Logo

८७ मेगावाट क्षमताको तामाकोशी–५ जलबिध्युत आयोजनाको निर्माण शुरू

दोलखा, वैशाख  दोलखा जिल्लामा ८७ मेगावाट क्षमताको तामाकोशी–५ जलबिध्युत आयोजनाको निर्माण शुरू भएको छ । नेपाल बिध्युत प्राधिकरणले तामाकोशी जलविद्युत् कम्पनी खडा गरी केही हप्ता अघिदेखि उक्त आयोजनाको निर्माण शुरू गरेको हो । माथिल्लो तामाकोशी जलबिध्युत आयोजनाको बिध्युतगृहमा प्रयोग भई टेलरेसबाट निस्केको पानीलाई लामाबगरको जगतबाट भूमिगत सुरुङमार्फत सुरी दोभान नजीक अर्को भूमिगत बिध्युतगृह निर्माण गरी बिध्युत उत्पादनका लागि आयोजना शुरू गरिएको तामाकोशी–५ का आयोजना प्रमुख नसिव प्रधानले बताए । उनका अनुसार माथिल्लो तामाकोशी जलबिध्युत आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले नै तामाकोशी–५ को पनि भूमिगत इण्टेक बनाउने कार्य थालिसकेको छ ।

                    माथिल्लो तामाकोशी जलबिध्युत आयोजनाको टेलरेसको पानीलाई ६४ दशमलव ८९ मिटर ट्राञ्जिशन टनेल तथा भूमिगत ‘इण्टर कनेक्शन’ इण्टेक बनाई ५ दशमलव ६ मिटर व्यास भएको ८ दशमलव २ किलोमिटर लामो सुरुङ निर्माण गरी १ सय ६० मिटर हेडबाट ४ ओटा युनिटमा पानी खसाली बिध्युत उत्पादन गर्ने डिजाइन रहेको आयोजना प्रमुख प्रधानले जानकारी दिए । विदेशी कन्सल्ट्याण्ट ल्हामेरले आयोजनामा परामर्श सेवा प्रदान गरिरहेको आयोजनाले बताएको छ ।

                  आयोजनाको कुल लागत करीब १३ अर्ब रुपैयाँ रहेको बताइएको छ । स्रोतका अनुसार तामाकोशी–५ प्रतियुनिट बिध्युत उत्पादन लागतका हिसाबले सस्तो आयोजना हो । बाँध निर्माण नगरी तथा न्यून प्राकृतिक क्षति तथा आयोजनाको सम्पूर्ण संरचना भूमिगत निर्माण हुने भएकाले आयोजनाको निर्माण सस्तोमा हुने आयोजनासम्बद्ध कर्मचारीहरू बताउँछन् । आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर)अनुसार २५ मेगावाट क्षमताको ४ ओटा युनिट जडान गरिने योजना रहेको छ ।

                आयोजनाको प्रवर्द्धक तामाकोशी जलबिध्युत कम्पनीको प्रबन्धपत्र अनुसार दोलखालीले पाउने १० प्रतिशत शेयरसहित विपन्नलाई २ प्रतिशत शेयर सुनिश्चित गरिएको आयोजना प्रमुख प्रधानले जानकारी दिए । आयोजनाबाट साविकको गौरीशङ्कर, लामाबगर, लादुक, बुलुङ, खारे, ओराङ र सुरी गरी ७ गाविसलाई प्रत्यक्ष असर पुग्ने बताइएको छ । उत्पादित विद्युत्लाई १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत माथिल्लो तामाकोशीको सवस्टेशनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्