिक बधशाला हो ? जहाँ बिरामीको निहुँमा मानिस मार्न पाइन्छ ?…….हाय ! मेरो देश
प्रकाशित मिति २०७४ साल श्रावण २१ गते शनिबार
हाल आवुधावी युएई
पत्रकार तथा साहित्यकार नवराज क्षितिज बर्तमान समसामयिक बिषयमा कलमा चलाउँछन्