Logo

जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन : प्रधान मन्त्रीको सचिवालय

                                                 फाईल फोटो

जेष्ठ ५, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कैलालीको टीकापुर लगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ । 

           सचिवालयले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले तराई–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो ।

               बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो । मन्त्रिपरिषद्को बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशङ्का र पूर्वाग्रहकै आधारमा झुट्ठा मुद्दा लगाइएका व्यक्तिहरुका मुद्दा कानुनबमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानुन मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

                 दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन सरकारले घटनामा असंलग्न हरुमाथि लगाएका झुट्ठा मुद्दा कानुन बमोजिम फिर्ताको प्रक्रिया थाल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री सचिवालयले दोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले संयमित भएर निर्वाचनको तयारीमा जुट्न समेत सबैमा अपिल गरेको छ ।

                           रासस 

प्रतिक्रिया दिनुहोस्