महिला स्वास्थ्य : सरोगेट आमा र चुनौतीहरु
“पत्रपत्रिका,टेलिभिजन,सामाजिक सञ्जालको माध्यमद्धारा महिलाहरुमाथि दुर्ब्यबाहार ,बलात्कार,हिँसा,बेचबिखन,जस्ता जघन्य अपराधहरु दिनपरदिन बाहिर आईरहेको तितो यथार्थ हामी सबैको सामु छर्लङ्ग छ । एक हजार रुपिँयाको लागि आफ्नो श्रीमतीलाई परपुरुषसँग रात बिताउन पठाउने निर्दयी पुरुषपात्रहरुको कुनै कमि छैन यहाँ । भोलि सरोगेसी कानुनलाई राज्यले मान्यता दियो भने आफ्नै श्रीमतीलाई पैसाका खातिर पटक पटक भाडाको आमा बन्न बाध्य गराउने सम्भावनालाई नकार्न सकिँदैन । बर्तमान समयमा लिभिङ टुगेदर रुपी बिकृतिबाट मुलुकले धेरै समस्या झेलिरहेको छ । हतारमा निर्णय गर्ने तथा बिना परिश्रम सुखी र सम्पन्न बन्ने महात्वाकांक्षा बोकेको यो पुस्ताले आफ्नै प्रेमिकालाई प्रयोग गरेर प्रविधिको दुरुपयोग गर्नसक्ने जोखिम पनि त्यत्तिकै छ । ”
– दीपशिखा शर्मा
सुरक्षित मातृत्व एक नारीको जीवनको सबभन्दा सुखद पल हो । नवजात शिशुको पहिलो आगमन,पहिलो रुवाई,बालसुलभ स्वर र तोते बोलीबाट आमाssss…………. शब्द सुन्न पाउनु बिवाहित महिलाको अहोभाग्य हो । जसको लागि एक आमा हरदम हरपल प्राकृतिक रुपमा प्राप्त हुने मातृवात्सल्यको चाहतले छट्पटाईरहेकी हुन्छिन् । बिविध कारणवश सबै महिलाले गर्भवती रुपमा आफ्नो कोख भर्ने सौभाग्य पाँउदैनन् । गर्भाशयमा संक्रमण वा कुनै कारणवश सन्तान हुन सकेन भने महिलाले सजाएर राखेका अनगिन्ती सपनाहरु क्षणभरमै चकनाचुर भएर जान्छन् । चाहेर पनि आमा बन्न नसक्ने अवस्थामा (बाँझोपन),पटक पटक गर्भपतन हुने,सन्तान जन्माउदा हुने शारिरिक जोखिम वा बिविध रोग लागेको अवस्थामा अथवा पाठेघरमा खराबी देखिएको खण्डमा त्यसको बिकल्पको रुपमा उक्त महिलाको श्रीमानद्धारा निश्चित अवधिको लागि कानुनी सहमतिमा बाँधिएर अज्ञात महिलाबाट (भाडाका आमा अर्थात् सट्टा आमाद्धारा)सन्तान उत्पादन गर्ने प्रकृयालाईृ [surrogacy pregnancy program] यानी की सरोगेसी प्रजनन प्रबिधि भन्ने गरिन्छ ।
सरोगेसी के हो ?
सरोगेसी प्रकृया चिकित्सा पद्धतिमा महत्वपूर्ण खुड्किलो हो । जसबाट नि:सन्तान दम्पतीले सन्तानको सुख प्राप्त गर्न सक्नेछन् । सरोगेसी को शाब्दिक अर्थ ल्याटिन भाषाको ‘सबरोगेट’बाट लिईएको हो । जसको अर्थ कसैलाई आफ्नो कामको लागि नियुक्त गर्नु वा खटाउनु भन्ने बुझिन्छ ।
सरोगेसी प्रकृया
१) ट्रेडिशनल सरोगेसी – यस पद्धति अनुसार सन्तान सुखबाट बन्चित भएका श्रीमान श्रीमतीको सहमतिमा श्रीमानको शुक्रकिटलाई एक स्वस्थ्य महिलाको गर्भाशयमा प्राकृतिक रुपले राख्ने गरिन्छ ।शुक्रकिटलाई सरोगेट आमाले प्राकृतिक रुपले सन्तान उत्पादन गर्न सक्षम हुने अवस्थामा दिईन्छ । यसमा जेनेटिक सम्वन्ध सिर्फ पुरूषबाट मात्र हुने गर्दछ ।
२)जेस्टेशनल – यस पद्धतिमा श्रीमान श्रीमती को शुक्राणु वा अण्डाणुबिचको सम्वन्ध जाँच गरी भ्रुणलाई सरोगेट आमाको पाठेघरमा प्रत्यारोपित परिन्छ । यसमा जेनेटिक सम्वन्ध आमा र बाबु दुबैसँग हुने गर्दछ । यस पद्धतिमा सरोगेट आमालाई ओरल पिल्स खुवाएर अन्डविहिन चक्रमा राख्नुपर्दछ । जसबाट सन्तान उत्पादन हुने बेलासम्म आफ्नो अन्ड बन्ने प्रकृया रोक्न थप मद्धत गर्नेछ ।
सरोगेसीमा हुन गएको विवाद
जुनसुकै कुराको पनि नकारात्मक र सकारात्मक पाटाहरु हुन्छन् । आजको युगमा सरोगेसी बिधि एक विवादास्पद मुद्धा बन्दै गएको छ । सरोगेट आमाद्धारा सन्तान पैदा हुनासाथ आमा र शिशु बिचको भावनात्मक सम्वन्धको कारण आफ्नो सन्तान दोस्रो ब्यक्तिलाई सुम्पन नचाहने जस्ता समस्याहरु देखा परेका छन् । यसका साथै अपांग सन्तान पैदा भएमा वा जुम्ल्याहा सन्तान पैदा भएको खण्डमा समेत विभिन्न किसिमका विवादहहरु अगाडी आउने गरेका छन् । जुन मुद्धामा जेनेटिक आमा बाबुद्धारा अपांग वा जुम्ल्याहा सन्तानलाई सरोगेट आमासँगै अलपत्र छाड्ने गरेको पाईएको छ । सरोगेसी प्रकृयाद्धारा केबल निसन्तान श्रीमान श्रीमतीले मात्र नभएर उक्त पद्धति अपनाई समलिंगी महिला पुरूषले पनि मातृवात्सल्यको सुख प्राप्त गर्न सक्नेछन् । सरोगेसी प्रबिधिको यो एउटा सकारात्मक पाटो हो । तथापि सरोगेट आमाले जन्माएको सन्तानप्रतिको भावनात्मक प्रेम कानुनी कागजमा गरिने हस्ताक्षरसँगै मेटिने चाहिँ लगभग पक्कापक्कि छ ।
अन्य देशमा के कस्तो कानुनी प्रावधान छ ?
छिमेकी मुलुक चीनमा बिशेष गरी छोरा पाउने चाहनामा धेरैजसो मानिसहरु यहि पद्धतिको माध्यमद्धारा सन्तान उत्पादन गर्ने गर्दथे । यसबाट हुने नकारात्मक असरलाई ध्यानमा राखि पछि चिनियाँ सरकारद्धारा यो प्रक्रियालाई प्रतिवन्धित गरिएको थियो । पछिल्लो समयमा भारतमा मुख्य रुपले यसको बजार आकाशिएको पाईन्छ । शारिरिक सुन्दरता घट्ने डरले पश्चिमेली मुलुकका प्रायजसो महिला सन्तान उत्पादन गर्न चाँहदैनन् । ती महिलाको ईच्छ्यापुर्ती गर्नको लागि पनि पुरुषहरुले भाडाका आमा प्रयोग गरेर सन्तान उत्पादन गरी सन्तानको रहर पुरा गर्ने गर्दछन् । अन्य देशको तुलनामा भन्दा बेलायत र अमेरिकाजस्ता बिकसित राष्ट्रका निसन्तान श्रीमान् श्रीमतीद्धारा यसको माग ह्वात्तै बढेको छ । सरोगेसी प्रबिधिलाई यी देशहरुले कानुनी मान्यता दिएका छन् । भारतमा सरोगेसी सम्वन्धी कुनै कानुन छैन तरपनि अबैध रुपमा यो ब्यवसाय निकै फस्टाँउदै गरेको पाईन्छ । सरोगेसी पद्धतिबाट सन्तान उत्पादन गर्ने महिलाको संख्यामा पनि निकै बृद्धि भईरहेको छ । अशिक्षा र गरिबीको कारण उनिहरु जुनसुकै कार्य पनि गर्न तयार भएको पाईन्छ । भारतमा प्रतिबर्ष सरोगेसी ब्यवसायको दुई हजार करोड डलरको कारोबार हुने गर्दछ । रुसमा सरोगेट आमा यानी की भाडाको कोख लिन कम्तिमा दश लाखदेखि बिस लाखसम्म खर्च हुने गर्दछ । डेली मेल अनलाईनमा छापिएको एक लेख अनुसार क्लिनीक चार्ज वा अन्य चार्ज कटाएर भाडामा कोख उपलब्ध गराउने महिलाहरुलाई प्रति गर्भाधारण बापत जम्मा ४७०० पाउण्ड वा(४,७०,०००रुपैयाँ) उपलब्ध गराईने गर्दछ । अन्य देशको तुलनामा भारत र नेपालमा सरोगेट आमालाई उपलब्ध गराईने रकम ज्यादै न्युन छ । न्यु लाईफ ग्लोबल नेटवर्क डट् कमका अनुसार युरोपियन मुलुकमा सरोगेसी प्रकृयाका लागि न्युनतम् ५० देखि ६० लाख नेपाली रुपैयाँ खर्च हुन्छ भने भारतमा अधिकतम् ३५ देखि ४० लाख सम्म खर्च हुन्छ । अन्य देशको तुलनामा नेपालमा अस्पताल लगायतका सम्पूर्ण खर्च सहित १५ लाख नेपाली रुपिँया मात्र खर्च हुने हुनाले सरोगेसी माध्यमबाट नेपालमा सन्तान उत्पादन गर्ने ब्यवसाय फस्टाँउदो छ । एउटी युरोपियन महिलाले त्यही कामका लागि न्युनतम् ४० लाख तथा भारतिय महिलाले २० लाख पाउने उक्त ब्यवसायमा नेपाली महिलाले ४ लाखसम्म पाउने गर्दछन् । गरिबीले आक्रान्त भएको नेपालजस्तो मुलुकमा सानोतिनो पैसाको लागि आफ्नो शरिर समेत दाउमा लगाउने महिलाको कुनै कमि छैन । तथापि पैसाको लागि श्रीमती,प्रेमिका,छोरिहरुमात्र नभई स्वयं आफूलाई बलिको बोको बनाउने दुषित मानसिकताबाट माथि उठेर सोच्नुपर्ने बेला आएको छ ।
नेपालमा सरोगेसी कानुन आवश्यक छ या छैन ?
२०७१ सालमा स्वास्थ्य मन्त्रालय चिकित्सा शाखाका प्रमख डा.गुणराज लोहनीको संयोजकत्वमा बनेको सात सदस्यिय टोलीले निर्देशिका तयार गरेर छलफलका लागि कानुन मन्त्रालय पठाएको थियो । तथापि यसका सम्वन्धमा आम नागरिक मात्र नभई बौद्धिक बर्ग समेत प्राय अनभिज्ञ रहेको पाईन्छ । सरोगेसी प्रबिधि के हो ? कस्ता महिलालाई सरोगेट मदर (सट्टा आमा÷भाडाका आमा) भनिन्छ ? कुन स्तरका महिलाहरु यो ब्यवसायमा प्रयोग गरिन्छन् ? सरोगेसी ब्यवसायका फाईदा बेफाईदा के छन् ?अन्तराष्ट्रिय जगतमा यस्को के कस्तो प्रयोग भईरहेको छ ?नेपालमा कानुन नहुँदा कसलाई के कति अप्ठ्यारो परिरहेको छ ?के सरोगेसी बाहेक अरु कुनै बिकल्प छैन ?हतारमा कानुन ल्याउनपर्ने बाध्यता के ले श्रृजना गर्यो ? यावत बिषयमा आम नागरिकले जिज्ञासा राख्न खोज्नु स्वाभाविक हो । यो उनिहरुको नैसर्गिक अधिकार पनि हो । यस संबेदनशिल बिषयमा आवश्यक पहल गर्नु राज्यको प्रमुख दायित्व हो । पछिल्लो समय सरोगेसीका बिषयमा कानुन बनाउन ठिक वा बेठिक भन्ने सवालमा बिभिन्न तह र तप्काका मानिस बिच बाक्लै बहस शुरु भएको छ । कोहि सरोगेसी प्रकृया नेपालमा भित्र्याउन दिन नहुने भन्ने बिषयमा तर्क गरिरहेका छन् भने कोहि अन्तराष्ट्रिय स्तरमा यसको मान्यता बढ्दै गएको भन्दै नेपालमा पनि आवश्यक कानुन बनाईनुपर्ने जीकिर गरिरहेका छन् । तसर्थ सरोगेसी प्रकृयाको तत्कालिन र दिर्घकालिन लाभ हानिलाई ध्यान दिँदै समाजको तल्लो तहसम्म सरकारी तथा गैर सरकारी संघ/संस्थाहरुले बहस छलफल चलाउनु आवश्यक देखिएको छ । सरोगेसी प्रकृयामा अशिक्षित,बेरोजगार,गरिब तथा निर्णय क्षमतामा पहुँचविहिन महिलाहरु नै प्रयोग गरिने हुँदा यस बिषयमा पीडित महिलाको हक हितलाई मध्यनजर गरि आवश्यक ऐन कानुन ल्याउन सरकारी तवरबाट गम्भिर रुपमा पहल गर्नुपर्ने देखिन्छ । पत्रपत्रिका,टेलिभिजन,सामाजिक सञ्जालको माध्यमद्धारा महिलाहरुमाथि दुब्र्यवाहार,बलात्कार,हिँसा,बेचबिखन,जस्ता जघन्य अपराधहरु दिनपरदिन बाहिर आईरहेको तितो यथार्थ हामी सबैको सामु छर्लङ्ग छ । एक हजार रुपिँयाको लागि आफ्नो श्रीमतीलाई परपुरुषसँग रात बिताउन पठाउने निर्दयी पुरुषपात्रहरुको कुनै कमि छैन यहाँ । भोलि सरोगेसी कानुनलाई राज्यले मान्यता दियो भने आफ्नै श्रीमतीलाई पैसाका खातिर पटक पटक भाडाको आमा बन्न बाध्य गराउने सम्भावनालाई नकार्न सकिँदैन । बर्तमान समयमा लिभिङ टुगेदर रुपी बिकृतिबाट मुलुकले धेरै समस्या झेलिरहेको छ । हतारमा निर्णय गर्ने तथा बिना परिश्रम सुखी र सम्पन्न बन्ने महात्वाकांक्षा बोकेको यो पुस्ताले आफ्नै प्रेमिकालाई प्रयोग गरेर प्रविधिको दुरुपयोग गर्नसक्ने जोखिम पनि त्यत्तिकै छ । जतिसकै गोप्य राखेपनि अर्काको कोख लिने/दिने भनेको कुरा सामान्य होईन नत लुकाएर नै लुक्न सक्ने चीज हो । यसै बाहानामा भोलि हाम्रा निर्दोष छोरीहरुले चरित्रहिन लगायतका अन्य अवगाल ब्यहोर्नुपर्ने मात्र नभई सामाजिक परम्परा अनुसार विवाह नै हुन नसक्ने खतरा तथा वास्तविक दम्पतीले आफ्नै कोख लिएपनि शंकाको घेरामा बाँच्नुपर्ने हुनजान्छ । शंकाका आधारमा हाम्रो साँस्कृतिक मुल्य मान्यता र सौहार्दतामाथि गम्भिर आघात पुग्ने सम्भावना समेतलाई सबैले गहिरिएर नजरअन्दाज गर्नुपर्ने देखिन्छ ।