Logo

कलाकार बिक्रम परियारको हत्या गर्ने किशोर किशोरी पक्राउ

स्तावेज संवाददाता ,जेष्ठ १८ ,तनहुँ – कलाकार बिक्रम परियारको हत्या गरेर फरार रहेका ६ जना किशोर किशोरी पक्राउ परेका छन् । गत बैसाख ३१ गते स्थानिय निर्वाचनका लागि मतदान गर्न गृह जिल्ला तनहुँ पुगेका कलाकार परियारका हत्याराहरुलाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको छ ।

      पक्राउ पर्नेमा ब्यास नगरपालिका देउराली ३ की १८ बर्षिया उषा थापा, ब्यास देउराली ३ कै १६ बर्षिया अन्जनी थापा मगर, ब्यास १ हाईस्कुल टारका १९ बर्षिय रोषन चन्द ठकुरी कान्छी , सोहि ठाउँका १७ बर्षिय तुम्बाङ्गे भनिने प्रसुधन नेपाली, १७ बर्षिय रञ्जन ठकुरी र १६ बर्षिय प्रेम आले रहेका छन् ।

      वैशाख ३१ गते आइतबार स्थानीय जलदेवी केन्द्रमा मतदान गरी साँझपख काठमाडौंबाटै मतदान गर्न आएका बिक्रम परियार साथी देवीनारायण श्रेष्ठसँग बाइकमा घुम्दै सेती नदी किनार पुगेका थिए । भादगाउँको छाला फ्याक्ट्री नजिकै पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

     फोटोग्राफीमा शौख भएका कलाकार बिक्रम परियारले नदि किनारमा केही तस्विर लिएपछि त्यहीँ बसिरहेका ६ जना युवा युवतीलाई आफ्नो फोटो खिचिदिन आग्रह गरेपछि ६ जना मध्यको एकजनाले उनको तस्विर लिईदिए । बाँकी ५ जनाले फोटो लिने साथीलाई नचिनेको मान्छेको फोटो किन लिईस् भन्दै झगडा गर्न थालेका थिए ।

      आफ्नै कारणले साथी साथी बिच झगडा भएपछि बिक्रम परियारले उनिहरुलाई सम्झाउन थाले । तर लागुपदार्थ सेवन गरेका ति युवायुवती कलाकार परियार माथीनै जाईलागे । परियार संगै गएका देबि नारायण श्रेष्ठले युवा युवतीलाई सम्झाएर परियारलाई लिएर आउन खोज्दा श्रेष्ठमाथी पनि आक्रमण भएको थियो ।  ढुंगा प्रहार गरेर परियारको हत्या गरी फरार रहेका युवा युवतीलाई ब्यास प्रहरीले मंगलबार राती पक्राउ गरेको छ ।

 
 
 
प्रतिक्रिया दिनुहोस्