Logo

‘वैशाख डे’ समापनमा राष्ट्रपति

जेष्ठ १, २०७४- श्रीलंका भ्रमणमा रहेकी राष्ट्रपति बिध्यादेवी भण्डारीले क्यान्डी सहरको राष्ट्रिय वनस्पति उध्यानमा  आइतबार वृक्षरोपण गर्नुभएको छ अनेक थरीका वनस्पति रहेको उक्त उध्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा रोपेर परम्परा धान्नुभएको हो । उहाँले अर्किड गार्डेनमा राखिएको आगुन्तक पुस्तिकामा उपस्थिति जनाउँदै आफूले रोपेको बिरुवाको नाम समेत प्रस्तुत गर्नुभयो ।

        राष्ट्रपति भण्डारी कोलम्बोबाट श्रीलंकाली वायुसेनाको हेलिकप्टरमा दोस्रो ठूलो सहर क्यान्डी पुग्नुभएको थियो । उहाँले क्यान्डीमा बुद्धको दाँतको अस्थी धातुको दर्शन पनि गर्नुभयो । उक्त उध्यानमा तत्कालीन राजा महेन्द्र र वीरेन्द्र शाहले पनि विभिन्न जातका बिरुवा रोपेका थिए । राष्ट्रपति भण्डारीलाई बुद्धको जन्मभूमिबाट आएकी विशिष्ट पाहुना भन्दै विशेष सम्मान दिइएको थियो । बुद्ध जयन्तीका अवसरमा श्रीलंकाले मनाउन लागेको संयुक्त राष्ट्रसंघीय ‘वैशाख डे’ सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उहाँश्रीलंका पुग्नुभएको हो । यसको उद्घाटन समारोहमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि थिए । भारतीय प्रधानमन्त्री शनिबारै दिल्ली फर्किसकेका छन् ।

      राष्ट्रपति आइतबार समापन समारोहमा सहभागी हुनुभएको हो । उक्त सम्मेलन वैशाख २९ गते कोलम्बोमा सुरु भएर क्यान्डीमा समापन भएको हो । सन् २००० देखि राष्ट्रसंघले बुद्ध जयन्तीलाई राष्ट्रसंघीय दिवसका रूपमा मनाउन थालेको हो । उक्त दिन थाइल्यान्ड, श्रीलंका, म्यान्मारले वैशाख दिवसका रूपमा मनाउँदै आएका छन् । 

         राष्ट्रपति शनिबार श्रीलंकाको सरकारबाट कोलम्बोस्थित नेलम पोकुना थिएटरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यहाँ उनलाई राष्ट्रपति मैत्रीपाला सिरिसेनाले स्वागत गरेका थिए । राष्ट्रपति सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी पाँचदिने औपचारिक भ्रमणका क्रममा शनिबार बिहान थाइल्यान्ड हुँदै श्रीलंका पुग्नुभएको हो । उहाँको दुईपक्षीय भेटवार्ता सोमबार हुनेछ । 

प्रतिक्रिया दिनुहोस्