Logo

यसरी जन्मियो “ग्लोवल नेपाली फिल्म अवार्ड ”नामक संस्था

              –  दीपशिखा शर्मा 

डेनभर कोलोराडो श्रावण १२,बिहिबार, २०७४ – नेपाली संचार जगत, पत्रपत्रिका र अनलाईन मिडियामा अत्यधिक चर्चा परिचर्चामा आएको “खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ ” सिजन २ को तयारी करिब करिब अन्तिम चरणमा आईपुगेको छ । खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यहि अगष्ट महिनाको १९ तारिखका दिन यानी कि भदौ ३ गते अमेरिकाको कोलोराडो डेनभरमा धुमधामका साथ सम्पन्न हुनेछ । हरेक बर्ष नेपाली कला संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दन गर्न विभिन्न देशहरुमा पालैपालो आयोजना गरिने लक्ष्य बोकेको उक्त कार्यक्रमलाई यो बर्ष पनि अझ बढि शानदार गरिमामय र ऐतिहासिक बनाउन आयोजकहरु अहोरात्र खटिरहेका छन् ।

 नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागी एवं नेपाली डायस्पोरालाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकाबाट सन् २०१६ देखी बिधिवत् रुपले आयोजना गरिएको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डले यस बर्षपनि क्षमता भएका तर विविध कारणवश ओझेलमा परेका नेपाली भाषी कलाकारहरुलाई उत्साहित गर्न अवार्डको माध्यमले समेट्न खोज्दैछ ।  २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्यातिसंगै संसारभर छरिएर रहेका नेपालीहरु लगायत राष्ट्रिय अन्तराष्ट्रिय जगतका कुटनीतिज्ञहरुले समेत उक्त ग्लोवल नेपाली फिल्म अवार्ड सिजन दुई लाई अत्यन्त उत्साह एवं चासोको साथ हेरिरहेका छन् ।

 मुख्यतया क्यानाडा,नेपाल अष्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, भुटान,जापान फ्रान्स,इटली जस्ता विश्वको विभिन्न देशहरुबाट आउने सम्पूर्ण नेपाली कलाकारहरुको बाक्लो उपस्थितिमा हुन लागेको यस अवार्ड कार्यक्रम नेपाली कलाकारहरुको लागि अविस्मरणिय क्षण हुनसक्ने समेत दावी गरिएको छ । नेपाल तथा अमेरिकाको ७० औ फ्रेन्डशिप बर्षगाँठ मनाउने सु-अवसरमा हुन गईरहेको यस खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउने र दुई देश बिचको भाषा संस्कृति एवं चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा अझ मजबुत बनाउन सहयोग पुग्नेछ । अन्ततः संसारभर ख्याती बटुल्दै गईरहेको खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको स्थापना किन र कसरी गरीयो ? संस्थाको संस्थापक पदाधिकारीमा को को छन् ? उक्त अवार्डका भावी योजनाहरु के के हुन् ? यस बारेमा चर्चा परिचर्चा गर्न खोजिएको छ ।

खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको स्थापना :

“ खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड ” कार्यक्रमको स्थापना बारेमा यस संस्थाका संस्थापक अध्यक्ष नवराज श्रेष्ठ भन्नुहुन्छ 
बरिष्ठ सिने अभिनेता कृष्ण मल्ल र सिने नायक नवराज श्रेष्ठले धेरै बर्षदेखि बिभिन्न संघ संस्थाहरुमा काम गर्दै आइरहनुभएको थियो । उहाँको आयोजनामा नेपालमा धेरै अवार्ड कार्यक्रमपनि भएको थियो । कलाकारिता श्री श्रेष्ठको रुचीको बिषय भएको र उहाँ यस क्षेत्रमा पुनः प्रवेश गरेकोले परदेशमा बसेर नेपाली चलचित्र क्षेत्रको लागी उल्लेखनिय योगदान गर्ने उत्सुकता पलायो ।

  यसै दौरानमा नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष तथा बरिष्ठ सिने अभिनेता श्री कृष्ण मल्ल,बीआरटी नेपाल डट कमका संस्थापक अध्यक्ष तथा सम्पादक शैलेस पोखरेल,अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठ तथा उपाध्यक्ष बालसिंह लगायत अन्य स्थानिय संघ संस्थासँग सरसल्लाह सहकार्य गरेर नवराज श्रेष्ठको अध्यक्षतामा ग्लोवल नेपाली फिल्म अवार्डको स्थापना भयो । उहाँहरुको हिम्मत अनि श्री श्रेष्ठको संयोजनमा सहकार्य गर्न सबै साथीहरु राजी भईसकेपछि उहाँहरुले कार्यक्रमको मुख्य प्रायोजनको लागी खुम्बु खोल्स्च,शेर्पा ब्रुअरी कम्पनीसँग आग्रह गर्नुभयो । कम्पनीका प्रायोजक लाक्पा शेर्पा र फूर्वा शेर्पाले सहर्ष हातेमालो गर्न उत्सुकता देखाएपछि सबै टिम हौसियो । अन्ततःस्थानिय व्यापारी,सबैको सहयोग जुटाएर उहाँहरुले सन् २०१६ मा सफल रुपमा कार्यक्रम गर्नुभयो ।

 हुनत आयोजक पक्षबाटपनि कमी कमजोरी भने नभएका होईनन् किनकी अमेरिकाजस्तो महंगो ठाउँमा पहिलो ग्लोवल नेपाली फिल्म अवार्ड गर्नु ,यति ठूलो जमातमा पूरानो सिनीयर नेपाली कलाकारलाई लिएर गएर सम्मान गर्नु नयाँ कलाकारहरुलाई लगेर अवार्ड कार्यक्रम गर्नु पक्कैपनि उहाँहरुको लागि कठिन चुनौती थियो तथापि नेपाली चलचित्र जगतको उत्थानमा थालनी गरिएको यो अभियान भविष्यमा मुलुकको लागी एक कोसे ढुंगा साबित हुनेमा दुईमत छैन । नेपाली कलाकारिताको संरक्षण र सम्वद्र्धन गर्नमा यसले प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।

संस्थापक पदाधिकारीहरु :

 

श्री नवराज श्रेष्ठ सिने नायक तथा संस्थापक अध्यक्ष खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड,

सानैदेखि समाजसेवा र कलाकारितामा बिशेष रुचि भएका नवराज श्रेष्ठ ज्यादै जिज्ञासु प्रविर्तिको हुनुहुन्थ्यो । उहाँ कहिल्यै एक काममा मात्र सीमित भएर रहनुभएन । समाजमा रचनात्मक कार्य गरेर अरुभन्दा फरक शैलिको जीवन बाँच्ने उहाँको निकै ठूलो धोको थियो । तसर्थ आफू एक कुशल कलाकार पनि भएकोले नेपाली भाषी कलाकारहरुको संरक्षण र प्रवद्र्धनको सवालमा नै काम गर्ने उहाँले दृढ अठोट गर्नुभयो । उहाँको कठिन मेहनतको फलस्वरुप “ग्लोवल नेपाली फिल्म अवार्ड ” नामक संस्था जन्मियो ।

 श्री शैलेस पोखरेल सदस्य तथा कार्यक्रम संयोजक खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड

अनलाईन मिडियाको माध्यमद्धारा संचार जगतमा उदाउनुभएका श्री शैलेस पोखरेल पनि सानैदेखि समाजसेवामा बिशेष रुचि राख्नहुन्थ्यो । जसको फलस्वरुप नेपाली कला संस्कृतिको जगेर्ना गर्न खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड नामक संस्थाको माध्यमद्धारा अगाडि बढिरहनुभएको छ । ग्लोवल नेपाली फिल्म अवार्डको प्रमोशन लगायत अन्य कार्यहरुमा उहाँको अनलाईन पत्रिका बीआरटी नेपाल डट कमले उल्लेखनिय योगदान पुयाईरहेको छ ।

श्री मधु कुमार श्रेष्ठ सदस्य तथा संयोजक खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड (नेपाली च्याप्टर )

नायक,प्रोड्युसर तथा पोलिटिसियन श्री मधु कुमार श्रेष्ठ पनि समाजसेवामा निकै रुचि राख्नुहुन्थ्यो । उहाँ एक कलाकार भएकोले नेपाली कलाकारिता क्षेत्रमा नै योगदान गर्ने जमर्को गरेर उहाँपनि यस ग्लोवल नेपाली फिल्म अवार्डको माध्यमद्धारा नेपाली कलाकारिताको बिकास संरक्षण र सम्वर्द्दनको लागि अगाडि बढिरहनुभएको छ ।

श्री कृष्ण मल्ल, बरिष्ठ सिने अभिनेता ,संरक्षक ग्लोवल नेपाली फिल्म अवार्ड तथा अध्यक्ष फिल्म सोसाईटी,नेपाल

बरिष्ठ सिने अभिनेता श्री कृष्ण मल्ल “फिल्म सोसाईटी अफ नेपाल”को संस्थापक अध्यक्ष हुनुहुन्छ । यसका साथै उहाँ ग्लोवल नेपाली फिल्म अवार्डको संरक्षकको रुपमा रहेर काम गर्दै आउनुभएको छ । आफू एक कशल कलाकार भएकोले फिल्म सोसाईटी अफ नेपालको माध्यमद्धारा नेपाली कलाकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आउनुभएका श्री मल्ल नेपाली कला संस्कृतिको अन्तराष्ट्रिय स्तरमा विस्तार एवं प्रवर्द्दन  गर्नको लागि नेपालको तर्फबाट अत्यन्त उत्साहकासाथ खटिरहनुभएको छ ।

 ग्लोवल नेपाली फिल्म अवार्डका उद्धेश्यहरु :

अघिल्लो बर्ष १२ वटा बिधामा मात्र अवार्ड तथा पुरस्कार प्रदान गरेको “खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड ( २०१७ ” कार्यक्रमले यस बर्षको कार्यक्रमलाई अझ परिष्कृत तथा प्रभावकारी बनाउन ८ वटा बिधा थपी २० वटा विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्नेछ । नेपाली सिने जगतमा उल्लेखनिय योगदान पुर्याएका मेधावी कलाकारहरुको लोकप्रियताको आधारमा अवार्ड छनौट गरिनेछ । अवार्ड छनौटमा भुटानी समुदायबाट १ जना कलाकार छनौट गरिनुका साथै मेहनती कलाकारहरुलाई उत्साहित गराउन बिशेष गरि ग्रामीण भेगका कलाकारहरुलाई प्राथमिकता दिईनेछ । अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुविलाई स्थापित गर्ने आयोजक टिमहरुको मुख्य उद्धेश्य रहेको छ । २०१७ को आयोजना अमेरिकामा गर्नुको मुख्य उद्धेश्य नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दन गर्नु रहेको छ । सपनाको शहर अमेरिकामा हजारौं नेपालीहरु छरिएर रहेका छन् । नेपाली चलचित्र प्रवासी नेपाली समुदायको लागि एक आवश्यकता बनिसकेको छ । अत्यधिक नेपालीहरुको बसोबास रहेको अमेरिकामा नेपाली चलचित्र बजार बनाउन सकिएको खण्डमा नेपाली चलचित्रले ठूलो बजार ओगट्ने कुरामा दुईमत छैन । संसारमा सिनेमा पर्यटन उध्योग निकै फस्टाएको सन्दर्भमा आफ्नो देशमा सिनेमा छायाङ्कनको लागि बिभिन्न देशले प्रवर्द्दनात्मक कार्यक्रमहरु ल्याएका छन् । त्यसै अनुरुप ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड २०१७ ’ले नेपालमा बिदेशी पर्यटक भित्र्याउनको लागि नेपाललाई एउटा सिनेमा सुटिङ गर्ने स्थलको रुपमा बिकास गर्ने लक्ष्य लिएको छ । ‘खुम्बु कोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रम २०१७’ ले ओझेलमा परेका क्षमतावान कलाकारहरुलाई बर्तमान नेपाली चलचित्रको बारेमा यथोचित जानकारी दिने र नेपाली चलचित्रमा पुनः प्रवेश गराउने उद्धेश्य राखेको छ । यसका लागि नेपाली डायस्पोरा सम्वन्धी केही अवार्डहरुपनि राखिएको छ । उक्त अवार्ड कार्यक्रम अर्कोपल्ट अष्ट्रेलियामा गर्न कुरा भइरहेको जानकारी प्राप्त भएको छ । उक्त अवार्डको आयोजना फिल्म सोसाईटी,नेपाल तथा ग्लोवल नेपाली फिल्म अवार्डले गरेको छ ।

   अवार्डको मापदण्ड

खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डले आगामी दिनहरुमा फिल्म अवार्डको मापदण्ड निर्धारण गरी ३० बर्ष नेपाली कलाकारिताको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने कलाकारहरुलाई लाईफटाईम एचिभमेन्ट अवार्ड,बेष्ट डाईरेक्टर अवार्ड,बेष्ट एक्टर अवार्ड दिने निर्णय गरेको छ । नेपाली कलाकारितालाई अन्तराष्ट्रिय जगतमा चिनाउन थालनी गरिएको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड कार्यक्रमले आगामी दिनहरुमा ओझेलमा परेका बहुप्रतिभाशाली कलाकारहरुको सवालमा यथोचित रुपले कार्यक्रम अगाडि बढाउँदै जाओस् । दस्तावेज डट कमको तर्फबाट हार्दिक शुभकामना !  

[email protected]

प्रकाशित मिति २०७४ साल श्रावण १२ गते बिहिबार

प्रतिक्रिया दिनुहोस्